शम्भु गजुरेल का जोर कविताः

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल

१) खोइ मुक्ति ?
झम्के साँझ लुसुक्क
बिरालो जस्तै आएको होइन?
मैले ओडालेको ढिडो
नुन चोप्दै खाएको होइन?
फाटेको जुत्ता नखोल्दै
चोटो चढेको होइन?
मन त सुटुक्क चोरेका थियौ
अनुहार झुसिलो
नसा मा रगत बगेको
सुस्त सुस्त गति देखिने झल्झली
लङ्गडो कौवा को खुट्टा झै
सिन्के गोडा
केवल टाउको मात्र देखिने
मानव ढाचा थियौ होइन?

 

सामन्त को शोषण
बलियाको भक्षण
कति बयान गर्थ्यौ
अन्धकार मा चिराग बाल्ने
विध्वंस पछि
निर्माण थाल्ने
जोशिलो गाथा
मनै पगाल्यौ होइन र!
कलिलो छोरो
अन्जान मोरो
तिम्रो बहकाइ मा
पाठशाला मा पिसाब फेर्दै
खुकुरी भिरेर हिडेको
होइन?
जीवन मरणको भेद नजान्ने
मेरि सुकुमारी छोरी
मुक्ति युद्द भन्दै
लगेका होइनौ र
भन त !
मेरो सन्तान अनि
मेरो घरको पिठो बाहेक
थियो के? तिमिसग
तर मैले त सर्वस्व दिएको
होइन र?

३० मुरि धान फलाउने
हर्केलार्इ सामन्त भन्दै काट्यौ
पाठशाला का मास्टर मार्दा
भन के सुराक पायौ!!
बिजुली को बिल तिरिन मैले
मेरो पधेरो माथी
मैले पुजा गर्ने देउथान सगै
गाई काटेर भोज गरेका होइन
कु प्रथा फ्याक्ने भन्दै
धर्मका प्रचार का गुरु
ढालेका होइनौ!!

ति कलिली मुना
मेरी कलेजा का टुक्रा
लगेर च्यातचुत पारेको
धुजा धुजा निमिट्यान्न
मेरो कोख उजाडेको
मेरो काख रित्याएको होइन?
लास न सास पार्‍यौ
मेरो ममता मार्‍यौ!
तिम्रा ढाल बन्दै
तिम्रो काल छेकेको
मेरो छोरो
शरीर मा गोलिको छरा बोकेर
भेडा हेर्दै छ
प्रचण्ड रापमा
नरकिलो मरुभुमी मा
के दियौ त खोइ?
मेरो काख को बदला
मेरो ढिडो को बदला
त्यो मरुभूमि मा प्यासै
भेडा चराउन बाध्य तिम्रो
सेनाको त्याग को बदला!
भन त साच्चै के दियौ?

साहुको ऋण छल्ने दाउमा
क्रान्तिका नाउमा
उराल्नु उरालेउ
भट्टि बाट तन्किएर
क्याफे मा मातिने भयौ
मासा काजी को उधारो बाकी छ
सुपर बजार पसेका छौ
मेरो घर ढलेको छ
म ओढार कुर्दै छु
तिमी सिहदरबार कब्ज्याएर
नारायणहिटी को भाडाले
न्युयोर्क घुम्दै छौ
मेरी छोरीको लासको अर्मल उठार्इ
बैंकक को पताया घुम्दै छौ
तिम्रा हितकारी पातकी हरू
हुइकिदै छन बाइपंखीमा
तिम्रा चपेटामा दुर्गन्ध मात्र छ
मैना र मुना को लास बेचेको
हिजो झै लाग्छ
आज दिनहु निर्मला हरू मारिदै छन
मेरो देशको टुक्रा टुक्रा पारेको छ
सक्छौ तिमी हिसाब दिन
मेरो बलिदानको
सक्छौ आँखा मिलाउन
नेपाल आमा सग?
बापती मगज उपज रहेछ
हाम्रो कलेजा भुटेर सितान बनायौ
हाम्रो रगत सँग साटेको
बिदेशी मदिरा मा लठ्ठ छौ
भन त खोइ तिम्रो क्रान्ति ?
खोइ मुक्ति जनता को ?

२) ‘साने आयो’
आँखा टट्याइ सके
हेरेको छु एक टकले
तप्केनिले छियाछिया
पिंढीको डिलमा घुत्रुक्क छु
तल एक्ले को पिपलबोट
हरियो देख्थे, तर अहिले
धमिलो देख्छु, रंङ्ग उडेको
धर्को ताने को जस्तो गोरेटो
ठूलो फराकिलो देखिन्छ
सिलिङ मिलिङ रङ्ग चल्छन
कोहि उधो लाग्छन
उभो लाग्छन कोही मतिर
आँखा झिम्किदैन कति पनि
आउँछ त्यो मानव बिम्ब
नजिकै आउँछ !
तर्केर जान्छ, परचक्री झैँ
बिलकुल अन्जान!
झरिको रुझार्इ,
तुषारो चुसार्इ
घामको राप लाई
आहारा बनाएको छु
चाउरिएको छाला को
ओढ्ने ओछ्याउने छ!
रितु फेरिए कयौ पटक
तर पनि मेरो साने
फर्केर आएन !

बा लाहुर जान्छु
धन कमाउँछु,
हजुर लाई पाल्छु बा
यो झुपडी लाई सजाउँछु
सुन्दर घर बनाउँछु
मीठो मसिनो पकाउँछु
तिम्रा जिब्रोमा स्वाद चखाउँछु
परदेश बाट खुशी को बिटो
ल्याउने छु बा
मिठा सपना को चास्नी मा
चोपलेर मलाई
झुपडी बन्धकि राख्दै
खाडी हानिएको धेरै भो
मेला जाने खुट्टी बसे
शरीर जर्जर भै सक्यो
गङ्गामा कयौँ भेल बगे
एक्ले पिपलको छाहारीमा
कति लाहुरे सुस्ताए
तर मेरो साने आएन !

मङ्गली त भाग्यमानी भइ
साने र मलार्इ छोडी गै
दैवले उसलार्इ चुडे म बाट
हेर्दै होली उ तलतिर
मेरा वेदनामा आँसु झार्दै होली
त्यही भएर होला
मेरो झुप्रो को छानो ले
ल्याइदिन्छ सरासर उस्को आँसु
मेरो आँखा सम्म
मेरो मुटु सम्म झर्झरी
झरी बनाएर
अब त बोलाउँदै छु काललार्इ
उ पनि निष्ठुरी किन आउँथ्यो
धुक्धुकी मात्र हल्लिन्छ
किन लैजान्थ्यो
त्यो दैबलार्इ पनि खेताला
खाँचो होला
म त के काम र!
तर्कनामा लोलाएका आँखा
झस्किन्छन ! ब्युझिन्छन
अपरिचित आकृतिको
चहलपहल छ बाँझिएको आगनमा
मन खुशीले फुरुङ्ग भयो
उठाउन सकिन जिर्ण शरीर
लामो सन्दुक देखे
हर्ष बिभोर भयो मन
सानेको कमाइको बाकस देखेर
सोधे जिब्राको फेदले
मेरो साने खोइत ?
मुखामुख गरे सबैले
देखाए बाकस तिर
निस्कियो बज्रबचन बाँण सरि
साने त रहेन अब
उस्को लास आएको छ
बाकसमा !
साने त आयो
सुटुक्क आयो मलार्इ
खबर नगरी आयो
मेरो खुशी को लागि
गएको उ
मेरो दुःख हेर्न नसकी
निर्जिव भएर आयो
कहिल्यै नउठ्ने गरि आयो ।।

शम्भु गजुरेल अज्ञानी
बेलकोट्गढी– ९, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.