‘मार्सी चामलको भात’

Milan, Sameer, Syanja, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

आँखा नदेख्ने
कान नसुन्ने
अल्जाइमरले ग्रस्तै भएको
हाम्रो देशको विवेकहीन बुढो शासकले
वर्षौंदेखि हामीलाई
सुख,शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा सपना
दिनुसम्म दुख दिएको छ।

दिग्भ्रमित विचारको
विष पिलाइदिएर हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एकापसमा
र त फसिरहेका छौं हामी अहिलेसम्म
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर।

 

हाम्रै काधलाई भरयाङ बनाएर
चढेपछि आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा
कसरी हराउँछ उसको होस?
किन गुमाउँछ उसले चेतना?
कहाँ चर्न जान्छ उसको बुद्धिविवेक?
किन लाग्दैन उसलाई
अलिकतिपनि लाजसरम?
अनि कसरी रुच्छ उसलाई
हाम्रै करङको दाउरा बालेर
हाम्रै रगत र पसिनामा पकाएको
रातो मार्सी चामलको भात?

भोट खसाल्नुभन्दा पहिले
चर्का नारा लगाउदै आएर मध्यरातमा
व्युझाएर हामीलाई
हाम्रो भोट जति सबै
सोहोरेर लगेकै दिनदेखि
हामीलाई नै फेरि
मुख सम्हालेर बोल भन्छ।
कान थुनेर सुन भन्छ।
आँखा चिम्लेर हेर भन्छ।
अनि निदाउछ आफू कुम्भकर्णजस्तै
सत्याग्रहको विरुद्धमा विषबमन गरि
अपनवायु छोडेर अपच डकार्दै
रातो मार्सी चामलको भात खाएर।

किन दुख्दैन उसलाई हाम्रो घाउ?
किन देख्दैन उसले हाम्रो असह्य पीडा?
किन सुन्दैन उसले हाम्रो हृदयको चीत्कार?
के ले बनाउछ उसलाई संवेदनाशून्य?
अनि किन चाहिदैन उसलाई हाम्रो साथ
मात्रै भोट हाल्ने बेलामा बाहेक?
किन बेच्छ आफ्नै अस्तित्व?
अनि खान्छ मार्सी चामलको भात!

इतिहासको मुलबाटो बिराएर
दिग्भ्रमित भइ
किन हुँदैछ
स्वार्थको लम्पट दास?

सडकको चिसो भुइँबाट उठाएर
सत्ताको न्यानो कौशीमा पुरयाउनेहरुलाई नै
धारेहात लगाएर
किन दिदैछ यसरी चुनौती?
र गर्दैछ
भर्खरै जरा पलाउन थालेको
लोकतान्त्रिक गणतन्त्रको
पखेटा काट्ने अदितीय अभ्यास!

मार्सी चामलको भात खाएर
कसको आदेश तामेल गर्दैछ?
अनि जप्दैछ
अहङ्कारले अभिसिन्चित
दम्भको श्रीपेच पहिरिएर
माफियाको मुल मन्त्र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.