मेरो कैशोर्यकाल

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

नानाचाचा सब पर भए, लेखनी साथ आयो
केही कापी अनि मन सयौं सिर्जनामा रमायो
खायो,खेल्यो तर कुलतमा चित्त जाँदै गएन
वाग्देवीको परम करुणा, विघ्नबाधै भएन

यादै प्यारो परिजनहरू, चाखिला दाजुभाइ
ओल्लोपल्लो घर पनि गई अल्मलिन्थ्यौं रमाई
भोकाएमा घरतिर कुद्यो, मिष्ट खाना तयार
इन्द्रेनी झैं रँगबिरँगका दृश्य हाम्रा हजार

 

हामी एकाघर मिलिजुली बस्तथ्यौं दाजुभाइ
विद्या ल्याई घर भरिदिने तीव्र इच्छा पलाई
झोला, गुन्टा लिइकन हिँड्यौं दूर वाराणसीमा
साँच्चै पो हो कथन, मनको वेगको छैन सीमा

गङ्गाजीको तट नगर त्यो पुण्यमा ध्येयसाथ
खोजी जान्छन् कति जन जहाँ बस्तछन् विश्वनाथ
त्यै जग्गामा अति सहजले ज्ञान पाइन्छ भिक्षा
शिक्षार्थीको घर पनि त्यही हो जहाँ मिल्छ शिक्षा

धेरै शब्दावलिसित यता आउने देववाणी
हाम्रो भाषाकन सरसता ल्याउने देववाणी
आत्माभित्रै अमरकविता पाउने देववाणी
मानौं त्यो हो नवनव उषा गाउने देववाणी

हाम्री भाषा अमरसरिता तुल्य सर्केर जान्छिन्
भावी पुस्ताकन पनि दिशाबोधको शक्ति दिन्छिन्
यी हुन् हाम्री विगत दिनकी जायमाना पुराणी
मेरो आस्था यिनसित रहोस् फैलियोस् नित्य वाणी

त्यस्तो भाषासित अलिअलि प्रेम गर्ने बहाना
पढ्नै जाने समुचित थलो सोचिएको जमाना
लागेका हौं गिरिशनगरी दिव्य काशीपुरीमा
तिर्खाएका हरिण जसरी पुग्दछन् निर्झरीमा

पेशालाई अधिक छरितो पार्छ रे आङ्ग्लभाषा
मानौं हो त्यो पनि बहुमुखी भारतीको तमासा
त्यो टिप्नाको अवसर मिल्यो नव्य काशीपुरीमा
मानौं मेट्यो तृषित जनले तिर्सना निर्झरीमा

त्यो वेलामा अवसर बुझी काव्यमा भाव खारी
बस्ने मेरो नियत गुरुले फेर्नुपर्ने बिचारी
बोलेको त्यो अभिमत कि वा मार्गनिर्देश कस्तो
मानौं मेरो जुनि अब त्यसैबाट चल्नेछ जस्तो—

ऐले पढ्ने समय उसकै लागि छुट्याइदेऊ
आफ्नो जेमा रुचि छ, मुटुमा हाल त्यो राखिदेऊ
वेला आएपछि उससितै खेल वा हाँस नाच
बेला पक्डीकन जिउनुका ध्येय सोचेर बाँच !

पढ्दा पढ्दै पनि गरिरही जीविकाको धरालो
धान्दै गर्जो श्रम र तपले बाँच्नु छुट्टै उकालो
आफ्ना सीमा पनि मगजले ख्यालमा राख्नु कस्तो
मानौं विद्या लिन अति कडा जाँचको पास जस्तो

बाबा रातोदिन पर कुनै तत्त्व खोज्ने सुपात्र
आमा भान्सा अनि दिउसका काममा व्यस्त मात्र
होऊँ टाढा—नजिक म भने शब्दका कुञ्जभित्र
पन्छी जस्तै चुलबुल अहो ! सृष्टि कस्तो विचित्र

जम्मैलाई प्रकृतिजननी बाँड्दछिन् काम भिन्नै
यौटाभन्दा फरक त्यसले भेउ पाइन्न चिन्नै
चल्छन् सृष्टिक्रम पनि लगातार अज्ञानतामा
सोही चिर्नाकन त यतिका श्लोक आए कथामा

बढ्दैं पढ्दै दिनदिन गए, नौथरी रङ्ग आए
बाआमाका गतिविधिसितै चेतना चल्मलाए
आओस् नौलोपन सृजनमा मूल्य ता फेरिएन
भन्ने मेरो कलम कहिल्यै द्वन्द्वमा अल्झिएन

पढ्नै पर्ने अझ थप कुरा प्राच्य पाश्चात्य बाँकी
ती जानेरै हृदयचलनीबाट छानेर राखी
पार्नू संस्कारित सिलसिलाबद्ध आफ्नै कहानी
शिक्षाले नै मनुज सुनको शैल उक्लन्छ जानी

छाडा बन्दै कति कति युवा छन् जँड्याहा जुवारी
कोही केटीसित छिहिलिने चाल एकान्त पारी
त्यस्तैलाई पनि अघि लिई हिँड्दथे धुन्धुकारी
रुन्थ्यो मेरो कलम कहिले न्यायका आँसु झारी

आफ्नो आस्था अनि समयको सुन्न आवाज मात्र
सक्ने होला मनुज जब त्यो हुन्छ आदर्श पात्र
यस्तै खेल्थे जब हृदयमा भावना बारबार
मानौं हाम्रा गतिमति भए सत्यबाटै तयार !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *