आमोदीका जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
मन मन्दिरमा भरिऊँ कसरी !
रसदार सुधा म पिऊँ कसरी !

किनमेल छुटे र अभाव बढे ,
नसहाय कुनै अडिऊँ कसरी !

ग़रीबी छ सधैं पसिना छ सधैं,
जन-जागृतिमा छरिऊँ कसरी !

 

सपनाहरु ती बटुलेर सबै ,
दिलदार बनी दरिऊँ कसरी !

जन-जीवन रम्य बनाउन क्यै-
घर-बार भुली अडिऊँ कसरी !

अझ सभ्य र शान्त भएर यहाँ ,
भन, पाइनले खरिऊँ कसरी !

नव सिर्जन गर्न भनेर सधैं –
सुन’ केशव’ भै कसिऊँ कसरी !
छन्द : तोटक

गजल– २,
मौसमले घात गरेपछि आशा छुटतो रै’छ-
जिन्दगीको स्वप्न-तार मक्किएर टुट्तो रै’छ ।

हुने बिरुवाको चिल्लों पात व्यर्थ भए पछि-
अभागीको खेतीजस्तो असिनाले चुट्तोरै’छ ।

भित्र्याउन सुख सन्तोष लाख यत्न गरे पनि-
भाग्य देब्रे भए पछि दुख आफै फुट्तो रै’छ ।

हिजो अस्ति जस्तै आज छैनौ मैले बुझेको छु,
माया घट्तै गए पछि विश्वासले चुट्तो रै’छ ।

ज़माना भो अलि स्वार्थी उदारताको कुरो छैन-
पाएसम्म भँवराले फूलको रस लुट्तो रै’छ ।

उपहारमा तीनवटा मुक्तकः
तिमी क़ाफ़िया हौ म रदीफ हुँ , तिमी दिन हौ म रात हुँ-
तिमी प्रीतिकी घन-घटा र म साउनको अथाह बर्सात हुँ,
तिमी छौ म छु यो पलपलको सुन्दर , मनमोहक सृष्टि छ-
यसैले तिमी प्रकृति म पुरुष अनि तिमी मदिरा र मात हुँ ।

सिमानावारि सिमानापारि म हुन्छु कहिले
न देखी कतै आफन्तलाई म रुन्छु कहिले
नेपाल सिड्’गै मुटुमा राखी दौड़ी म रहे नि
चन्द्र र सूर्य अड्’कित झण्डा म छुन्छु कहिले ?

एक्लो मन कहिले ताती रहन्छ, कहिले सेलाई रहन्छ
आगो पार्दै कहिले निभाउँदै एक्लो मन कुरा खेलाई रहन्छ
नदी झै बग्दै कहिले पोखरी झैं जम्दै कहिले दोधारमा परी
जिन्दगी भर यतिकै साँचों र झुटो के हो ? केलाई रहन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.