१) बाबा बिमस्टेकले चकलेट कैले ल्याउँछ ?
राजधानीका सडकहरू सफा छन्
चार दिनमै खाडलहरू पुरिएछन्
पुलीस — प्रहरीहरू निर्बाध
सम्मेलन परिसरतिर धुरिएछन्
सडकहरू खाली खाली छन्
जनताका सडकमा हाली मुहाली छन्
सबैलाई आज मार्गप्रशस्त छ
धुलो धुवाँबाट मुक्त सडक
प्रदूषणबाट निर्ग्रस्त छ,
यस्ता बिम्स्टेकहरू आइरहून्
हाम्रा नानीहरू निर्बाध उफ्रदै
हाँसिरहून रमाइरहून्,
मेरी छोरीले सोधिन्
बिमस्टेक भनेको के हो र किन आउँछ ?
किन यसले हाम्रो मामूलाई सताउँछ ?
काममा जान बस नि चल्न दिन्न रे
घर फर्कदा रात पर्छ भरे,
हाम्रो स्कूल पनि बन्द भएछ
मिस ले भन्नुभाको रे !
के गर्ने बरू खेल्ने होला
के हाम्रोमा ऊ आउँछ ?
बाबा यो बिमस्टेक ले चकलेट पनि ल्याउँछ ?
कहाँ पाउन् कति बच्चाहरूले चकलेट
क्याडबरी, किटक्याट, डेरीमिल्क,
टुब्लेरों, स्निकर, डेरीसिल्क
त्यो त सपना हो तिनलाई
कसले तिनका कुरा सुन्थ्यो !
बिमस्टेक ! यी बच्चाहरूलाई
टफी र क्यान्डी नै भए नि हुन्थ्यो !
बिमस्टेक सभागृहको परखालभरि गाउँछ
छलफल गर्छ, निर्णय गर्छ र हराउँछ
हाम्रा सन्तानहरूलाई
भविष्यका देशका पहिचानहरूलाई
कुन चकलेट ल्याउँछ ? कैले लेर आउँछ ?
मलाई पनि केही थाहा छैन ,
फेरी छोरीले सोधिन्
बाबा, बिमस्टेकले अझ पनि चकलेट ल्या’छैन ?
२) रू. पाँच हजार
सिङ्गो मुलुक उखानमय बनेको बेला
हिजोका कुरा के कुरा
मसिना झीना कुरा,
बकम्फुसे कुरा बुकुरा,
बिर्सिदेऊ बा आमा
आफ्ना कुरा अपुरा,
सरकार चलाउन कर थप्नु पर्ने बेला
तिम्रा पाँच हजारका कुरा
कति तर्कसङ्गत कति बेसुरा ?
छयहत्तर जिल्ला सात प्रदेश
संघीयताको टडकारो परिवेश
बीडो जसैतसै थाम्नु छ
अरूका खुट्टी पनि छाम्नु छ
कति दरा छन् ती शेष?
नत्र जो होला भैजाला
हारेको बरले पाएको माला
कसो केही बर्ष न जाला?
मान्नु छैन हार
बिर्सिदेऊ तिम्रा पाँच हजार।
हाम्रो सौकत हाम्रो शान
हाम्रो संघीय पहिचान
कोही माने मान, नमाने नमान
हामीले पनि सुनेको हो
निकै पैला गुनेको हो
भोट माग्दा गरेका बाचा
र यसले पर्ने भार
धेर न कराऊ बुढा बुढी
कानूनले हान्ला मार!
यो बर्षलाई बिर्स पाँच हजार !
ई. सन्तोष पोखरेल,
गठ्ठाघर, भक्तपुर ।
