कृष्ण शरण उपाध्यायको आधा दर्जन कविता

Spread the love
Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “उँभो उठ्न खोज्दा लडेको छ मान्छे”
मनुष्यत्व मा नै अहिंसा रहन्छ ।
अहिंसा मरेमा मनुष्यत्व मर्छ ।।
अहिंसा मनुष्यत्व मै फुल्छ फल्छ ।
भएदेखि हिंसा मनुष्यत्व ढल्छ ।।

जहाँ हुन्छ हिंसा त्यहाँ हुन्छ आँशु ।
विना जीवहत्या कहाँ मिल्छ मासु ?
कुनै मासु खाँदा कसै हुन्न शान्ति ।
कुनै आँशु खाँदा कतै हुन्न शान्ति ।।

 

अहिंसा महाशक्ति को हो चिनारी ।
अहिंसा पराभक्ति को हो चिनारी ।।
छ हिंसा भने के त्यहाँ प्रेम हुन्छ ?
अहिंसा मनुष्यत्व कै हो चिनारी ।।

गुफा मा रहन्थ्यौं हिजो मासु खान्थ्यौं ।
अशिक्षा असंस्कार ले आँशु खान्थ्यौँ ।।
पढेका थिएनौँ गुनेका थिएनौँ ।
सही – सत्य के हो बुझेका थिएनौं ।।

त्यही नीच निकृष्ट बानी छ आज ।
मनुष्यत्व मा नै खरानी छ आज ।।
असंवेद्य बन्दै पढेको छ मान्छे ।
उँभो उठ्न खोज्दा लडेको छ मान्छे ।।

दयाहीन मान्छेहरू नक्कली हुन् ।
दयाप्रेम गर्नेहरू सक्कली हुन् ।।
मँ मुड्की बजारेर ठोकेर भन्छु ।
सबै मासु खानेहरू जंगली हुन् ।।
छन्द: भुजङ्गप्रयात

२) “पाँच वर्ष”
मुलुक सँग छ पोको, पीर को के गरूँ मँ ?
प्रिय फल पहरा को, भीर को के गरूँ मँ ?
विकट हुन गयो त्यो, उन्नति – प्राप्त गर्न !
कुटुकुटु मुटु मेरो, खान्छ या थाल्छ गल्न !!

दुखद कति छ बाटो, गर्न यात्रा छ गाह्रो ।
स्खलित गलित माटो, पुग्न गन्तव्य साह्रो ।।
सडक जति हिलाम्मे, छन् सयौं के गरूँ मँ ?
पटपट मुटु मेरो, फुट्छ झैँ के गरूँ मँ ?

सडक सब सुधारोस्, राज्य ले पाँच वर्ष !
दृढ मजबुत पारोस्, राज्य ले पाँच वर्ष !!
सुगम हुन पुगून् ती, देश का गाउँ – गाउँ !
कण पनि नदुखून् ती, हून् सुखी ठाउँ – ठाउँ !!

त्यसपछि बिजुली मा, खर्चियोस् पाँच वर्ष !
तन मन धन सारा, अर्पियोस् पाँच वर्ष !!
घर – घर हुन जालान्, दीप ले झल्लमल्ल !
सब तिर सुखदायी, सास चल्ला नि बल्ल !!

सडक र बिजुली ले, देश मा यात्रु बढ्लान् !
जन जन धनवान् भै, शान्त सन्तुष्ट बन्लान् !!
त्यसपछि सब हट्ला, स्याउला गन्दगी को !
सब तिर हरियाली, छाउला जिन्दगी को !
छन्द: मालिनी

३) “कवि – लेखकहरू सँग”
ए हाम्रा प्रिय शक्तिमान् कविहरू ! सन्देश मीठो छर !
प्राणी बीच दयालु प्रेमिल हुने, आलेख लेख्ने गर !!
तिम्रो हार्दिकता निरा मनुज मा, मात्रै नहोस् सीमित !
त्यो फैलोस् हर जीव मा प्रकृति मा, होस् सर्वसम्मानित !!

मान्छे को भय बाट डर्न नपरोस्, काहीं कुनै जीव ले !
पाखण्डीपन बाट मर्न नपरोस् ,काहीं कुनै जीव ले !!
एस्तो शक्ति निकाल त्यो कलम ले, होस् ध्वस्त पाखण्डता !
सारा अन्ध परम्परा बलिप्रथा,होस् ध्वस्त उद्दण्डता !!

हिंसा गर्न स्वयं जुट्यौ र जन मा, हिंसा बढायौ भने ।
हिंसा वृत्ति लिएर जीवन जियौ, आत्मा डढायौ भने ।।
प्राणी का मन भित्र भूतभय झैँ, बन्छौ भने बाघ झैँ ।
तिम्रो मूल्य हुनेछ स्याल पशु झैँ , या गिद्ध झैँ काग झैँ ।।

हाम्रा गौतम बुद्ध ले र शिव ले, के मांस खान्थे भन !
हाम्रा कृष्ण र राम ले जनक ले,के मांस खान्थे भन !!
ती वाल्मीकि र व्यास विश्व भरको, हिंसा विरोधी थिए ।
विश्वामित्र वशिष्ठ गौतमहरू, विज्ञान बोधी थिए ।।

मार्ने हुन्छ महान् कि मूक पशुमा, मायाँ दिने हो महान् ?
ढाल्ने हुन्छ महान् कि ताप-दुख मा, छायाँ दिने हो महान् ?
यो निर्क्योल गरेर लेखकहरू ! साहित्य लेख्ने गर !
हिंसा हैन दया क्षमा र करुणा, सर्वत्र देख्ने गर !!

तिम्रो दुच्छर स्वार्थ का कहरले, ढाक्दैछ संसार यो ।
तिम्रो निर्मम चेतना जहर ले, पाक्दैछ संसार यो ।।
आफ्नो मृत्यु अगाडि जीव-हित मा,केही न केही गर !
यो संसार सजाउने प्रकृतिका, प्राणी नखाई मर !!
छन्द: शार्दूलविक्रीडित

४) “अग्नि पथ मा………
ज्यूँदो व्यक्ति हुने भए अघि बढौं, पुग्दैन यो सास ले !
ठूलो शक्ति जगाउँदै गिरि चढौं, खोज्दैछ आकाश ले !!
थाकेको बटुवा भईकन कहीं, गन्तव्य भेटिन्छ र ?
अर्कै को नटुवा बनीकन कहीं, दासत्व मेटिन्छ र ?

बारम्बार उही उही लत उही, त्यो जिन्दगी व्यर्थ छ !
अन्तर्नेत्र छ नींदमा यदि भने, त्यो `बाँच्नु´के अर्थ छ ?
जो चढ्दैन सिँढी विशेषपनको, सच्चा सदाचार को !
जो जाग्दैन कसै कुनै समयमा, त्यो जिन्दगी भार हो !!

ज्वाला अग्नि बनेर बाँच्नु छ यहाँ, प्रत्येक ले आज नै !
गोला जागृति को उचाल्नु छ यहाँ, प्रत्येक ले आज नै !!
आफ्नो देश उकास्न कम्मर कसी, लाग्नै छ बेतोड ले !
ऊर्जावान् बलवान् बनीकन स्वयं, जाग्नै छ बेजोड ले !!

जो हुन्छन् असचेत व्यक्ति तिनले, दुर्भाग्य निम्त्याउँछन् !
जागेका जनले महान् मगजले, सौभाग्य निम्त्याउँछन् !!
भित्री कायरता समस्त बटुली, आगो लगाईकन !
आजै उठ्नु छ देश खातिर यहाँ, खाँडो जगाईकन !!

मूर्च्छा मा यदि बीज रम्दछ भने, के बोट होला त त्यो ?
हो बारूद परन्तु अग्नि न मिले, विस्फोट होला त त्यो ?
एस्तो सत्य बुझेर अग्नि पथ मा, हिँड्नै छ हिँड्नै छ है !
जो घाती जन छन् उनैसँग यहाँ, भिड्नै छ भिड्नै छ है !!
छन्द: शार्दूलविक्रीडित

५) “जस्तो रोप्यो उस्तै पायो”
जे रोपिन्छ त्यही त फल्छ जग मा,रोप्ने कुरा होस् सही !
तीतो नीम छरेर स्याउ सहजै, फल्ला त मीठो कहीं ?
जे बोलिन्छ त्यही प्रतिध्वनि बनी,फर्कन्छ संसार मा ।
जेजे बीज छर्‍यो सयौं गुणन भै,फैलन्छ संसार मा ।।

निन्दा या अपमान ले हृदय मा, के प्रेम वर्षन्छ र ?
गाली साथ घृणा गरेर गहिरो, के चित्त हर्षन्छ र ?
छर्नैपर्छ समाज भित्र समता, सानन्द रम्ने भए ।
गर्नैपर्छ समष्टि माथि ममता, उन्मुक्त बन्ने भए ।।

श्रद्धा प्रेम छर्‍यौं भने मनुज मा,फुल्छन् तिनै फूल भै ।
ईर्ष्या द्वेष गर्‍यौं भने जगत मा,बढ्छन् धुवाँ धूल भै ।।
धर्ने रावण को चरित्र मन मा, श्रीराम कैले हुने ?
खस्ने फेरि अमानवीयपन मा, आकाश कैले छुने ?

हाम्रा सोच विचार दुच्छर भए, लाग्छन् सबै दुच्छर ।
हाम्रा यी व्यवहार सुन्दर भए, बन्छन् सबै सुन्दर ।।
ऐना को प्रतिविम्ब झैँ छ दुनियाँ, छर्लङ्ग देखाउने ।
जेजे दान गरिन्छ यो अवनि मा, त्यै वस्तु हो पाउने ।।

माया रच्छ अरू निमित्त जसले , ऊ जाल मा फँस्दछ ।
खाल्डो खन्छ अरू निमित्त जसले, आँफै त्यहाँ खस्दछ ।।
छायाँ दिन्छ अरू निमित्त जसले, छायाँ स्वयं पाउँछ ।
मायाँ दिन्छ अरू निमित्त जसले, मायाँ स्वयं पाउँछ ।।
छन्द: शार्दूलविक्रीडित

६) “देश खाए असत् ले”
छ संसारमा ज्ञान को पत्र पत्र ।
छ भण्डार, विज्ञान को यत्रतत्र ।।
असत् पात्रले , राहुले त्यो नलेओस्।
लिएदेखि सत्पात्र ले मात्र लेओस् ।।

लिँदा ज्ञान , ती वेन जस्ताहरू ले ।
झनै दुष्ट लादेन जस्ताहरूले ।
गएथ्यो कहीँ व्यक्ति को जिन्दगानी ।
भएथ्यो कहीँ देश , जम्मै खरानी ।।

कुनै दुष्ट ले ज्ञान धेरै लिएमा ।
कि विज्ञान मा ध्यान धेरै दिएमा ।।
यथाशीघ्र उल्का , त्यहाँ खस्छ खस्छ ।
जहाँ नित्य दुष्टात्म ले वास बस्छ ।।

हिरै होस् , असत्पात्र मा बन्छ कीरा ।
किरै होस् न , सत्पात्र मा बन्छ हीरा ।।
सुधा होस् , असत्पात्र मा हुन्छ बीख ।
बिखै होस् न , सत्पात्र मा हुन्छ ठीक ।।

यहाँ फल्नु मात्रै त पर्याप्त छैन ।
दियो बल्नु मात्रै त पर्याप्त छैन ।।
न पोल्ने गरी त्यो , दियो बल्नुपर्छ ।
कुहेको भए त्यो मियो ढल्नुपर्छ ।।

अशिक्षा हुनेले न यो देश खाए ।
न सर्वोच्च संस्कार वा भेष खाए ।।
यहाँ देश खाने असत्पात्र नै हुन् ।
उँधै देश लाने असत् मात्र नै हुन् ।।

वेन = प्राचीन दुष्ट राजा
लादेन = मुस्लिम आतङ्ककारी
छन्द: भुजङ्गप्रयात

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *