गोम बिक्रमका पाँच मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

रत्ति प्रवाह हुन्न आफ्नै, सुकोस् जीउमा रक्तहरू
मरी मेटेर लागि पर्छन्, अरुका निम्ति आशक्तहरू
सत्यता के हो बुझ्ने हैन,अस्तित्व आफ्नो खोज्ने हैन
चुप्चाप तलुवा चाट्दा हुन्छन्,अरुका अन्धभक्तहरू ।

आफू अगाडी जान पनि, चलाख छन् खुट्टा तान्नेहरू
थोरै उकासे चढीहाल्छन्, आफैमा महान् ठान्नेहरू
नपाउने पद पाए भने, निमुखा पछि लाए भने
नजाने जस्तो गर्नुपर्छ, गम्किन्छन् आफै जान्नेहरू ।

 

प्रतिष्ठा सब नेपालको, सकेसम्म खस्काइरहे
प्रल‍ोभनमा पारी सधै, जनतालाई झस्काइरहे
‘हुने खाने’ कारमा छन्, ‘हुँदा खाने’ मारमा छन्
समृद्धि तिम्रा गफै भए, महँगी, कर फस्टाइरहे ।

सज्जनलाई खेलाएर, हत्केलामा नचाइसके
ढुकुटी रित्तो बनाएर, आफ्ना लागि बचाइसके
दण्ड सजायँ हुँदै हुन्न, अख्तियारले छुँदै छुन्न
जेसुकै होस डर छैन, लाज शरम पचाइसके ।

जसले देशै डुबाउँछ, उसैको शिरमा ताज देख्छु
इनाम अनि जस पाउने,जहिले धोकेबाज देख्छु
नीतिनियम एकातिर, काम देखिन्छ अर्कोतिर
सक्षमहरू पाखा सारी, कलंकितको राज देख्छु ।

– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.