कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “खुट्टा उचाली बढौँ”

माटो गन्धक ले तथा गरल ले,खप्नै नसक्ने भयो ।
बाटो फोहोर ले हिलो र मल ले,हिँड्नै नसक्ने भयो ।।
हाम्रो दूषित राजनीति छल को,उत्तुङ्ग चुच्चो बन्यो ।
पार्टी मा दल मा निकृष्ट खल को,व्यक्तित्त्व उच्चो बन्यो ।।

काया फेर्नुछ भन्दथ्यौ मुलुक को,क्या जोश भर्थ्यौ हिजो ।
मास्छौँ दु:ख दरिद्रता सब भनी,उद्घोष गर्थ्यौ हिजो ।।
त्यो बोली अब के भयो र जनता,झुक्याउँदै छौ अब ?
आमा का पिँडुला र ढाड शिर मा,मुक्याउँदै छौ अब ?

 

होलान् जो पथभ्रष्ट यो मुलुक मा,ती पर्छ रित्याउन ।
होलान् जो नकटाहरू मुलुक मा,ती पर्छ सिद्ध्याउन ।।
हावा दूषित पार्छ जो मुलुक को,सम्पन्नता रोक्दछ ।
पाता कस्नुछ ढाड भाँच्नुछ छिटो,जो भ्रष्टता बोक्दछ ।।

जालो च्यात्नुछ माफिया र डन को,नेपाल निर्माण मा ।
आगो बाल्नुछ ती कपूत जन को,सम्मान मा शान मा ।।
खुट्टा देख्नुछ सर्प को अब छिटै,त्यो तस्करी रोक्नुछ ।
आफ्नो जेजति शक्ति हो मुलुक कै,निर्माण मा झोँक्नुछ ।।

हाम्रा पाउ फलाम का हुन पुगून्,गन्तव्य चुम्ने भए ।
इच्छाशक्ति कलाम का हुन पुगून्,सर्वोच्च बन्ने भए ।।
सारा ती व्यवधान-कण्टकहरू,फाँडी उकाली चढौँ ।
आशादीप जलाउँदै सुर लिँदै,आत्मा उचाली बढौँ ।।
छन्द: शार्दूलविक्रीडित

२) “हाँस्नेछ यो देश नै “
(विद्यार्थीका लागि उपयोगी)
ज्ञानी बालक – बालिका बनिदिए,यो देश बन्ने थियो ।
सच्चा ज्ञान र सीप ले बलिदिए,यो देश बल्ने थियो ।।
सारा बालकबालिका मुलुक का,हुन् भोलि का बाहक ।
हुन् अन्धो युग का सफा नयन ती,हुन् देश सञ्चालक ।।

आशा का अनुहार बालकहरू,हुन् देश का आश नै ।
नेपाली मुटु का अथाह बल हुन् ,हुन् आत्म-विश्वास नै ।।
बाधा सामु पहाड बन्न तिनले , अभ्यास मा लाग्नुछ ।
आँधी सामु हिमाल बन्न अहिल्यै , सङ्घर्ष ले पाक्नुछ ।।

धर्ती स्वर्ग बनाउँछन् सहज नै,सुध्रे भने बालक ।
धर्ती नर्क बनाउँछन् समय मै , बिग्रे भने बालक ।।
धर्ती को हर उन्नति – प्रगति का, आधार हुन् बालक ।
सेवा – सङ्गति का विवेक – मति का,आगार हुन् बालक ।।

पढ्छन् बालक जो कडा सकस ले,सङ्घर्ष ले होड ले ।
चढ्छन् उन्नति को महा शिखर मा,बेतोड – बेजोड ले ।।
ती ती सक्षम बन्दछन् र युग नै,हाँक्ने युवा बन्दछन् ।
भावी उच्च समाज भित्र अगुवा , आमाबुबा बन्दछन् ।।

आफ्नो देश निमित्त शिल्प र कला,नौला – नयाँ सिक्नुछ ।
आशापूर्ण बनेर सागर मथी , पीयूष नै झिक्नुछ ।।
हाँस्दै बालक ले सिके यदि भने , हाँस्नेछ यो देश नै ।
खेल्दै ज्ञान लिए दिए यदि भने , नाच्नेछ यो देश नै ।।
छन्द: शार्दूलविक्रीडित

३) “ब्रह्मास्त्र ले हान्नुछ”
ऊर्जा का नवचेतना लहर हो ! चम्केर विद्युत् बल !
इच्छा का अनमोल हे रहर हो ! अङ्गार जस्तै जल !!
तिम्रो सक्रियता बढ्यो यदि भने, बल्नेछ धर्तीतल !
आफ्नो सिर्जनशक्ति ले मुलुक मा,ल्याओ नयाँ हल्चल !!

हे विद्युन्मय तेजिला मनहरू ! तातेर आओ तिमी !
पर्दा भित्र हुने प्रदूषित कुरा , च्यातेर जाओ तिमी !!
तिम्रा भीषण कार्य ले मुलुक को , आकाश होस् कम्पित !
तिम्रो न्याय दिने कला – प्रविधि ले,यो देश होस् स्तम्भित !!

भित्ता जर्जर छन् जहाँ मुलुक का,भत्काइदेओ बरु ।
छाना चर्चर छन् जहाँ पुग उहीँ ,लत्काइदेओ बरु ।।
यो विध्वंस बनोस् नयाँ सृजन को, आधार पाटो बनोस् !
नौलो सोच बनोस् महान् प्रगति को , विस्तीर्ण बाटो बनोस् !!

हाम्रा काम गराइ सुस्त गति छन् ,ती वेगवान् गर्नुछ ।
रक्सी को लत बाट मन्द मति छन् , ती शक्तिमान् गर्नुछ ।।
हाम्रा संस्कृति भित्र का मलहरू,खोजी गरी फाल्नुछ ।
भ्रष्टाचार लुकाउने महल मा , ब्रह्मास्त्र ले हान्नुछ ।।

चिर्नैपर्छ यहाँ यथास्थितिहरू,झन् अग्रगामी हुन ।
फिर्नैपर्छ नयाँ परिस्थितिहरू,झन् ऊर्ध्वगामी हुन ।।
शैली छन् जति व्यक्ति केन्द्रित जहाँ ,आगो लगाओ छिटो ।
नेपाली मन मा तथा मगज मा, खाँडो जगाओ छिटो ।।

छन्द: शार्दूलविक्रीडित,
देवघाट, चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.