अामोदी का जोर गजल

Spread the love
Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बहरबद्ध गजल– १,
युगका युग नै कति युद्ध लड़ें, मन-तार टुटे म सिऊँ कसरी ?
न त टेक्नु, समाउनु ठाउँ कतै अझ भास त्यही उभिऊँ कसरी ?

श्रम-शोषित भै ठगिएँ जसरी म हिसाब गरेर लिऊँ कसरी ?
रचनात्मक कार्यबिना म यसै मन माफ़िक़ चल्न दिऊँ कसरी ?

किनमेल छुटे र अभाव बढ़े, अझ दुर्घटना उसमाथि भए ,
सपनाहरु ती बटुलेर सबै जनक्रान्ति गरी दरिऊँ कसरी ?

 

मन-मन्दिरमा भरिंदै दरिंदै दिलदार बनी कसरी छरिऊँ ?
मृदु-चिन्तनका नव-द्वार हुँदै अधिकार लिंदै म जिऊँ कसरी ?

मन-जीवन रम्य बनाउन है अझ सभ्य र शान्त भएर यहाँ-
नव सिर्जन भर्न भनेर सधैं भन ‘केशव’ भै कसिऊँ कसरी ?

छन्द: दुर्मिला, बहर : मुतदारिक मुसम्मन मख्बून मुदाइफ
गण संकेत: ॥ऽ ॥ऽ ॥ऽ ॥ऽ ॥ऽ ॥ऽ ॥ऽ ॥ऽ
सूत्रसंकेत : ११२११२ ११२११२ ११२११२ ११२११२

गजल– २,
कतै घुम्न जाँदा शहरमा हराएँ-
हरे ! जिन्दगी नै रहरमा हराएँ ।

थिए चाहका पोखरी मात भर्ने,
त्यही पौडिदैथें जहरमा हराएँ ।

भयो स्वप्नजस्तो चली भ्रान्ति धेरै-
बसी तास खेल्दा नहरमा हराएँ ।

थिचे वेदनाले अँधेरो बढेझैं –
हुँदा बेसुरे झन् कहरमा हराएँ ।

सुनाऊँ म खै के कथा जिन्दगीका-
कहरका तिनै हर प्रहरमा हराएँ ।।

Keshav Raj Amodi
रत्ननगर– १३, माधवपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *