शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

राजनितीको नकाव लगाई आउने कति कति
नहुने काम गराउन दवाव लाउने कति कति
सु शासनको नारा लगाई नातावाद कृपावादमा
बिकृती मच्चाउन ठाउँ ठाउँ धाउने कति कति ।।

उर्लिएको खोला नाला सुक्छ कुनै दिन
लाए तिखा वचन मुटु दुख्छ कुनै दिन
सधै भरी झर्को फर्को गरि लाउँदा घुर्की
हितकै माया पनि टाढा पुग्छ कुनै दिन ।।

 

सुन्ने सुनाउने दुबै आएका छन्
पूरा नगर्ने कसम खाएका छन्
बोलीको भरमा के होला र खै !
यथार्थ छोप्ने नकाव लाएका छन् ।।

दिन दिनै हत्या हिंसा बलात्कार हुन थाले
दया छैन धर्म मर्‍यो नैतिकता आगो बाले
कता माग्नु न्याय यहाँ जता पनि अपराधी
देख्दा लाग्छ निर्दोष ती मुटुले नि त्रास पाले ।।

के भनेर सम्झनु खै~टुटेको त्यो सम्बन्धलाई
जिन्दगीको साराखुशी लुटेको त्यो सम्बन्धलाई
पीडा भित्र खारिएर~ पत्थर झै मन भए पछि
कहाँ खोज्न सक्छु पछि छुटेको त्यो सम्बन्धलाई ।।

जहिले पनि मान्छे मार्ने लाईसेन्स हुन्छ सत्ता
जनतालाई थला पार्ने लाईसेन्स हुन्छ सत्ता
परिवर्तन हुन्छ भन्ने ठूलो आसा मारे पछि
सत्यतालाई पर सार्ने लाईसेन्स हुन्छ सत्ता ।।

करकै भरमा देश चलाउने पारा नेताको
यहाँ हुन्न बिकास करका पैसा सारा नेताको
सुबिधा हो दिनै पर्यो योगदानको मुल्य ठानी
कतिन्जेल परदेश बस्दै तिर्छन् भारा नेताको ।।

खुबी भए गर न काम किन फुर्ती देखाउँछौ
तिमीजस्तै हुन्छ तमाम किन फुर्ती देखाउँछौ
अजम्वरी त छैनौ होला आफूले नि राम्रो बोल
बोलीमा नलाई लगाम किन फुर्ती देखाउँछौ ।।

लाज मानेर झुक्नु पर्ने भयो नेपालीलाई
पराई दैलो ढुक्नु पर्ने भयो नेपालीलाई
गर्नेले काम नगरेर बिश्वास टुटे पछि
बिच बाटोमै रुक्नु पर्ने भयो नेपालीलाई ।।

आउ मिलाउँ हातहरु मिल्दा के हुन्न यहाँ
असमान छन् जातहरु मिल्दा के हुन्न यहाँ
प्रेमको वर्षातमा भिज्दा प्रेमिल जोडीहरु
असिम हुन्छन् बातहरु मिल्दा के हुन्न यहाँ ।।

सकिएन नजिक हुन भईयो टाढा टाढा
नजानेर त्यो मन छुन भईयो टाढा टाढा
जिन्दगीको लामो यात्रा तय गरी सके पछि
चुम्न खोज्दा घाम र जून भईयो टाढा टाढा ।।

साँच्चै अचेल काँडा नरम फूल जस्तै लाग्छ
समस्या त्यो ठुलो नदी आसा पुल जस्तै लाग्छ
जो आफ्ना हुन् भन्ने लाग्थ्यो तिनै टाढीएर जाँदा
हिजोका ती स्वार्थी माया आज शुल जस्तै लाग्छ ।

रुवाएर छाड्यौ ~तिमीले मलाई
दुखेको दिलैमा ~सुनामी चलाई
भनेकै हुँ आगो ~लगाएर हुन्न
बताऊ क-कस्को भयो खै भलाई ।।

सोतीपसल झर न माया म नि आउने छु
ढाटी घरमा काम परेथ्यो भनी आउने छु
जिन्दगीको खुशी साट्न पाउदी ढिकैमा
प्रेम भित्र शितल पवन बनी आउने छु ।।

धुवाँ सँगै मिसिएर गए सारा खुशीहरू
बरफ झै चिसिएर गए सारा खुशीहरू
जोगाउँन खोजे पनि बाध्यताको जाँतो भित्र
घुन जस्तै पिसिएर गए सारा खुशीहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.