रुद्र ज्ञवालीका केही मुक्तकहरूः

Rudra, Gyawali, रूद्र ज्ञवाली , pallawa, पल्लव

रूद्र ज्ञवाली

मन तोड्छन् आफै र गाँस्ने कला सिकाउँछन्
रुवाएर सधैभरि हाँस्ने कला सिकाउँछन्
गुरु जस्तै लाग्छन् मलाई मेरा प्रतिद्वन्द्वीहरु
जसले सधै दुख दिई बाँच्ने कला सिकाउँछन् ।

कसैले लगाएका खोट पनि प्रिय हुँदा रहेछन्
पतझड सिक्रा बोट पनि प्रिय हुँदा रहेछन्
जता लग्यो त्यतै बग्ने मनै त हो यो आखिर
कसैले दिएका चोट पनि प्रिय हुँदा रहेछन् ।

 

कसरी बुन्थ्यौ र जाले रुमाल कुरुश नभएको भए
टल्काउँथ्यौ कसरी दन्त लहर बुरुश नभएको भए
तिम्रा जस्तै प्रश्नहरु छन् मेरा पनि तिमीसँग
कसरी चलाउँथ्यौ यो सृष्टि पुरुष नभएको भए ।

आफ्नै धरातल र माटोको सम्बन्ध हुनुपर्छ
निमुखा मान्छेहरुको आवाज बुलन्द हुनुपर्छ
जून र फूल मात्रै लेखेर अव हुँदै हुँदैन
प्रत्येक सिर्जनामा पसिनाको सुगन्ध हुनुपर्छ

रुढ यो चालचलन बदलिनु पर्छ
चाकरी र अभिनन्दन बदलिनु पर्छ
फेरिदैमा केही हुँदैन मेचका अनुहार
श्रमिकको जनजीवन बदलिनु पर्छ

नाङ्गो हरले कपडा पायो कि पाएन
मजदूरले दुइछाक खायो कि खाएन
प्रश्नैप्रश्नको देशमा अर्को प्रश्न मेरो
परिवर्तन झुपडीमा आयो कि आएन

माम हैन गरी खाने काम माग्दा पनि
श्रम अनुसारको ज्याला दाम माग्दा पनि
यत्ति कुरामा किन झर्किन्छनस् ए सरकार
अँध्यारो वस्तीमा थोरै घाम माग्दा पनि

पुर्खाहरुले देखेका सपना सिद्धिका निम्ति
गास वास तथा जीवनको वृत्तिका निम्ति
कति लेख्नु वितृष्णा मात्रै भो रहर पुग्यो
लेखिनु पर्छ साहित्य अव समृद्धिका निम्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.