वैरीका शिर छाटनी रगत हो, झुक्दैन नेपाल यो
ज्यानै दिन्छ बरु बढेर अब ऊ, लुक्दैन नेपाल यो
पानीको मुल हो ! झरेर रसिलो ,सुक्दैन नेपाल यो
राम्रो गर्छु भनेर फेरि किन हो ,जाग्दैन नेपाल यो ?।१।
भूगोलै जब खुम्चिए र सकिए फुक्दैन नेपाल यो
भन्दा दु:ख छ यो सहेर मनमा बढ्दैन नेपाल यो
चुम्दैछन् शिखरै विकास पथमा, सर्दैन नेपाल यो
देखेरै जब ऊ अरु प्रगतिमा ! जाग्दैन नेपाल यो।२।
आफ्नो गौरब राखने हरघडी , देखिन्न नेपाल यो
बिक्रीको मगजै लिएर हिडिए, माजिन्न नेपाल यो
आफ्नो मात्र भलाइ सोच मनमा,जाँचिन्न नेपाल यो
गोर्खे उठ्न अहो ! बढेर अब लौ बाँचिन्न नेपाल यो।३।
कोठामा धसिए मसी कलमले,गाझिन्न नेपाल यो
ठूल्ठूला गफ त्यो गरेर मनमा पाजिन्न नेपाल यो
आबिष्कार भए सबै तिर कही दाजिन्न नेपाल यो
बाघैले लुछिए कुना सुकिगयो गासिन्न नेपाल यो ।४।
हेर्दा खेरि अचम्म लाग्छ कहिले, लम्कन्छ नेपाल यो
सारै दुःख मान्छु लौ म कहिले चम्किनछ नेपाल यो ?
मेरो भित्र भरिन्छ लौ हृदयमा टासिन्छ नेपाल यो
बाच्नै पर्छ उठी जाग मिलेर नै! साँचिन्छ नेपाल यो ।५।
शार्दूलविक्रीडित
शंकर सिलवाल
धादिङ सिद्धालेक गा.पा, नलाङ -१,
