नौलो शासन नाम फेरिनु कुनै ठूलो करा होइन
आओस् दैनिक एक पेट सबले निर्धक्क खाने दिन
केमा स्वर्ण भविष्य कोर्नु युगले देशै हरायो भने ?
आमाको सिउँदो सजिन्छ कसरी केशै हरायो भने ?
माटो चस्स दुखेर रोइरहँदा दुख्तैन छाती भने
बन्ला को असली प्रजा मुलुकको सोच्तैन जाती भने
मान्ला को सरकार राष्ट्रहितको कोर्दैन खाका भने ?
मौरीको कुन अर्थ हुन्छ महले भर्दैन चाका भने ?
जस्तै राज्य पवित्र पावन बनोस् जस्तै रहोस् निर्मल
छन् सञ्चालकमै दुराशय भने खस्कन्छ चाँडै तल
हुन्नन् नीति पवित्र उच्च तहकै सोचाइ कालो भए
बस्लान् दूध र भात शुद्ध कसरी भान्से बिरालो भए ?
बोली नाम नवीन होइन यहाँ चाहिन्छ इच्छाबल
त्यस्ता पात्र चुनेर माथि लगियून् जो छन् प्रजावत्सल
यो माटो बदलिन्न निष्फल अहम् बोकेर बाँच्यो भने
राम्रो नृत्य सिकिन्न टन्न मदिरा धोकेर नाच्यो भने !
हेराहेर गरेर हुन्न सबमा चाहिन्छ सञ्चेतना
ल्याओ जागृतिका मुना तरुण हो कोरी नयाँ योजना
आदर्शे सपना लिई उदयको जाँदैन यात्रा पर
टोखाको उपियाँ पतिङ्गर चढी पुग्दैन घण्टाघर
जिल्ला प्रान्त कि पालिका बढिरहून् चाहे कुनै अञ्चल
हामीभित्र नसल्कियून् विमतिका वैषम्य दावानल
हामी भौतिक साँधझैं फुटिरहे टुक्रिन्छ झण्डा पनि
केले धान्दछ लाज चीरक झरी बाँकी रहे कन्धनी ?
माटो भौतिक मात्र होइन सदा जोडिन्छ आत्मासित
माटो साधन मात्र होइन बुझे यो साध्य हो पूजित
माटो भोग्य पदार्थ ठान्छ शठ जो ऊ हो धराभक्षक
थाकेको मृगसामु सिंह उभिए बन्दैन संरक्षक !!
छन्दः शार्दूलविक्रीडित
