कृष्ण शरण उपाध्याय का जोर कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “बाल कविता”
भयो बिहानी र चरी कराए ।
मनै छुने सुन्दर गीत गाए ।।
जागे सबै ठाउँ छिमेक – टोल ।
घण्टा बजे शङ्ख-मृदङ्ग-ढोल ।।

भयो अबेला उठ बाबु ! नानी !
चाँडै धुनू `ज्यान´ लिएर पानी ।।
हिजो पढेको सब पढ्नुपर्छ ।
हरेक कक्षा पनि चढ्नुपर्छ ।।

 

पहेँलिँदै घाम उदाउँदो छ ।
हिमाल हाम्रो सुन झैँ हुँदो छ ।।
उ: ताल मा हेर त घाम कस्तो !
सिक्का सुनौलो कि त दाम जस्तो ।

गुलाफ हाँस्दैछ बनेर मीत ।
आकाश खुल्दैछ उडेर शीत ।।
साथीहरू गुन्गुन गर्न थाले ।
मौरीहरू भुन्भुन गर्न थाले ।।

नेपाल कस्तो तरवार जस्तो ।
हिमाल अग्लो दरवार जस्तो ।।
यो स्वाभिमानीपन हो यहाँ को ।
तिमी सबै नै धन हौ यहाँ को ।।
छन्द: उपजाति

२) “त्यो सास धिक्कार छ”
विद्यार्थी का लागि
केही अद्भुत कर्म गर्न नसके, के बाँच्नुको सार छ ?
नङ्ग्रा मा नव-शिल्प भर्न नसके,के बाँच्नुको सार छ ?
कीरा भैकन मर्नु हो यदि भने, त्यो सास धिक्कार छ ।
ऊर्जा छर्न र अग्नि तर्न नसके, के बाँच्नुको सार छ ?

जेमा सोच गयो, चमत्कृति दिने, हुङ्कार होस् आँत मा !
जेमा लागिपर्‍यो, परिष्कृतिदिने, खुङ्खार होस् साधना !!
निस्कोस् प्राण परन्तु लक्ष्य नछुटोस्, जन्मोस् नयाँ अर्जुन !
उठ्दै जानुछ साध्य को शिखर मा, पर्नेछ तारा छुन ।।

कोही गायक बन्छ होस् तर त्यहाँ, होस् गायकी को नशा !
कोही नायक बन्छ होस् तर त्यहाँ, होस् नायकी लालसा !!
बन्ने हो यदि चित्रकार गतिलो, सेवा सुबिस्ता भुलौँ !
बन्ने हो कवि मूर्तिकार भरिलो, सारा प्रतिष्ठा भुलौँ !!

इच्छाशक्ति लियो भने मनुज ले, के गर्न सक्दैन र ?
कष्टैकष्ट पियो भने मगज ले, के गर्न सक्दैन र ?
मान्छे सक्दछ उड्न नील – नभ मा, आकाश – तारा छुन ।
मान्छे सक्दछ डुब्न सिन्धु – तल मा, जीवन्त धारा हुन ।।

`आहा´ को स्वर गुञ्जियोस् दश दिशा, गर्दा चमत्कार ले !
गर्ला भव्य विचित्र कर्म जसको, भित्री कलाकार ले !!
होला सार्थक जन्म बल्ल उसको, अस्तित्वशाली हुँदा !
सच्चा मार्ग खुलाउने गजब को, नेतृत्वशाली हुँदा !!

उस्को अद्भुत कर्म बाट सहजै, ढुङ्गाहरू बौरलान् ।
ऊ द्वारा परिपूर्ण प्रेरित भई, मूढाहरू दौडलान् ।।
मुर्दा मा पनि प्राण जाग्रत बनोस् , देखेर ज्यूँदो छवि !
तातोस् जीवन चेतनामय बनी, चम्कोस् सुनौलो रवि !!

छन्द: शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.