“दशैको खुशी”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

रनबहादुर दाईका धेरैजसो दशैं अभाव-समस्या र पिडाहरुसित बिते । निमेक नगरी खान नपुग्ने हुँदा सबै खाले दु:खहरु उठाएका छन् ।
यसपालीको दशैंमा अलि आशावादी छन् उनी । घरको लिपपोत, केटाकेटीलाई कपडा, अष्टमी पूजा, मासु-चिउरा लगायतका कुराको व्यबस्था मिलाइसके ।
गाउँलेसित सामाजिक रुपमा बाटो-घाटो, पिङ र सराएँ सबैको तयारी र सहभागितामा खटिए । केटाकेटीमा जस्तो रौनक नभए पनि मनमा कतै केही आश लाग्दो रहेछ ।

 


“यसपाली गहना हाल्न पर्छ बूढा सधै ठुटै-बुच्चै रहन सकिन्छ र ?” श्रीमती बाटुलीले उहिल्यैदेखि बाचा गराइसकेकी थिई ।
“हेरम्ला !” रनबहादुरले थमारेका थिए ।
स्कुल हिँड्ने भन्टाङ-भुन्टुङ केटाकेटीका माग उत्तिकै थिए । घरको छानो चोरखर लगाएर चलेको थियो । एक दुई हण्डर टिन ल्याएर छाप्न सके छाउने झन्झट हट्ने थियो । साहु तिर्ने र तमसुक च्यात्ने कुरा त कता कता …!
केटाकेटीको लत्ता कपडा, मासु-चिउरा, दक्षिणा सब्बैमा हिसाब लगायो । दशै भन्यो सान्तिनो बिहेलाई धक्का दिन्छ । लिने र दिने हिसाब मिलाउँदा टामलटुमल दशैं कट्दो रहेछ । आफ्नो भागमा कति पनि बचेन । यस्सो जडौरी फेर्नेकी भनेका थिए । विदेशबाट छोराले पठाएको दाम आए यसपालीको तिरनतारन र दशैं उम्किने अनुमान थियो ।
“लगभग ५० हजार आई. एम. ई. गरेर हाल्दिएको छु, आफू यतै रहे पनि खुशीले मान्नु होला, हजुरहरुको निधारभरी टीका जमरासितको हँसिलो अनुहार देख्न पाए म पनि प्रसन्न हुन्छु यता ।” छोराले साउदीबाट भिडियो कलमा भनेको थियो । दाम आयो उसले सोचेका सबैलाई खर्च हिसाब गरेर राखेको थियो । केटाकेटी पनि फुरुक-फुरुक थिए अलि ।
“लौ रनबहादुर म त भड्खालामा परेँ, बूढीलाई अस्पतालमा राखेको ३ महिना भयो पैसाले थेगेन अलिकति सघाइदिन्थिस् कि ?
त्यतिका बर्षसम्म त केही बोलेको थिइनँ । यसपाली अस्पतालमा अलि बढी खर्च भो । अलि अप्ठेरो पर्यो हेर्न…..! ४/५ बर्षदेखि टीका नथापिएको यसपाली थापौंला भनेको, अस्पतालम‌ै भइने भो लौन दु:ख नपरी गुहारिँदो रहेनछ ।” टुप्लुक्क अागनमा भेट्किनासाथ जसवीर दाईले गुनासो पोखे ।
साहु जस्तो मान्छे सितिमिति रनबहादुरका दैलामा नदेखिने, उनीसित पुरानो लेनदेन छँदै थियो । त्यसै त कस्तो ? नत्थ लाएको, त्यसमाथि बुढी अस्पताल । माग्ने बाहना भई हाल्यो । विचरा सोझोरा रनबहादुर बोल्न सकेनन् ।
हिसाब मिलाउन जसवीर अलि चलाख पनि हो । जेहोला जेहोला मर्नै त दिनु भएन । दु:ख पर्दा यिनीसित थापिया थियो भने यिनलाई पर्दा तिरिदिए त पछि पर्दा फेरि माग्न पाइएला अर्को उनको इमानी मनले सोच्यो र भन्यो -” मिलाउँला ।”
आई. एम. ई. गरेको गरेको दाम निकाल्ना साथ छनक्कै जसवीरेको हातमा राखिँदिए ।
“व्याजको हिसाब अाछैन केरे यसमा ?” जसवीरे गुनासो गर्दै थियो ।
” सकेर होइन दाइ तिम्रो जस्तो दशैं मेरो पनि थियो । उतिबेला रिन लिइयो धर्मले पनि अहिले दिन्न भन्न मिलेन लैजाऊ ।” यसरी बाबुको हात नपर्दै साहुको हात परेको सुन्दा साउदीमा छोरालाई समेत नमिठो लागेर अाय‍ो ।
“यतिका बर्ष मानिया थियो र अहिले हद्दर खाउँला त ?” रनबहादुरले मुहारमा खुशीको झिल्का ल्याउने प्रयास गरे । चाडैको बेलामा फेरि कसै कहाँ हात थाप्न नैतिकता र इमान्दारिताले पनि नदिए पनि बिबशताले बाध्य बनाएको थियो । कहिलेकाही ढुङ्गा खोज्दा देउता मिल्दोरहेछ ।
“तिम्लाई हाम्रो बुढीले सधैभरी आशिक दिन्छे त्यो गुन त म कसैगरी पनि तिर्न सक्दिनँ । ” इन्द्रजीत साहुले साह्रै सह्राउँथे । कति कुरामा सहयोग पनि गरे । “भन तिम्लाई म के गरुँ ?” सधै दु:ख देखाउन नसकिए पनि यसपाली उनलाई बाध्यता छँदैथियो । “मलाई दशैं खर्च पुगेन निगाह भए हुन्थ्यो । ” रनबहादुरले हात जोडे अनि मुखैको दशैं खर्च खोसिएको वृतान्त सुनाए ।
“हत्तेरी मान्छे भएर पनि त्यति निचता त्यो सब उसको बाहनाबाजी हो । तिम्लाई चाहिने जति लैजाऊ । परिस्थितिले उठ्न नसके पनि तिम्रो इमान्दारीता मलाई थाहा छ जहिले दु:ख पर्छ म कहाँ आऊ !” मुख र व्यवहार उस्तै सफा थियो उनको । धन हुने मन नहुने र मन हुने दुवैलाई मनमनै दाँजे र थोरै खुशीका साथ फर्किए ।
घर केटाकेटी चर्को स्वरमा गाउँदै थिए -“दशैं आयो खाउँला पिउँला ।”

कल्लाबारी, पाल्पा ।
२०७५/०६/२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.