अभागीका मुक्तकहरू भाग्यमानीको हातमा

Teeka, Tika, Dhungel, Ratan, Sikkim, टीका ढुङ्गेल ‘रटन’, pallawa, पल्लव

टीका ढुङ्गेल ‘रटन’

Sadananda, Abhagi, Jaishi, सदानन्द अभागी जैशी, pallawa, पल्लव

समीक्षित व्यक्तित्वः सदानन्द अभागी जैशी

दुलियाजान कला साहित्य मञ्चको आयोजनामा भएको सम्मान कार्यक्रममा भारत लगायत नेपाल वर्मासम्मका साहित्यकारहरूलाई एउटै मञ्चमा राखेर दुलियाजानको अभिव्यक्ति साहित्यिक पत्रिकाको रजत जयन्ती विशेषाङ्क विमोचन र । हित्यकारहरूको सम्मान कार्यक्रम भव्य रूपमा गरेर हामीलाई सम्मानित गर्नु भयो । यसै अवसरमा विभिन्न ठाउँका साहित्यकारहरूसगँ मिलन हुन सक्यौं । नेपालका धेरै साहित्यकारहरूसँग परिचय र कृति आदान प्रदान गरियो । सदानन्द अभागीसँग पनि परिचय भएपछि मेरो कृति यात्रा सस्मरण दिएँ ।

 

उहाँले कलमकारलाई तीन कृतिहरू दिनुभयो । कोपिला, जीवन लीला र अभागीका मुक्तकहरू, राम्रा राम्रा कृतिहरू सिर्जना गर्नु भएको रहेछ । उहाँको अघिल्लो कृति नाम थाहा भएऩ तर अभागीका केही कृति पढ़ेर पाठक प्रतिक्रिया दिएको थिएँ । तर यसपाली दुलियाजानको माटोमा उहाँसँग साक्षात्कार भेट भयो । पिता कलाधर रिजाल, माता नन्दकला रिजालको छोरा सदान्द रिजाल १५ मार्च १९४७ पर्वत जिल्ला शंकर पोखरी गा. वि. सं. नुवार भन्ने ठाँउमा जन्म भएको हो । विक्रम सम्वत् २०१२ सालदखि साहित्य सृजना कार्यमा लाग्नु भएको आज पर्यन्त धेरै कृतिहरू पस्कन सफल हुनु भयो । तर एउटा कुरा भन्न कर लाग्यो नामको पछि टाइटल अभागी किन लेख्नु भयो लेखकलाई प्रश्न ? उहाँको कृतिहरू स्तरीय उच्च स्थानमा हेर्न सकिन्छ सफल साहित्यकारको टाइटल आभागी कसरी भयो ।

उहाँ त भाग्यमानी हुनुहुन्छ हामी दुलियाजानमा भेट भएको समयमा कृति साटासाट गरेका थियौं । म व्यस्तताको कारणले उहाँको कृतिलाई हेर्न भ्याइरहेको थिएन आज मेरो छोरा बासु ढुङ्गेलको फोनमा “टीका ढुङ्गेको यात्रा संस्मरण सरसती पढ्दा” भन्ने विषयमा समालोचना पठाउनु भएछ । सदानन्द प्रति ऋणी बन्न पुगेँ । उहाँलाई सलाम गर्छु, कति छिटो समालोचना गर्नु भ्याउनु भएछ । ‘अभागीका मुक्तकहरू’ सङ्ग्रलाई ओल्टाई पल्टई हेरेँ, लक्ष्मी स्मृति साहित्य समाज द्वारा २०१८ मा प्रकाशित भएको रहेछ । पहिलो नजरमा चव्वालीस पृष्टको मुल्य रु. १०० अलिक बेसी नै भए जस्तो लाग्यो तर प्रकाशित संख्या ५० प्रति मात्र गर्नु भएको छ । सहि मुल्य रु. ५०० हुन पर्ने हो । प्रकाशकीयमा कम्ति अक्षरमा कृतिकारको प्रतिभालाई उठाएको पाइन्छ । लक्ष्मी स्मृति साहित्यले धेरै काम गरेको तथ्य थाहा पाएर हर्ष लाग्यो । साहित्यको मार्गमा प्रकाशकको बलले साहित्यकारहरूको प्रतिभालाई बोकेको हुन्छ । लेखकले आफ्ना भूलहरू आफै देखाउनु हुँदैन् । काम गर्दा भूलहरू हुन्छन् र त राम्रा-राम्रा कामहरूको सम्पादन गर्न सफल हुन्छन् सदान्द जस्ता जोशिला प्रतिभा । उहाँका केही मुक्तकहरू रसपान गरौं –
“नझिम्काऊ परेली”

“नझिम्काउ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ
खहरेमा पानी छैन ह्वार-ह्वार आगो बल्न थाल्छ
हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ
सुधा रस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ ।”
माया प्रीतिका कुराले सदानन्द अभागीको मार्गमा पनि धेरै बाधा आएको रहेछ । उहाँले भोगेका देखेका तीता मिठा अनुभवहरूलाई आफ्नो
विधामा प्रकाश पार्न सफल हुनु भएको छ।
“मनको साँचो”
“मनको साँचो खोल प्रिया अन्तरआत्मा हेर्नु पर्यो
छिया-छिया यो मन भयो भावना त त्यतै सर्यो
किन होला सुन्दरतामा ठूलै ठूलो आकर्षण
जीवनको हरपलमा कल्पनाले सागर तर्यो ।।”

सायद वैंशको रङ्ग चढ़ेपछि यस्तै हुँदो हो । एक अर्कामा दिलमा दिल लुकाई सकेपछि प्रेममा अन्धो बन्न पुग्छ । सबै बिर्सन्छ आफ्न्तहरू ।
“कति राम्रा”
“कति राम्रा शब्द सन्देश सुन, जून र नून हजुर
यो छातीमा गाड़िएको छ प्रियसीको गुण हजुर
त्यसैले त मैले सम्झि राख्छु ह्रदयकी तारालाई
चन्द्रमा हुन् तिनी पनि मीठो शब्द जून हजुर।”

छातीमा प्रियसीको गुण गाड़िएपछि गाड़ीको दुइ पाङ्ग्रा झैं जिन्दगी सलल बग्छ। यस्तै हुनुपर्छ दुवैमा । एकजनालाई मात्र यस्तो अनुभव भए बीचमा बिछोड़ पनि हुनसक्छ। यसर्थ दुइ मुटुमा मायाका जालहरू बाधिनु पर्छ नखुस्किने गरी ।
“कसैले कसैलाई”
“प्रिया कसैले कसैलाई लुटी लिन्छ भने
के नै बाँकी रहन्छ र सर्वस्व किन्छ भने
वरमालाको औचित्य के नै हुन्छ प्रिया
खोक्रो तन समर्पणमा कोही लिन्छ भने ।”

धोका दिनेलाई राम्रो शब्द चयन गर्नु भएछ । दिलमा भालारोपी मायारूपी बन्धनले बाध्नेहरू प्रति नजर अन्दाज गर्नु भएको छ । यसर्थ भनिन्छ माया धेरै प्रकारका हुन्छन्। आफ्नो लागि हो कि गाई बेचे जस्तै फकार्इ-फकार्इ नर्कमा पार्ने हो कि बुझ्न कठीन छ । थाहै नपाई लुटी लिन्छ । वरमाला लगाए पनि खोक्रो तन बोक्ने मनहरूसँग सतर्क रहनुपर्छ । लेखकले गहिरिएर शब्दहरू बुन्नु भएको छ । एक-एक शब्दहरूले मन खोलेर बोलेको देखिन्छ ।
“पिउने भए” ।
“पिउने भए पिलाउँछु
खाने नै भए खिलाउँछु
जीवन साथी बन्ने भए
विवाह मिति मिलाउँछु।”
यसरी खुल्ला रूपले भन्दा त प्रेम पत्रको ओइरो लाग्छ । एक ठाउँ मोवाइलमा फोटो खिचेको नक्सा पठार्इ दिनु भन्दा, मोवाइल नै पठाई दिन्छु भन्नेले म पनि पछि लाग्छु भने झैं हुन्छ । अनुभवका कुरा यहाँ राख्न चाहे छात्र अवस्थामा लौ हिँड़ भनेको भए पछि लाग्ने धेरै थिए ।
अहिले पनि पछि लाग्नु पर्छ भन्ने कतिको इच्छालाई त्यसै ओइलाए झैं भएको छ । माथि उल्लेख कविताले धेरैको मन जित्न सक्ला । यस्तै राम्रा-राम्रा मुक्तकहरू छन् अभागीका प्रकाशित कृतिहरू –
● आफ्नै व्यथाहरू (कविता सङ्ग्रह)
● पश्चातापको आँसु (कथा सङ्ग्रह)
● बुढ़ो जवानी (कविता सङ्ग्रह)
● कोपिला (लघु काव्य)
● अभागीका मुक्तकहरू (मुक्तक सङ्ग्रह) हेरेछि स्पष्ट भयो कि बहुप्रतिभाशाली सदानन्द अभागीका कृतिहरू लोकप्रिय छन् ।
उहाँलाई तीन नामहरूबाट चिन्न सकिन्छ न्वारनको नाम खगेश्वर रिजाल, प्रचलित नाम सदानन्द जैसी, अनि साहित्यिक उपनाम सदानन्द ‘अभागी’ जे नै होस् अभागीको योगदानलाई कदर गर्छु । धेरै विधामा कलम चलाउने बहुप्रतिभाशाली व्यक्तित्वका धनी सहित्य समाजका निधि नै हुन् भन्दा ज्यादा नहोला । भाग्यमानीको हातमा अभागीको मुक्तकहरू परेपछि पाठक प्रतिक्रिया यहाँहरूलाई सुम्पेको छु ।
शुभम्।●

टीका ढुङ्गेल ‘रटन’
जिङ्ला-छलमथाङ्ग, पूर्व सिक्किम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.