पाल्पाली गान बन्दछ

Tanka, Prasad, Pantha, टंकप्रसाद पन्थ, pallawa, पल्लव

टंकप्रसाद पन्थ

पाहाडी दृश्यमा राम्रो धर्तीकै खुल्छ कान्ति यो
पाल्पा छन् अप्सरा जस्तै लागेको मनमा छ यो
प्रकृति साथ पाल्पाको छटा खुल्छ अलौकिक
पाल्पाली मुटुको माया बन्छ गाढा र मौलिक।।

माडीमा धान झुल्दै छन् पाखा छन् हरिया घना
खुल्छ सौन्दर्यको आभा पाल्पा यो छ मनोरम
अर्गली पूज्य नै बन्छ आैर्वका तपले सधैं
जित्गढी कीर्तिको गाथा सुनाउँदै छ यो अझै ।

 

रिब्दीकोट सधैं भन्छ पाल्पाली वीरका कथा
कौडेमा खुल्दछन् राम्रा प्रकृति उपमा छटा
हात्ती लेक उठेको छ जन्ताको मनमा यता
रिमिघा शानमा उठ्दा पाल्पा नै उठ्छ सर्वदा ।

जन्ता छन् कर्मका पूज्य मोती दाना फलाउँछन्
आत्मनिर्भर भै आफ्नो स्वाभिमान उठाउँछन्
आशामा बाँच्दछन् जन्ता लक्ष्यमा बढ्दछन् अघि
स्वार्थमा र् याल काढ्दैनन् मनका पूर्ण छन् धनी ।

रोदी मादलमा खुल्छ मारुनी नाचमा जब
मनै यो तान्छ कौडाले ठूलो नाच छ वैभव
सोरठी लयमा बोल्छिन् पाल्पाकी स्वर किन्नरी
संस्कृत थाम्छ पाल्पाले झुक्न दिन्न कसै गरी ।

सचित्र बिम्ब पाल्पाको मनमा हुन्छ अङ्कित
निष्ठामा बाँच्छ पाल्पा यो हुन्न कोही कलङ्कित
काली छन् पावनी गंगा सारा कल्मष फाल्दछिन्
जलले पूर्ण तुल्याई धर्ती सिञ्चित गर्दछिन् ।

भग्वती,सत्यकी माता,रैना,रम्भा अरू पनि
बाबा छन् सिद्धका यस्तै ऋषि केशव पावनी
आस्थाका भावनाभित्र देव देवी अनेक छन्
शिवका धाम छन् पूज्य सबैका स्तुत्य बन्दछन् ।

नदीका रूपमा बग्छिन् तिलोत्तमा घुमीघुमी
माण्डव्य ऋषिको क्षेत्र माडी हो तपको भूमि
रिडी,राम्दी र केलादी पवित्र तीर्थ बन्दछन्
रानीमहलमा साँचो प्रेमका मर्म खुल्दछन् ।

भाषा भेष मिलेका छन् मित्रतापूर्ण भाव छ
पाल्पाली जनमा साच्चै आस्थाको अनुराग छ
नेपाली अस्मिताभित्र पाल्पा यो उच्च खुल्दछ
पुर्खाको विजयी गाथा पाल्पाली गान बन्दछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.