वर्षा विविधा (१)

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

वसन्ती शोभाको मधुर मधुबेला पर गयो
कडा ग्रीष्मज्वाला पनि कम हुनाले डर गयो
गयी मन्दाक्रान्ता गनगन गरी ग्रीष्मभरिमा
उठ्यो वर्षा गर्दै ध्वनि शिखरिणीको मधुरिमा ।

कहाँ वर्षारानी जनजगतकी प्राणजननी
कहाँ अल्पज्ञानी गनगनवती यो शिखरिणी
कहाँ ज्ञानी पुर्खा कविगण बडा,शूर कठिनी
कहाँ मेरो लेखा मउपर चढ्यो भाव तपनी ।

 

लिई झञ्झा साथी सनसन गरी नाद मधुर
सबै अग्ला होचा तृण,तरु नचाई फुरफुर
रसोन्मादी वर्षा जब जमिन ताकेसरि झरी
धरामा पर्खेको तरुजगत हाँस्यो मनभरी ।

बनायो क्या अग्लो तन जलदले बेर नगरी
लुके अग्लाअग्ला गिरि सब उसै बादलभरि
बडो पर्दा हाली पछितिर सबै दृश्य यसरी
लुकायो अस्तित्वै सकल छलिए ग्राम,नगरी ।

कडा गर्मी,लामा दिन अनि खरा झन् रविकर
खपेका पोथ्रामा मधुरस झर्यो झम्म झरर
सुकेको धर्तीमा जल जब परेथ्यो झमझम
उठ्यो हल्काहल्का मिहिन ढबको बाफ गरम ।

बिहानै देखिन्थ्यो क्षितिजपट रातो र मधुरो
थियो लाम्चो ,कालो जलद जल बोकेर रसिलो
कुनै दिक्कन्या पो क्षितिजतटमै भै ऋतुमती
बसीन् जस्तो लाग्थ्यो नवसृजनको सूचन गरी ।

उठेको चौतर्फी गगनभर फैल्यो घनघटा
भयो साँझैजस्तो दिन पनि हुँदा श्यामल छटा
चल्यो सुस्तैसुस्तै जब पवनपंखा सिरसिर
उचा,ठूला नाचे तरुगण रमाई फिरफिर ।

धुवाँको मुस्लोझैं नभभर सबै ढाक्छ छिनमा
सँगै अग्निज्वाला घरिघरि उगेल्दै विजनमा
बडो चर्को थर्को गरिकन कतै धाक छ दिंदो
कतै भन्दो होला “तट निकट बस्ने हट छिटो” !

छिटै पानी पर्ला विपद,असुरक्षा छ नजिकै
भन्यो होला कस्ले अघिअघि बुझी विज्ञसरिकै
हिजै जान्थे बोकी मुखभरिभरी फूल कमिला
मिली लामा ताँती बनिकन सबै एक सरिका ।

दमाहाझैं ठोक्यो जब जलदले वाद्य घनन
यता नाच्यो भाले मुजुर पनि घुम्दै फननन ।
उता अर्की लर्की त्वरित गतिकी शुभ्र नटुवी
कला छर्दै अाई विलय पनि भै बेर नगरी ।

बिहानैको तातो समय अनि द्युँसो अझ कडा
थिए जो चर्केका रविकिरण बेजोड तगडा
खपे जो प्राणीले हपहप भई बाध्य दिनमा
भयो साटो ऐले सरसर सुक्यो स्वेद छिनमा ।।

छन्दः शिखरिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.