गृहिणीसित वार्तालाप

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

झुक्याऊन् कतिले लगेर रुपियाँ, ल्याई कसैले तिरून्
कैयौंले त कृतज्ञता पनि दिऊन्, कोही मुखैले पिरून्
भोग्नै पर्दछ एकबार सबले कर्मानुसारी फल
अर्काको कुभलो कदापि नगरौँ, इच्छा यही केवल

धेरै नाटक गर्दछन् हृदयमा राखेर हालाहल
खोल्छन् केवल ओठले मधुरता झुक्याउँदै दुर्बल
यस्तै हो दुनियाँ, छ नै थरिथरी, बेकार के आत्तिनु ?
आफू शान्त हुनू अशान्त जनमा क्यै सान्त्वना पो दिनू

 

पैसाको गुण गाउँछन् कतिजना, त्यो खालि हो साधन
पैसाले व्यवहार गर्न सजिलो पारे भयो उत्तम
मानी साध्य भकुन्डिएर त्यसमा दौडाउँदा चिन्तन
निम्तिन्छन् लफडा कडा सयकडा नब्बे, बुझून् सज्जन

गर्छन् मानिस पाउँछन् यदि भने आजीविका जे पनि
द्यौताले सब अङ्ग इन्द्रिय दिए क्यै काम गर्लान् भनी
गर्नैपर्दछ काम सीपसितको हेरी अरूको पनि
मैले सोचिरहेछु हेर गृहिणी ! रित्तो नजाओस् जुनी

हामी मानव हौँ जगज्जनकले उत्थान चेष्टा दिए
जम्मै इन्द्रिय, चित्त चेतन, अहं आशा र इच्छा दिए
त्यो केही तलमाथि भो भइरहोस् टाढा अझैं जाउँला
राख्नैपर्दछ धैर्यसामल सँगै सोही झिकी खाउँला

उस्तो सौम्य समाज सत्य युगको, सुन्दै मजा आउने
मान्धाता, गय, रन्तिदेव, सुलभा, दुष्यन्त सम्झाउने
त्यस्तै सन्तमहन्त देव, ऋषिका वार्ताहरू शोभन
सुन्दै फेरि सुनाउँदै चलिरहोस् कैलासमा जीवन

उस्तो धीर कथा उदारमनको लौ हेर त्रेतायुगी
राजा श्री रघुनाथका चरणमा जाऊँ कि ढोग्नै नुगी
पापी रावण, कुम्भकर्ण बधले आशा भरोसा दिने
साँचो जित्तछ झूठ हार्दछ भनी आदर्शमा आइने

उस्तो चारुचरित्र द्वापरयुगी श्रीकृष्णको जीवनी
गीता, भागवतादि शास्त्र नपढे बेकार हाम्रो जुनी
पापी कंस र कौरवादिक गए आखीरमा नाशमा
सोझा मानिसको गरेर कुभलो को हुन्छ उल्लासमा ?

ऐलेको कलिकालमा पनि हुनन् आदर्शवादी मुनि
त्यस्ता खोज गरेर पढ्न सकिए राम्रो हुँदो हो जुनी
हामी तैपनि बन्न खोज्नुछ स्वयं आदर्शवादी जन
राम्रो मानवजन्म, फेरि किन हो पार्ने नराम्रो मन ?

चर्का जेठ, असार, साउन, भदौ हज्जार आए पनि
चीसा पौष र माघका लहरले साह्रै सताए पनि
आत्माको प्रभुको सनातन उही हाँगो समाएपछि
हामी आत्तिनुहुन्न मिष्ट फलको आस्वाद पाएपछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.