कृष्ण शरण उपाध्याय का तीन कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “वीराङ्गना हो उठ !”
आँधी तीव्र बनेर जाग न सबै , नारीहरू देश का !
पापाचार विरुद्ध लाग न सबै , नारीहरू देश का !!
कैले सम्म बलात्कृता हुन पुगी , झन् हेपिइन्छ्यौ तिमी ?
कैले सम्म तिरस्कृता हुन् पुगी , झन् चेपिइन्छ्यौ तिमी ?

नारी छौ नर बाट पीडित सधैं , बृद्धा सँगै बालिका ।
यो अन्याय विरुद्ध बन्नुछ तिमी , दुर्गा कि वा कालिका ।।
जोजो राक्षस रूप का पुरुष छन् , ती पर्छ सिद्ध्याउन ।
फाँसीयुक्त विधान सिर्जित गरी , ती पर्छ रित्त्याउन ।।

 

हज्जारौं महिला बलात्कृत बनी , ती निर्मला झैं मरे ।
कैयौं ती महिला तिरस्कृत बनी , राधा – रमा झैँ मरे ।।
ती नारीजन को लिएर करुणा , वीराङ्गना हो उठ !
नारी को हित मा समर्पित भई , हे अङ्गना हो उठ !!

ढोका खोल र निस्क बाहिर तिमी ! धर्ती थथर्काउँदै !
दुष्टात्मा सँग आज जिस्क न तिमी ! आवाज चर्काउँदै !!
तिम्रो उत्तम अस्मिता न लुछियोस् , यो निम्ति नारी उठ !
तिम्रो गौरव शान मा न कुचियोस् , यो निम्ति नारी उठ !!

स्वर्णै होस् तर नेल हो यदि भने , फाल्नैछ तोडीकन ।
रत्नै को घर जेल हो यदि भने , भाग्नैछ फोडीकन ।।
नारी एक भएर यो मुलुक मा , कानून आओस् कडा !
जो गर्छन् अपराध ती खलहरू , कोही नफुत्कून् बडा !!
छन्द: शार्दूलविक्रीडित

२) “आगो बनी बल्नुछ”
चुम्ने चाह छ उच्चता सफलता, यो जिन्दगी मा भने ।
भेट्ने चाह छ भव्यता शिखरता, यो जिन्दगी मा भने ।।
भित्री मर्दपना निकाल्नुछ कडा, आगो बनी बल्नुछ ।
इच्छाशक्ति विहीन हैन, जल मा ज्वाला बनी जल्नुछ ।।

ठूलो मत्स्य समात्न मा मन भए , बल्छी डुबाई बसौं !
पर्खौं धैर्य गरौं र कत्ति न चलौं , इच्छा नमारी बसौं !!
यौटा लक्ष्य लिऔं र साधक बनौं , ऊर्जा जगाऔं उहीँ !
फोरौं आँट गरेर भीर – पहरा, झर्ना बगाऔं उहीँ !!

पानी मा यदि पौडने मन भए, डुब्ने चुनौती लिनू !
खार्ने हो यदि जिन्दगी सकस ले, धोती न टोपी हुनू ।।
सच्चा कर्मठ, काम बाट कहिल्यै, भाग्दैन यो बुझ्नुछ ।
जो नामर्द छ काम मा प्रबल भै, लाग्दैन यो बुझ्नुछ ।।

घोडा चढ्दछ जो कुनै समय मा, त्यो खस्छ या लड्दछ ।
गाह्रो काम लिँदा लिँदा मनुज झन्, अग्लाइ मा चड्दछ ।।
बाच्छो लड्दछ बारबार भुइँ मा, ऊ हिँड्न सक्ने हुन ।
मान्छे खट्नुछ दु:ख मा अटल भै, ऊ भिड्न सक्ने हुन ।।

गर्दैनन् पुरुषार्थ कत्ति तिनले, जो साधनाहीन छन् ।
जो पाषाण समान छन् हृदय ले, संवेदनाहीन छन् ।।
चीसो बन्न हुँदैन कत्ति हिउँ झैँ, या पोखरी झैँ यहाँ ।
बग्नै पर्दछ सिर्जना नहर झैँ, या निर्झरी झैँ यहाँ ।।
छन्द: शार्दूलविक्रीडित

३) “विराट् प्रति”
ऊर्जा विराट् देख्छु, अकाट्य तथ्य !
अनन्त !आदर्श ! उदात्त !सत्य !!
असीम! तिम्रो जय होस् सदैव !
म भित्र भावोदय होस् सदैव !!

तिमी महाकाश!विशेष !उच्च !
म हूँ घटाकाश, अशेष नीच !!
स्वराट् तिमी नै र विराट् तिमी नै!
ब्रह्माण्ड निल्ने परिभ्राट् तिमी नै!!

संसार यो लाग्दछ, हो”पदार्थ”!
विज्ञान ले भन्दछ, हो “यथार्थ”!!
परन्तु ज्ञानीहरू मान्दछन् यो,
समस्त जे हो, “परब्रह्म”नै हो!!

बारूद एकै,तर शस्त्र भिन्न!
कपास एकै तर वस्त्र भिन्न !!
छ स्वर्ण एकै गहना अनेक !
सद्ब्रह्म एकै रचना अनेक !!

माहात्म्य तिम्रो कसरी म गाऊँ?
विशेषता के-कसरी बताऊँ??
ब्रह्माण्ड आँफै अनि पिण्ड आँफै!
निश्चेष्ट लाग्ने, अणु-अण्ड आँफै!!

जिब्रो विना नै प्रभु बोलिदिन्छौ!
गला विना नै स्वर घोलिदिन्छौ !!
छैनन् कुनै नेत्र तथापि देख्छौ!
विना मसी कागत, विश्व लेख्छौ!!

चकोर हूँ म,प्रभु!पूर्ण-इन्दु!
म बिन्दु सानो,प्रभु!भव्य सिन्धु!!
यात्रा छ जारी,प्रभु!आउँदैछु !
तिम्रा कथा-कीर्तन गाउँदैछु !!

छन्द: उपजाति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.