फेरियो जमाना

Bishnuhari, Poudel, विष्णुहि पौडेल, pallawa, पल्लव

विष्णुहि पौडेल

वामे सर्न सिकें लगाउँन जुर्यो भोटो ठुटे खद्दर ।
जुत्ता, चप्पल, जीन पाउनु कहाँ निर्धो थियो खप्पर ।
टीका,गाजल तीनतर्फ चुलठी लर्काउँथें फुर्किंदै ।
मेरो बाल दशा दिशा बदलियो फेर्दै प्रथा, हुर्किंदै ।।

गुच्चा किन्न थिएन दाम, म भुलें रिठ्ठा,मट्याङ्ग्रासित ।
सिक्थें बाह्रखरी किताब न कपी पाटी खरी नै ठिक ।
पीठाले नुन साटिने दिन थिए पैसा थियो दुर्लभ ।
चाँदी मो.रू. लुके र कागज बन्यो पैसा हलुङ्गो अब ।।

 

किन्थे केवल नून,तेल,कपडा धाएर ठोरीतिर ।
उब्जन्थ्यो अरु थोक गाउँ घरकै पाखा पखेरानिर ।
हुन्थ्यो गोरस सागपात घरमा बारी र बाली झुली ।
ऐले किन्छु विषादियुक्त,युगले फेर्यो नयाँ काँचुली ।।

गर्थे बर्तुन आठ वर्षतिर नै ऐले बिहेको सँगै ।
जप्ने मंत्र सिकाउँथे र सिकियो बिर्से युवाले यसै ।
आमाले पनि भात खान नदिने धोती नफेरे तक ।
जाँदा जन्त उठें, चुठे अरु उठी, खानै छुटी थक्थक ।।

कल्स्यौडी बरियाँतको अघि हिडे बाजा बजे नौमती ।
डोलामा दुलहा बढाइँ गरिने जन्ती मनग्गे कति ।
घ्यूका साथ चिनी दुना र टपरी दिन्थे मिठो भोजन ।
ऐले दुख्तछ पेट भोज छ नयाँ ढर्रा र बोक्रेपन ।।

छोडे सिन्दुर ऐवती युवतिले हिंड्छन् कुमारी बनी ।
रानी हार, सुवर्ण-सूत्र, तिलरी लाए हुने रे धनी ।
जेठाजू कुन हो र देवर सगा आमा र सासू कुन ?
केही भेद रहेन के ठिक भयो के देखियो बैगुन ?

छोरी दिन्छ बुबा गुनी मनमनै हेरेर टौवा, घर ।
ऐले जागिर,सीप के छ ‘डियने’ जाँचिन्छ बानी,स्तर ।
दिन्थे गोडधुवा हट्यो चलन त्यो गाग्री,घडा,ताउलो ।
खोज्छन् कार टि भी अचेल नदिए सम्धी हुने न्याउरो ।।

भान्सामा कुखुरो पस्यो दिनदिनै छोडे जनै लाउँन ।
यौटा बालक जे भए पनि पुग्यो छोड्दै गए पाउँन ।
अंग्रेजीतिर लम्किएर दुनिया पौरस्त्य विद्या छुट्यो ।
डेरीबाट किनिन्छ दूध घरको लैनो बकेर्नो टुट्यो ।।

छोडे मानिस गाउँ बस्न शहरी बन्दै गयो फेसन ।
पीठो खान नहोस् किनेर मुखमा दल्ने भए बेसन ।
लोग्ने जान्छ विदेश हुन्न घरमा हेर्ने बुहारी पनि ।
बा आमा बिचरा चरा उडिगए सुर्ता परेली मुनि ।।

बैरंगी भनिने र का.स.,मरुवा चल्थे अनेकौं चिठी ।
हल्कारा र हुलाक आज थलिए आ.वा.भयो घिट्घिटी ।
ऐले कागज नै हराउँछ कि भो के लेख्नु हाते चिठी ।
आईन् नेट परी विना टिकट द्यौ सन्देश मान्छे किटी ।।

चेपेको जलधार नै बदलियो पानी बग्यो बेसरी ।
ऐले भौतिक मोजमा छ दुनिया संझन्न कोही ‘हरि’ ।
होला क्यै गुन केही बैगुन दुबै नौलो जमानासित ।
के ठोकौं कुहिनो कडा छ पहरो जोरी नखोजौं कि त ?

छन्द: शार्दूल विक्रीडित
– विष्णुहरि पौडेल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.