कृष्ण शरण उपाध्याय का तीन रचना

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शान्ति दिवस का अवसर मा….”
माटो मा विष हाल्न बन्द गरियोस्, माटो भरी शान्ति होस् !
पानी मा बिख घोल्न अन्त्य गरियोस्, पानी भरी शान्ति होस् !!
बाँकी रम्य निकुञ्ज मा र वन मा, आकाश मा शान्ति होस् !
सारा जीवन मा तथा पवन मा, आवास मा शान्ति होस् !!

एकार्का बिच को अखण्ड प्रभुता, सम्मान होस् आपसी !
अर्को देश विरुद्ध आक्रमण मा, कोही न जाओस् रती !!
हस्तक्षेप नहोस् निजी विषय मा, भ्रातृत्व को रीति होस् !
एकार्का बिच लाभ को र सम को, शान्तित्व को नीति होस् !!

 

आफ्नै लागि नहेरियोस् हर खुशी, स्वार्थान्धता अन्त होस् !
आफ्नै कारण ले नहोस् पर दुखी, सङ्कीर्णता बन्द होस् !!
आफ्नै शक्ति प्रदर्शनी पनि नहोस्, दम्भीपना ध्वस्त होस् !
धक्कू धाक घमण्ड कुत्सित अहम्, लोभीपना अस्त होस् !!

जेजे ले मुटु पोल्छ यो मुलुक को, त्यो वस्तु चाहन्छ को ?
जोजो ले विष घोल्छ यो मुलुक मा, त्यो तत्त्व चाहन्छ को ?
जे लाग्छन् प्रतिकूल यो हृदय मा, तीती नहून् अन्य मा !
जे लाग्छन् अनुकूल यो हृदय मा, तीती गरौं अन्य मा !!

यो गम्भीर कुरा हरेक जन ले, जाने अहिंसा भयो ।
बाँचौं बाँच्न दिऔं भनेर मन ले, माने अहिंसा भयो ।।
मान्छे मा सह – भाव सिर्जित भए, बन्नेछ ऊ बुद्ध नै ।
मान्छे मा पशुता विवर्द्धित भए, गर्नेछ ऊ युद्ध नै ।।
छन्द: शार्दूलविक्रीडित

२) “चड्कनी भै खस”
ए सेना ! कति हेर्दछौ मुलुक का , घाती – कुलाङ्गार ती ?
के ठानी मुख फेर्दछौ अझ तिमी , देखी अरिङ्गाल ती ?
आमा का तन मा तथा वदन मा , टोक्छन् अरिङ्गाल ले ।
तिम्रो चित्त बनेर मौन `घटना´ हेर्दैछ बेताल ले ।।

बाँडी स्वर्णिम स्वप्न फेरि जनता , बोक्र्याउने बात छन् ।
खाई रक्त पुगेन `मांस´ तन को , टुक्र्याउने बात छन् ।।
विष्ठा फालिरहेछ काग -मुख ले , टाठो र बाठो बनी ।
ए सेना ! किन बस्दछौ विवश भै , पङ्गू र लाटो बनी ?

गोर्खाली जन को गुरुत्व गरिमा , बोक्छौ तिमीले भने ।
नेपाली मन को महत्त्व महिमा , घोक्छौ तिमीले भने ।।
यो छाडापन हेर्दछौ किन तिमी ? हुङ्कार गर्दै पस ।
गोला माथि मशाल बाल खतरा , या चड्कनी भै खस ।।

मौरी मार्न र खान मात्र चतुरा , हुन्छन् अरिङ्गाल ती ।
गोला मा हर कूटनैतिक कुरा , बुन्छन् अरिङ्गाल ती ।।
तिम्रो रक्त छ उम्लिँदो यदि भने , केही न केही गर ।
आमा का प्रिय भक्त हौ यदि भने , आऊ बनाऊ घर ।।

नङ्ग्याईकन भ्रष्ट पार न तिमी , नेता – विजेताहरू ।
बङ्ग्याईकन ध्वस्त पार न तिमी , च्याती पखेटाहरू ।।
तिम्रै मात्र छ आश छ यो मुलुक मा , ए वीर सेनाहरू !
बाल्नैपर्दछ आज गाउँ – घर का , चीसा अगेनाहरू !!
छन्द: शार्दूलविक्रीडित

३) कोही त तेजोमय बुद्ध आऊ
उदात्त – आदर्श छ छिन्न – भिन्न ।
मनुष्यता आज छ खिन्न – खिन्न ।।
तसर्थ सद्बुद्धि – विवेक ल्याऊ !
हे बीज हो ! वृक्ष बनेर आऊ !!

यो देश मा सात्त्विक शक्ति छैन !
प्रकाश ले उज्ज्वल व्यक्ति छैन !!
तमोमयी रात्रि – घना हटाऊ !
कोही त तेजोमय बुद्ध आऊ !!

छ रक्त रातो किन छैन शक्ति ?
चम्कन्न हाम्रो किन देशभक्ति ?
जातीय – वैषम्य धुलो गराऊ !
कोही त श्रीकृष्ण बनेर आऊ !!

नेतृत्व हाम्रो छ अचेत जस्तै ।
छन् चेतना बञ्जर खेत जस्तै ।।
हिंसा छ चारैतिर यो भगाऊ !
कोही युवा बुद्ध बनेर आऊ !!

छन् निर्मला झैँ असहाय नारी ।
हत्या बलात्कार छ आज भारी ।।
तसर्थ सद्भाव र शान्ति ल्याऊ !
कुनै यहाँ भीम र भक्ति आऊ !!

छन्द: उपजाति,
देवघाट, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.