जयदेव गोविन्द का तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) विचार र दृष्टान्त
धामा गरे सफलता वश पर्छपर्छ
आहार तान्छ कमिलो जति पल्ट झर्छ
अल्छी र निष्क्रिय बने पर सर्छ मौका
के सिन्धुको तट कुरी अघि बढ्छ नौका ।१।

ज्यादै विशाल सपना लिनु हुन्न जाती
लौरो लिई सगर को छुन सक्छ माथि ?
बेकारको लगनले पछि दिन्छ धोका
लाखौं प्रयास गरिऊन् अडिँदैन फोका ।२।

 

फेरिन्न साहसविना युग वा जमाना
के तापको भरविना उसिनिन्छ खाना ?
सङ्ग्राममा पछि हटे यश पाइँदैन
बाँधेर पाउ भुज भार उठाइँदैन ।३।

को ज्ञान पूर्ण नगरी अघि लम्किएला ?
के गर्भभित्र नबसी शिशु जन्मिएला ?
विद्या र सीप गफतुल्य हुँदैन सस्तो
को बन्छ जन्मअघि नै भवभूतिजस्तो ।४।

सामर्थ्यहीन रवले मन फर्कँदैन
नाङ्लो पिटेर वनको गज तर्सँदैन
खुम्च्याइले प्रगतिका दिन आउँदैनन्
थापी घडा सकल सिन्धु अटाउँदैनन् ।५।

जो शून्य हुन्छ उसको भर पाइँदैन
आकाशमाथि दरबार ठड्याइँदैन
सन्तानमोह चुलिए कुलवंश मर्छ
यस्तो उदाहरणमा धृतराष्ट्र पर्छ ।६।

चाञ्चल्य या अधिक हर्ष रहन्न धेर
पोखिन्छ तातिन गए जल उम्लिएर
ज्यादै विनम्र गुनिलो हुनुहुन्न दानी
धेरै चिसो हुन गए हिम बन्छ पानी ।७।

वैषम्य हट्छ मनको कटुता हटाए
श्रीरामको समर वानरले जिताए
केही कतै कपट नै शुभ कर्म झैं छन्
श्रीकृष्णका कुटिलता पनि धर्म झैं छन् ।८।

सान्निध्यले प्रणय,जीवन सौम्य बन्छ
औंला झिकेर नङको सह के रहन्छ ?
चाहिन्छ योग्य गुण पूजित बन्नलाई
छर्केर जौ कुन गधा हुन सक्छ गाई ।९।

देखिन्न शक्ति कति हो तुलना नपाए
अस्तित्व हुन्न दिनको रजनी नआए
भोगाइ चिन्तनविना कृति लेखिँदैन
ज्यूँदो छँदै असल नन्दन देखिँदैन ।।१०।।
छन्दः वसन्ततिलका

२) आत्मालाप
अति निम्न नहोस् अतिसार नहोस्
ठिक जीवन होस् तर हार नहोस्
तन सक्षम होस् मन निर्मल होस्
शिर उच्च गरी उभिने बल होस्

ठिक साधन वा धन तागत हून्
सुख चैन खुसी सब औसत हून्
व्यवहार चलोस् भरजन्म ठिकै
भुज माथि परून् दुखिया नजिकै

लघु आर्जनमै मन तुष्ट बनोस्
परदौलतमा मन लुब्ध नहोस्
जति जे छ म उत्ति सकार गरूँ
अति लालचको वशमा नपरूँ

किन बन्नु धनी म कुबेरसरि ?
किन गुथ्नु पर्यो सुनको पगरी ?
जब भर्नु छ केवल एक भुँडी
किन चैन गरूँ परअंश चुँडी ?

जसरी नभ बस्छ फराक बनी
जसरी शशि हाँस्छ चिरी रजनी
पृथिवी जसरी चिर आड बन्यो
त्यसरी उभियोस् लघु जीवन यो

किन सत्रतले घर बन्नुपर्यो ?
किन फाँट र हेम निखन्नुपर्यो ?
सजिऊन् किन नूपुर पाउतिर ?
बरु लेप बनूँ क्षत घाउतिर

कसको धनले दिन टार्न सक्यो ?
कसले यमराज पछार्न सक्यो ?
अजरामर हुन् पद शक्ति भने
किन भूपतिका पनि अन्त्य बने ?

शुभ सार बुझे यदि जीवनको
झुपडी पनि सुन्दर नन्दन हो
यदि जन्म बुझे ‘मदपान’सरि
तब जीवन बन्छ मसानसरि

जति अग्र हिँडी शिरमा उभिऊँ
जति आर्जनका धनले भरिऊँ
सह टिक्छ कहाँ शिर झुक्नगए ?
नद बग्छ कहाँ जल सुक्नगए ?

यदि हुन् रुपियाँ सुन साध्य भने
श्रमसीपविना कुन गेह बने ?
श्रम दीप्ति र दीपक झैं मन छ
श्रममै अति सुन्दर जीवन छ

रवमा म मिठो महतुल्य बनूँ
गुणमा जलका दहतुल्य बनूँ
रिपुमै हितभाव उमार्न सकूँ
म जिते पनि हार सकार्न सकूँ

भरजन्म म पुष्पकतुल्य फुलूँ
म कदापि झुटा गफमा नभुलूँ
पहिचान दिऊँ म जुनीभरको
दिलमै म पुजूँ पद ईश्वरको

जति उन्नतिका गति उच्च लिऊँ
जति भौतिक साधनले भरिऊँ
म फुकूँ कि कुपोषणबाट सुकूँ
तर मानव बन्न कतै नचुकूँ ।
छन्दः तोटक

३) आदर्श चिन्तन
नङ्ग्रा घोटी तरर पसिना मृत्तिका निम्ति झारूँ
यो धर्तीमा चिर उदयका नव्य आशा उमारूँ
आफ्नै भाषा महक रसिलो छर्नका निम्ति बोलूँ
प्यारो न्यानो हृदय ममता बाँड्नका निम्ति खोलूँ !

थोरै बोलूँ तर गहकिलो उच्च होस् तर्कसीमा
थोरै लेखूँ तर मधुरता झल्कियोस् लेखनीमा
थोरै होऊन् तर समयमा खर्चिने द्रव्य होऊन्
थोरै साथी तर कसम वा मित्रता भव्य होऊन् !!

पैतालाले नरम ढकनी मार्ग चिल्लो नरोजोस्
यो छालाले नरम डसना वस्त्रसज्जा नखोजोस्
यो जिब्राले तरुल डुकुको स्वाद मीठो बनाओस्
‘चोखो’ खोले बरु उदरमा गर्वको गीत गाओस् !!

यो इच्छाले अशुभ ढुकुटी, दान सेवा नमागोस्
यो विद्यामा ‘कपट छल’को तुच्छ धब्बा नलागोस्
नाफाघाटा अधिक नहुने आयको स्रोत पाऊँ
सानो नै होस् अनुभव नयाँ सिर्जनामा लगाऊँ !!

आफ्नै भित्री मनपटलमा ईशको विम्ब भेटूँ
माया घोली व्यथित मनमा भक्तिको भोक मेटूँ
मेरा गोडा विकल झुपडी-छेउमा नित्य धाऊन्
प्यारा औंला ‘परगमन’को शुद्ध बाटो बनाऊन्

मेरा आँखा धुरुधुरु रँदा आँसुको काम आओस्
मेरो काया जडमय हुँदा कीर्तिले नाम पाओस्
आफ्नै माटो, मनुजहितका गीत गाएर नाचूँ
सानै होऊँ तर ‘मनुज’को नाम पाएर बाँचूँ !!

छन्दः मन्दाक्रान्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.