तिम्रो उचाइ हेर्दै धेरै तलबाट
नूतन अनुभूतिको तरङ्गमा
महासागर बिचमा ठिङ्ङ उभिएर
मैले प्रतिविम्बमा चलमलाएको देखेँ
एउटा जडवत् सालिक,
ए स्वतन्त्रताकी प्रतिमा !
तिम्रो हातको पुस्तकको नाम के हो ?
तिमीले समातेको मसालको उज्यालो
कसका लागि हो ?
पुँजीवादको हवाला दिँदै
अमेरिका गर्व गर्दछ–
र तिमीलाई उचाल्छ समुद्री घेराभित्र
न्युयोर्क तिम्रै प्रदर्शनमा भिड निम्त्याउँछ
हरेक बिहान सूर्योदयसँगै
अनि सूर्यास्तसम्म
राजस्व सङ्कलन गर्छ अकूत
तिमीलाई कुन कुन कालिगढले जन्माए
सीपको अनन्त गर्भबाट?
र कुन कुन महाबलीले पुर्याए
त्यो अग्लो पिरामिडमाथि?
मलाई जवाफ चाहिएको छ ।
