कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “धर्म आफ्नो नबिर्सूं”
आफ्नो सच्चा, परिचय दिऊँ, शिल्पले या कलाले ।
आँफैलाई, विजय म गरूँ, साधना-शृङ्खला ले ।।
मेरा पुर्खा, विकसित थिए, झन् म होऊँ विशेष !
मेरो ऊर्जा, कणकण बलोस्, त्यो नहोस् कत्ति शेष !!

चाहे आगो, किन म ननिलूँ, धर्म आफ्नो नबिर्सूं !
चाहे माटै, सँगसँग मिलूँ, कर्म आफ्नो नबिर्सूँ !!
साधी साधी, यम-नियमले, चित्त आकाश पारूँ !
मैले फेर्ने, मधु – पवनमा, वीर को सास हालूँ !!

 

भावी पुस्ता, अघि अघि बढोस्, बात मेरा लिएर ।
केही गर्ने, नव सृजन का, हात मेरा लिएर ।।
यो धर्तीमा, युगयुग जिऊँ, भव्य सन्देश छाडी ।
स्वर्गै पाऊँ, तर म नलिऊँ, दिव्य यो देश छाडी ।।

जो जन्मन्छन्, यस अवनिमा,भिन्न अस्तित्व राख्छन् ।
जो देखिन्छन्, यस भुवनमा,भिन्न व्यक्तित्व बोक्छन् ।।
चम्पा हुन्नन् , कमल कहिल्यै, हुन्न बेली चमेली ।
मेरो बाटो,अति विकट होस्, हिँड्छु आगो म खेली ।

जाहीँ जाऊँ, प्रगति म गरूँ, किन्तु धर्ती नबिर्सूं !
ठूलो होऊँ, तर मुलुक का, गाउँ बस्ती नबिर्सूं !!
यो छातीका, सृजन र कला, देश का लागि अर्पूं !
जेजस्ता छन्, सुर लय गला, देश कै लागि अर्पूं !!

२) “श्रीकृष्ण ले रास रचाइहाले”
आकाश मा , बादल छाइहाले !
श्रीकृष्ण वृन्दावन आइहाले !!
दशै दिशा, उत्सव मा जुटेर ,
श्रीकृष्ण को , कीर्तन गाइहाले !!

गल्ली – अँध्यारा र निकुञ्ज सारा ,
बले धपक्कै र घमाइहाले !!
आनन्द मा विश्व डुबोस् भनेर ,
श्रीकृष्णले वेणु बजाइहाले !!

भएर जम्मा , हर गाउँ ठाउँ !
लीला कथा , दिव्य सुनाइहले !!
श्रीकृष्ण को , स्वागत गर्न लाई ,
गुलाफ को , हार बनाइहाले !!

भोकै हुनन् कृष्ण भनी कसैले ,
ल्याई पुवा – खीर खुवाइहाले !!
टाँगेर रङ्गीन ध्वजा – पताका ,
शृङ्गार ले द्वार सजाइहाले !!

गोपी र ग्वाला सब नै मिलेर ,
श्रीकृष्ण लाई त नचाइहाले ।।
तत्काल श्रीकृष्ण बनी अनन्त ,
वृन्दावनी रास रचाइहाले ।।
छन्द: उपजाति

३) आऊ !
बिहानी उषा मा प्रभो!कान्ति आऊ !
अँधेरी निशा मा तिमी शान्ति आऊ !!
महान् तेजिला जोशिला जीत आऊ!
सदा फुर्तिला गर्विला गीत आऊ!!

प्रभो!भावना भक्ति देऊ अनन्त !
कि वा साधना शक्ति देऊ अनन्त!!
फुली फूल मा दिव्य ल्याऊ सुगन्ध!
सदा मुस्कुराऊ प्रभो!मन्दमन्द!!

परं चेतनाशक्ति का पुञ्ज आऊ!
मनै मुग्ध पार्ने कलाकुञ्ज आऊ!!
नयाँ सिर्जना का नयाँ धार आऊ!
नयाँ सीप सोचाइ का ज्वार आऊ!!

तिमी नै नयाँ नित्य उन्मेष आऊ!
दिँदै प्रेम को भव्य सन्देश आऊ!!
चरी झैँ प्रभो!चिर्बिराएर आऊ!
परी झैँ तिमी झिल्मिलाएर आऊ!!

प्रभो!घोर अज्ञान गालेर आऊ!
नयाँ ज्ञान विज्ञान बालेर आऊ!!
तिमी व्यक्ति का क्रूरता तोड्न आऊ!
घना स्वार्थ का पिञ्जरा फोड्न आऊ!!

तिमी हौ सुरू ,सृष्टि का ताज आऊ!
तिमी नै गुरु ज्ञान का राज आऊ!!
खुलाएर सम्भावनाद्वार आऊ!
तिमी हौ महान् जीवनाधार आऊ !!
छन्द: भुजङ्गप्रयात

४) “होस् जिन्दगी कृष्ण नै”
बस्दा कृष्ण जपीजपीकन बसूँ , उठ्दा जपूँ कृष्ण नै !
हिँड्दा कृष्ण जपीजपीकन हिँडूँ ,सुत्दा जपूँ कृष्ण नै !!
खाना कृष्ण जपीजपीकन लिऊँ,ताना बनून् कृष्ण नै !
पानी कृष्ण जपीजपीकन पिऊँ,गाना बनून् कृष्ण नै !!

खट्दा कृष्ण जपीजपीकन खटूँ, बढ्दा जपूँ कृष्ण नै !
झर्दा कृष्ण जपीजपीकन झरूँ ,चढ्दा जपूँ कृष्ण नै !!
किन्दा कृष्ण जपीजपीकन किनूँ ,बेच्दा जपूँ कृष्ण नै !
पिँध्दा कृष्ण जपीजपीकन पिंधूँ ,सिँच्दा जपूँ कृष्ण नै !!

स्यूँदा कृष्ण जपीजपीकन सिऊँ,बुन्दा जपूँ कृष्ण नै !
सुन्दा कृष्ण जपीजपीकन सुनूँ,उन्दा जपूँ कृष्ण नै !!
चल्दा कृष्ण जपीजपीकन चलूँ,फिर्दा जपूँ कृष्ण नै !
झुल्दा कृष्ण जपीजपीकन झुलूँ ,चिर्दा जपूँ कृष्ण नै !!

घुम्दा कृष्ण जपीजपीकन घुमूँ,हाँस्दा जपूँ कृष्ण नै !
रम्दा कृष्ण जपीजपीकन रमूँ ,नाच्दा जपूँ कृष्ण नै !!
बाँच्दा कृष्ण जपीजपीकन बचूँ , होस् जिन्दगी कृष्ण नै !
मर्दा कृष्ण जपीजपीकन मरूँ , होस् जिन्दगी कृष्ण नै !!

छन्दः शार्दूलविक्रीडित:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.