शान्ति अधिकारीका दर्जन भन्दा बढी मुक्तकहरूः

Spread the love
Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ठुलाबडा छाडी साना~~हेर्ने बानी छैन तिम्रो
भकारी छन् टन्न दाना ~हेर्ने बानी छैन तिम्रो
मै जान्ने र सुन्ने भन्दै ~ रचे’नी महाभारत
तर त्यस्को भित्री पाना ~हेर्ने बानी छैन तिम्रो ।।

कोरेनी मेटिन्छन यी भाग्यका रेखा
कसरी जोगिन्छन यी भाग्यका रेखा
बनाएर गाढा ~~ खुशी भर्दा पनि
दु:खमै पुरिन्छन~ यी भाग्यका रेखा ।।

 

बुकी फुल्यो पाखा भरी हृदयमा तिम्रो माया
राखौँला नमेटिने गरी~ हृदयमा तिम्रो माया
सात समुन्द्र तरी गयौ आउने हो कि हैन
कहिले घाम बन्छ झरी हृदयमा तिम्रो माया ।

हिँड्दै थिए सोझो बाटो मोड आयो कसो गरुँ ?
जिन्दगी यो घटाउदा जोड आयो कसो गरुँ ?
शान्त देखिएता पनि झुक्याएर अचानक
समस्याको सुनामी बेतोड आयो कसो गरुँ ??

तिज आयो दशै अनि तिहार पनि आउला
भन्थ्यौ प्रिय धन कमाई उ झै म नि आउला
झ्याउकिरीको आवाज सुन्दै बाटो कुर्दा तिम्रो
लाग्छ आसा खोटो भाग्य सुन्दर बनी आउला ।।

बोल्नै छाडी घमण्डी भन्ने आरोप नलागोस्
व्यस्त हुँदा त्यो मन भित्र बितृष्णा नजागोस्
बाँचुन्जेल योमुटुको ढुक्ढुकीमा राख्न खोज्दा
अनेक आरोप लाँउदै माया कतै नभागोस् ।।

पुज्थे देउता मैले पनि अभाव हट्ने भए
गरिब माथी पर्दै आ’को दबाव हट्ने भए
लागे पुगे गर्न हुन्थ्यो यहाँ देश बिगार्नेको
साँच्चै मुहार छोप्ने कालो नकाव हट्ने भए ।।

फाटेको त्यो चोली झैं मन टाल्न सक्छौ र ?
तेल बिनाको टुकी न हुँ बाल्न सक्छौ र ?
भँवर बनी बैँसालु फूल चुम्दै हिड्नेले ।
दिँदै साथ यो जिन्दगी उचाल्न सक्छौ र ?

खेत बारीमा काम गरेर खाने दिन गए
बाँझो पल्टाई बिऊ छरेर खाने दिन गए
बेईमानिको कालो धन्दा बढ्न थालेपछि
शहरबाट गाउँ सरेर~ खाने दिन गए ।।

सक्छौँ भने बरु सिकाउँ हतोत्साहित नपार्ने कि!
अर्काको मात्र खुट्टा तान्ने नित्कृष्ट बानी सपार्ने कि !
सबै मपाई बन्न खोजे तपाईं भन्ने को भैदिन्छ ?
अस्तित्वमा ठेस पुर्याउने मान्छेलाई झपार्ने कि !

अन्तिम घडी फेरिएको सास भो जिन्दगी
मलामीले घेरिएको ~~~लास भो जिन्दगी
बैँस छदाँ हाईहाई भयो ~~~बैँस ढल्के पछि
रित्तो खालमा फालिएको तास भो जिन्दगी ।।

कान थुनिएका छन् अनिआँखा फोडिएका छन्
बुझ्नै सकिएन क -कस्का मुटु जोडिएका छन्
केहि त गर ए….देश हाँक्छौ भन्ने सारथी हो
बितृष्णाले आफ्नाहरु नै ..अन्त मोडिएका छन् ।।

तिम्ले वारी मैले पारी भने जस्तो भए पो त
फेरी पनि भाका सारी भने जस्तो भए पो त
किनारामै रोकी राख्यौँ जिन्दगी यो तार्ने नाऊ
व्यर्थै दुई आत्मा मारी भने जस्तो भए पो त ।।

हाड बिनाको जिब्रो हजुर जे बोल्दानी हुनी
ईज्जत ढाक्न ला’को लुगा जहाँ खोल्दानी हुनी
राजनितीक तमासा हो हेर्ने जनता छन्
आफ्नो फाईदा हुने भए घर पोल्दानी हुनी ।।

गाँस काटेर शासक पाल्ने तन्त्र रोजिएछ
जानाजानी सुन्दर घरमा आगो झोसिएछ
अजङ्गको हात्ती भयो पाल्नै गाह्रो सङ्घियता
ब्यर्थै हिजो सडक भरी रगत पोखिएछ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *