जयदेव गोविन्द का जोर कविता

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) ठोकाइ पुराण
ठोकी नित्य बनाउँछन् अति तिखा औजार लोहारले
पिट्दै स्वर्ण सुनारले पसलमा भर्छन् अलङ्कारले
ठोक्दै पत्थर बन्छ भव्य प्रतिमा जीवन्तजस्तै बनी
ठोकेमा पछि बन्छ स्निग्ध, बलियो पेटी तथा आँगनी

गर्जी मेघ गुडुङ्ग गर्छ पहरा थर्कन्छ सातो लिई
वर्षामा भयभीत पार्छ खहरे आवाज चर्को दिई
ठोके पस्छ र काठ छेड्दछ किला ठेगानमा पुग्दछ
डट्दै तर्क विचार ठोक्न नसके मान्छे स्वयं झुक्दछ ।।

 

बाठो भाषण ठोक्छ मास बटुली ताली अरू ठोक्दछन्
भोकै पेट किसान जुट्छ श्रममा बाली अरू ठोक्दछन्
ढाक्छन् भूमि खनेर काट्न नसके बेकारका झारले
गर्जी शब्द डटेर ठोक्न नसके चिन्दैन संसारले ।।

ठोक्नेकै फलिफाप हुन्छ कलिमा जो ठोक्छ ऊ बढ्दछ
निर्धो वा कमजोर ठोक्न नसकी एकान्तमै लड्दछ
घोडा शीघ्र दगुर्छ पीठ, शिरमा कोर्रा उठाएपछि
छोरो टेर्छ कसेर चड्कन दिई गाला फुटाएपछि ।।

ठोके मादल-डम्फु आदि लयमा बज्छन् दमाहाहरू
ठोकेरै गफमात्रले अघि बढे जाली फटाहाहरू
मौका हेर्छ र ठोक्छ जो जगतमा ऊ चुम्छ आकाशमा
निर्धो वा बलशून्य पात्र निहुरी गुम्सिन्छ अत्यासमा ।।

डोरीको सुरु-अन्त्य चिन्न नसके फुक्ला गुजुल्टो र के
ठोकी ठक्ठक भस्म झार्न नसके बल्ला अगुल्टो र के ?
ठोकी मार्ग अछिद्र पार्न नसके टिक्ला र खै के कुलो
यो ठोकाइ पुराण लाग्छ बढिया वेदान्तभन्दा ठुलो ।।
छन्दः शार्दूलविक्रीडित

२) नेपाली मन
जहाँको माटोमा प्रथम धरती दर्शन गरें
जहाँ च्याहाँच्याहाँ प्रथम सुरिलो गायन भरें
जहाँको हावाले घुरघुर लिएँ सास लहरी
यही नै हो मेरो अतुल मठ नेपाल नगरी ।

यहीँ पाएँ प्यारा जनक-जननी, सुन्दर कुटी
पिएँ छाती खोली मृदु रस हिमाली जडिबुटी
यहीँ तेते, ताते, थिरथिर सिकायो समयले
चिची, पापा, नाना, गणित-कखरा दीपक बले ।

जहाँको बाटोमा प्रथम पदयात्रा सुरु गरें
जहाँको पानीले प्रथम तनमा शीतल भरें
जहाँको धूलामा लुटुपुटु भयो शैशव पल
यही प्यारो मेरो मधुर सुखको क्रीडन थल ।

जवानीका मीठा मिलन-सुखका स्वादन यहीँ
परी, च्यान्टी,भुन्टी-सित मधुर आलिङ्गन यहीँ
पियारा-प्यारीका प्रणय-रतिका चुम्बन यहीँ
अहो ! मेरो प्यारो हृदयभरिको नन्दन यही ।

बिहानी-सन्ध्यामा विहग हुलका गीत सुनिने
उठेको झण्डामा शशि र सविता विम्बित हुने
हिराका माला झैं टलटल हिमाली मधुरिमा
यहीँ सीता-गौरी, जनक-शिवका उच्च महिमा ।

उठेको यो मेरो शिर सगरमाथा उठिरहोस्
तराईको चौडा गहनतम छाती दृढ बनोस्
पहाडी कान्लाका झरर झरना झैं रस भरूँ
यही माटो कोरी मधुर कविता सिर्जन गरूँ ।।

छन्द: शिखरिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *