गर्जेर भन्नेछु म….

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

स्पृश्यापृश्य रजस्वला विषयमा लेख्ने कहाँ गर्छु म,
नारीको अधिशत्रु मात्र मदिरा भन्ने कहाँ लेख्छु म!
आफ्ना बेथितिको विवेचनविना यो देश राम्रो भनी,
लेख्नेगर्छु सधैं कथा र कविता साहित्य स्रष्टा बनी ।

सीमाभित्र थिचोमिचो हुनगयो हिन्दुत्वले हेप्दछ,
राम्रो मित्र भनेर कुर्लिरहने साहित्यको धाक छ ।
होली क्रिश्मसमा उमङ्ग हुनगो राखीहरूमा पनि,
आफ्ना विकृतिको विरुद्ध कविता लेख्दैन यो लेखनी ।

 

प्यारो तीज दशैं तिहार घरका खेदो मिली गर्दछन्,
साकेला निजको भएन कतिले विद्रोहमा लेख्दछन् ।
आफ्नै चाड़ र पर्वमा विविधता आफ्नाहरू सिर्जिने,
आफ्ना हेय हुने विदेशतिरका उत्साहले पालिने ।

पृथ्वी भानु र देशको विषयमा लेखिन्छ विद्रोहमा,
पृथ्वीको अवदान तुच्छ हुनगो लेखिन्न साहित्यमा ।
हत्यारा जनको समर्थन गरी साहित्य रच्दा हुने,
कस्तो राष्ट्र समाज निर्मित भयो संस्कार नै मासिने !

छोरी तास जुवा र जाँडतिर छिन् निर्वस्त्र झैं देखिने,
कस्ता सन्तति पाउलिन् मुलुकको उद्धारमा दौडिने।
छैनन् नैतिकता कथा र कविता यो देश उत्थानका,
लेखौंला कविता कथा उपकथा साहित्यको मर्मका ।

के दायित्व लिएर लेख्नु कविता दायित्व मेरो छ र!
के दायित्व विहीन शब्द सरिता साहित्य बग्दैन र !
लेख्नेगर्छु अजस्र लेख कविता यो देश मौलाउने,
आफ्ना बेथितिको विरुद्ध नभनी साहित्य स्रष्टा हुने ।

रक्सी श्राद्ध र तीजमा पनि चलोस् आपत्ति के गर्नु र !
लेख्नेगर्छु विशिष्ट काव्य कविता थाङ्ने कुरा लेख्छु र !
यो सामाजिकका रचेर कविता दर्जा घटाउन्न म,
आफ्नै उच्च विचारका रची कथा स्रष्टा सुधी हुन्छु म ।

मात्ने मातिरहून् लडून् मरिरहून् मेरो कुरा हैन यो,
खानेमा अधिकार मौलिक हुने आस्था छ यो देशको ।
यो सामाजिक तत्वदेखि परको साहित्य सिर्जन्छु म,
ठूला मञ्च चढ़ी विशुद्ध कविता गर्जेर भन्नेछु म ।.

छन्दः शार्दूलविक्रीडित
-विनीत:कनकधारा स्वामी स्वदेशानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.