कुकुरको पुच्छर

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

त्यसै पनि हेपिन्छ कुकुर
त्यसमा पनि उसको पुच्छर
गनोस् कसले
र, मुल्यवान भनेर भनोस् कसले !

अहँ, किमार्थ !
विचार त होला आआफ्नै शूरको
तर मुल्यवान छ है पुच्छर कुकुरको ।

के थाहा छ यहाँलाई ?
कति तन्काइए र छोडिए
इजरायल र प्यालेस्टाइनहरू –

 


कति टन्काइए र निचोरिए
भारत अनि पाकिस्तानहरू
कति ढाड र छाती फर्काए
लेक र बेसीका कोरियाले
कति खेले माछोमाछो-भ्यागुतो
अमेरिका र रस्सियाले ?

समुदाय समाज र गाउँगाउँमा
देश देशावर र महादेश हरूमा
व्याप्त छ पुच्छर कुकुरको ।

अन्यत्र के र !
देवस्थलमा समेत
को सरीफ, को दुच्छर
सम्झाउँदैनन् र तिनले कुकुरको पुच्छर ?

सुन्नुभएको छ कथा हजुरले
के सोझ्याउन सकेथ्यो कुकुरको पुच्छर
बाह्र बर्षसम्म घुसाउँदा समेत ढुङ्ग्रोले ?

अहँ, न त सक्छ हथौड़ाले, न त मुङ्ग्रोले ।

दृढताको प्रतीक हो पुच्छर कुकुरको
जसले प्रतिनिधित्व गर्छ साह्रा संसारको ।

कत्ति गरूँ कुरा अन्यत्रका
गरौं न त आफैं भित्रका
निर्दल भनौं वा बहुदल
प्रजातन्त्र वा लोकतन्त्र
चाहे टुँडाल हेरौं वा मठ मन्दिरका गजुर
सडक हेरौं वा सदन
हाम्रै देश पनि त कुकुरकै पुच्छर हैन र हजुर ?

हो, त्यसैले-
गनिनुपर्छ कुकुरको पुच्छर
दृढताको प्रतीकका रुपमा
पुजिनुपर्छ कुकुरको पुच्छर
व्यापकताको प्रतीकका रुपमा ।

२०७५ भाद्र १४
कौसलटार, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.