दुर्गाप्रसाद ग्वालटारे का तीन गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

गजल– १,
बिजोग भयो गोठभरि गोबर भएको छ
सफा गर्ने गोठालो नै लोफर भएको छ ।

विश्वासमै ताला- साँचो सुम्पेको हुँ उसलाई
खै के गरुँ आशाहरू सोतर भएको छ ।

चुहिएको डुँगामाथि यात्रा गर्दो छु म
घटुवारे मजाक गर्ने जोकर भएको छ ।

 

दिमाग जिभ्रा बोल्न छोडे बोल्छन् तिघ्राहरू
सनक दनक दुबै लालमोहर भएको छ ।

“ग्वालटारे”ले भन्थ्यो ग्वालटार बनाउँछु स्वर्ग
केको बनोस् अचेल आफैं लोदर भएको छ ।

गजल– २,
अत्याचारको पराकाष्ठा, नाघेको बेला छ यो ।
मान्छेबाट मानवता, भागेको बेला छ यो ।

नसुकाऊ अन्न दिदी, घाम लाग्ने आशले ।
घीनलाग्दो कालो हुस्सू, लागेको बेला छ यो ।।

दाजु-भाइ दिदी-बहिनी, संयमता छ जरुरी ।
बैरी संधियारको खाँडो, जागेको बेला छ यो ।।

शिकारीले हान्न सक्ला, गरौं होस हामीले ।
चोरीऔंला ट्रिगरमा, दागेको बेला छ यो ।।

तैयार छन् सन्तानहरू, बलिदानी गर्न, आमा !
पसिना र विवेक तिम्ले, मागेको बेला छ यो ।।
(विवेक / रगत बदल्दै लेख्दै गरें ।)

गजल– ३,
सर्लक्कको साल देखेँ, फोस्रो रैछ वास्तवमा
किन बन्थ्यो निदाल-दलिन, धोद्रो रैछ वास्तवमा ।

लोभैलाग्दो फल देखें, जिभ्रो बाटै बग्यो पानी
पुष्ट थियो बाहिर चाहिँ , खोक्रो रैछ वास्तवमा ।

वासमतीको चामल होला पोकाभित्र भन्ने थियो
डडाल्नु र भुसयुक्त धोक्रो रैछ वास्तवमा ।

लतक्कन गल्किएका गेडा देखेँ रुख चढें
के पो हुन्थ्यो राम्रो हैट्ट, चाम्रो रैछ वास्तवमा ।

“ग्वालटारे”को इरादा थ्यो बस्तु खोजी ग्वाली भर्ने
कामधेनू थियो हेर्दा, बाख्रो रैछ वास्तवमा ।

दुर्गाप्रसाद ग्वालटारे
कौसलटार, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.