ग्रीष्म गनगन

Spread the love
Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, oallawa पल्लव,

खोलाधरे साहिँलो

स्वाँ स्वाँ होस् वा कलकल बगून् ,गड्गडाई बगून् क्वै
छाल्को हान्दै छपछप गरून् ,नाद नौलो सुनाई
खोला ,खोल्सा,नद र खहरे छन्द झैं शब्द गर्छन्
छङ्छङ् झर्छन् त्वरित छहरा छन्दकै भान दिन्छन् ।

वर्षा झर्दा झमझम कुनै पातमा बन्छ शब्द
झर्झर् गर्दै जल जमिनमा ठोकिंदा बन्छ शब्द
पानी बोकी सननन बहे वायुमा बन्छ शब्द
बेग्लाबेग्लै ढब तर सबै छन्द नै हो कि लाग्छ !

 

डम्माडम्मी जब गगनमा मेघले ढाकिदिन्छ
झिल्का छोडी त्वरित बिजुली झल्किंदै नाचिदिन्छ
थर्को पर्दा नभपटलमा छन्द बन्दोछ लाग्छ
रम्दै यस्तै प्रकृति -गतिमा नाच्छ भाले मुजूर ।

झर्छन् थोप्ला तपतप बलेंसी र छानाहरूमा
झुम्छन् ढुङ्गेकण,तृण सबै क्वै तरानाहरूमा
यो बेलाको झरर झमझम् छन्दगाम्भीर्य हो कि !
सानासाना पतकर सबै रम्दछन् छन्द आेढी ।

यद्वा तातोपन अति भई मुक्ति वा त्राण खोज्दा
पाएको हो मधुर मुरलीधून ताना तराना !
कस्ता होलान् जडजगतले प्रेय मान्ने कला यी ?
सिर्ज्यो क्यारे गतिविधि सबै ग्रीष्मले छन्ददायी !

पानी झर्दा दरदर गरी खेतमा थोप्लिएर
फोका उठ्छन् क्षणभर रही फुट्तछन् क्यै फुलेर
मान्छे ,प्राणी ,चर अचरको जन्मको सार यै हो
भन्छन् क्यारे यदि बुझिलिए जिन्दगी हुन्छ छोटो ।

यै पानी हो गगनरस भै झर्छ,यै हो समुद्र
यै हो खोला,नद र खहरे यै कुवामा छ भित्र
यै हो प्राणीजगत सबको प्राण वा ज्यानदाता
पानी थोपै नरहनु भने स्वर्गमा खुल्छ खाता !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *