कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “अहं बाट मुक्ति”
तन्त्री हुन् भगवान् म तन्त्र उनको, गाले भने गल्दछु ।
यन्त्री हुन् भगवान् म यन्त्र उनको, चाले भने चल्दछु ।।
हुन् ती सिन्धु म बिन्दु मात्र उनको, मेरो अहं व्यर्थ छ ।
अंशी हुन् भगवान् म अंश उनको, ढाले भने ढल्दछु ।।

बाक्लो मेघ भयो भने रवि कतै, देखिन्न आकाश मा ।
देखिन्नन् भगवान् अहं यदि भए, जो छन् सधैं पास मा ।।
चम्कन्छन् रवि मेघ नै हटिदिए, त्यो नील आकाश मा ।
हाँस्छन् ती भगवान् अहं घटिदिए, यो चित्त – आवास मा ।।

 

पानी पर्छ पहाड का शिखरमा, रोकिन्न त्यो झर्दछ ।
वर्षा ले सब पोखरी र डबरा, खाल्डा कुना भर्दछ ।।
उस्तै यो अभिमान पर्वत ममा, बढ्दै न जाओस् प्रभो !
होऊँ शून्य र रिक्त पात्र म सधैं, दासत्व छाओस् प्रभो !!

काट्यो पीपल आज , भोलि त्यसमा, नौलो टुसो लाग्दछ ।
विद्वान् को पनि नम्रता सँग अहं मौलाउँदै जाग्दछ ।।
मै ठूलो म हुँ उच्च – साधक म नै विद्वान् हुँ सर्वज्ञ हुँ ।
एस्तो भाव नहोस् म भित्र प्रभुजी ! ठानूँ म अल्पज्ञ हुँ ।।

यो “मेरोपन” देखि मुक्ति कहिल्यै, मिल्ला त हे ईश्वर !
या “तिम्रोपन” को प्रकाश दिल मा, खिल्ला त हे ईश्वर !!
कर्ता हौ प्रभु नै समस्त जग का, भर्ता तिमी नै प्रभो !
भोक्ता हौ प्रभु नै चराचर जगत्, हर्ता तिमी नै प्रभो !!
छन्द: शार्दूलविक्रीडित

२) “भन्दो हो युग ले – “नपुंसक तिमी”
ओढी हिँड्दछ आज स्याल बबुरो, त्यो घोर बाघम्बर ।
फोस्रो धाक दिएर देश भरि नै, ऊ गर्छ आडम्बर ।।
नौलो मार्ग बनाउनेछु म भनी, खन्दैछ ओडार ऊ ।
आफ्नै लागि अथाह रत्न – रुपियाँ, भर्दैछ भण्डार ऊ ।।

बिक्री निम्ति छ पङ्क्ति मा हर युवा, त्यो प्याज को मोल मा ।
ऊ खेदिन्छ विदेश का बगर मा, पेलिन्छ ऊ कोल मा ।।
एस्तै सन्धि गरिन्छ “उन्नति गर्‍यौं” मानिन्छ यो देश मा ।
पानी बेच्न सकिन्न गल्फ तिर के ठानिन्छ यो देश मा ?

हाम्रो जून निदाउँदो छ जहिल्यै, देखिन्छ काली निशा ।
हाम्रो सूर्य हराउँदो छ कहिल्यै, देखिन्न लाली उषा ।।
खुट्टा छैन र प्वाँख छैन अहिले, के ले हिँडौँ के उडौँ ?
चक्का छैन र लीक छैन पहिले, के मा अडौँ या गुडौँ ?

बाँच्दैछौँ यति अन्धकारमय भै, जो कल्पनातीत छ ।
बोक्दैछौँ सपना प्रहारमय भै, जो वर्णनातीत छ ।।
भन्दो हो युग ले – “नपुंसक तिमी , के ले भयौ लौ भन !
एस्तो दीन – दशा हुँदा पनि अहो ! पोल्दैन तिम्रो मन ?”

फुल्छन् आपद राजनीति – तरु मा, स्वार्थान्धता फल्दछन् ।
फैलिन्छन् अति दासता दनुजता, दुर्गन्धता बढ्दछन् ।।
दाईं चल्दछ देश का दलिन मा, सङ्घार भत्काउँदै ।
हुन्छन् भोज र मोज मांस – मदिरा, नाचेर तन्काउँदै ।।

३) “उम्लिँदो रक्त छैन”
आमा ! तिम्रा, तनय – तनया, छन् विदेशी धरा मा ।
के फल्थे खै, सुन – धन यहाँ, अन्न बाली गरा मा ?
देख्थ्यौ आमा ! मधुर सपना, त्यो खरानी भयो कि ?
तीतो – टर्रो, अपच – झुसिलो, जिन्दगानी भयो कि ?

गोर्खाली का , दिल धवल छन् , विश्व का टाकुरा मा ।
देशै बोक्ने , अतुल – बल छन् , पौरखी पाखुरा मा ।।
एस्तो भन्थे , अरु मुलुक ले , होश हाम्रो भयो के ?
त्यो फौलादी , मन – मगज को , जोश हाम्रो गयो के ?

आमा ! तिम्रा रगत – कण ले, अग्नि – विस्फोट गर्थे ।
तिम्रा प्यारा, नव – तनुज ले, शत्रु मा चोट गर्थे ।।
तेस्तो ज्वालामय नयन को, के भयो शान मान ?
भाग्यो केले, किन र कसरी, दर्बिलो स्वाभिमान ?

छोराछोरी , प्रखर पहिले , वीर जन्माइदिन्थ्यौ ।
ज्ञानी ध्यानी,विपुल मतिमान् , धीर जन्माइदिन्थ्यौ ।।
लोभी पापी , किन छ अहिले , रक्त – सन्तान तिम्रो ?
कामी क्रोधी , किन छ अहिले , तुच्छ सन्तान तिम्रो ?

लालाबाला, दृढतर बनून्, हृष्ट या पुष्ट होऊन् !
आँटी खाटी, प्रियतर बनून्, दुष्ट कोही न होऊन् !!
इच्छा तिम्रा, जति पनि थि, ती भए ध्वस्त जस्तै ।
सन्ध्या बेला रवि – किरण झैँ, भै गए अस्त जस्तै ।।

एस्तो लाग्यो, अब त जननी ! उम्लिँदो रक्त छैन ।
यो माटो मा, मन – मुटु दिने, गर्विलो भक्त छैन ।।
सेना उस्तै, सकल प्रहरी, उच्च नेतृत्व उस्तै ।
जिम्मा बोक्ने, पद र तह का ,भव्य व्यक्तित्व उस्तै ।।
छन्द : मन्दाक्रान्ता

४) “आत्मानुसन्धान”
`म´ भन्नु के हो, रसना कि दाँत ?
किड्नी कलेजो, मुटु हो कि आँत ?
कि नेत्र हो, नाक कि कान हो त्यो ?
कि पेट हो, या शिर – पाउ – हात ?

`म´ भन्नु वक्षस्थल हो कि ढाड ?
हो रक्त या, मांस नसा कि हाड ?
घुँडा कि तिघ्रा, पिँडुला कि नाडी ?
`म´ भन्नु के हो, मन हो कि वाणी ?

विचार गर्दा, `म´ कतै हुँदैन ।
`म´ नाम को, भौतिक तत्त्व छैन ।।
छ देह मा, प्याज समान पत्र ।
निकालिँदा, कत्ति `म´ पाइँदैन ।।

यसै गरी, खोज गरी रहेमा ।
विचार का, बीज छरी रहेमा ।।
उँचाइ मा, चेतन – तत्त्व पुग्छ ।
पुनः उहीँ, आत्म – प्रकाश हुन्छ ।।

इनै कुरा, साधक नित्य भन्छन् ।
छ सत्य जे, तत्त्व उही कहन्छन् ।।
तसर्थ सत्साधन मा जुटूँ म ।
अध्यात्म – पीयूष सधैं लुटूँ म ।।

रसना=जिब्रो
छन्द: उपेन्द्रवज्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.