हिरा भट्ट का जोर कविताः

Spread the love
Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) गङ्गामाया
पैलो टुक्रा मृदुल दिलको पुत्रका लास साथ
दोस्रो टुक्रा पति-निधनको आँसुका सिन्धु माझ
तेस्रो टुक्रा दिल चुँडिलग्यो ज्येष्ठ-मातृत्व चङ्गा
टुक्राटुक्रा दिल सँगसँगै बग्दछिन् मौन गङ्गा
।१।
तड्पी तड्पी अगणित व्यथा घाउमा वेदनामा
भिक्षा रूपी मन मनुजता माग्दछिन् एक आमा
लाखौं बन्छन् नयनजलमा आशका दिव्य फोका
प्यासी गङ्गा मनुजदिलको माग्दछिन् आज थोपा
।२।


फुक्दै ल्यायो रण बिगुलले छाल मातृत्व भित्र
हारे हार्ला सकल युगले जित्छ गङ्गा पवित्र
कुल्ची हिड्ने कुसुमलतिका क्रूर हावा विरुद्ध
गङ्गामाया निरस युगको लड्दछिन् अश्रुयुद्ध
।३।
पैल्हो आशा मृदुनयनको टेक्छ माथा हिमाल
दोस्रो आशा टुलुटुलु हरे हेर्छ छाती पहाड
तेस्रो आशा रविकिरण झैँ पुग्छ जंघा तराई
गङ्गामाया करुण पलमा बग्दछिन् छट्पटाई
।४।
फोक्सो काँप्यो नित पवनले सुस्तरी सास फेर्छ
ऐया भन्दै शिथिल ममता झस्किँदै कोख बेर्छ
को लेख्ला खै मनुजदिलमा शब्द “आमा चिरायु”
गङ्गामाया मनबगरमा खोज्दछिन् प्राणवायु
।५।
छन्द: मन्दाक्रान्ता
अनेसास बोस्टन च्याप्टर द्वारा आयोजित विश्व स्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविताः

२) को हुन् गङ्गा ?
को हुन् गङ्गा किन हृदयमा नित्य डेरा जमाइन्
चिर्दै छाती किन कवि मसी लेखनीमाझ आइन्
थोपा चुम्दै किन कलमले मूलको गर्छ खोजी
आमा गुन्ज्यो किन गगनमा शब्दमा शब्द रोजी
।१।
फुस्रो रेखा नयन जलको टल्किने व्योममाथि
पग्ली पग्ली दिल बिच बग्यो एक मातृत्व छाती
मर्स्याङ्ग्दीको तट बिच फुली काव्य धारा छरूँ कि
चेपे मादी जल सँगसँगै गण्डकीमा झरूँ कि
।२।
उर्ली बग्ने सकल सुरिला छाल नारायणीमा
छाम्दै छाम्दै दिल कलमले एक मातृत्व सीमा
बग्दै आयो शिशुकलम यो साउने भेल साथ
हीरा बन्ला सहज कसरी कोइला को समाज
।३।
आँखा रुन्छन् प्रतिपल हरे! साथमै रुन्छ आँसु
ढुङ्गा बन्दै अब म कसरी आँसुका साथ हाँसूँ
केर्दाकेर्दै निरस कविता लेखनी आज रुन्छ
गङ्गा बग्ने दह गहघडा सिन्धुमा आँसु धुन्छ
।४।
गोर्खा पोत्ने किन सुर लियो बैतडीको मसीले
बग्दा बग्दै दिल सँगसँगै भावनाको कसीले
सोच्दा सोच्दै मन मगजमा उब्जिए लाख प्रश्न
हेर्दाहेर्दै कविमन उड्यो गण्डकी मूल पस्न
।५।

छन्द-मन्दाक्रान्ता
– हिरा भट्ट
जन्मस्थल-पन्चेश्वर-६,बिजुल,बैतडी
हाल-बुटवल,रुपन्देही
सम्पर्क-hirabhatta@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *