गणेश अत्रियका जोर कविता

Spread the love
Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

“झरी”
रिसाएर कालो उठी मेघ आयो,
खसाएर पानी झरी गर्न लायो ।
यता हेर पानी उता हेर भेल,
लथालिंग पार्ने भयो आज खेल ।।०१।।

कतै झर्छ पैह्रो कतै डुब्छ बस्ती,
बिगार्यो बगायो दियो धेर सास्ती ।
नभै हुन्न पानी भए धेर हानी,
अचम्मै गरायो बनायो कहानी ।।०२।।

 

कतै हेर भागोस् नआओस्न पानी,
कतै हेर आओस् अझै लौन पानी ।
कुनै भन्छ प्यारो झरी झर्झराओस्,
कुनै भन्छ भागोस् झरी नै नलागोस् ।।०३।।

थियो गृष्म साह्रै जलायो तताई,
भयो आज वर्षा रुझायो भिजाई ।
भयो शान्त गर्मी हरायो खुशी छन्,
डुबायो बगायो बिगार्यो दुखी छन् ।।०४।।

कसैमा छ हाँसो कसैमा छ पीर,
कसै निम्ति प्यारो कसै निम्ति तीर ।
अनौठो छ संसार जानी नसक्नु,
सबैको त चित्तै बुझाई नसक्नु ।।०५।।
छन्द: “भुजंगप्रयात”
गणःय.य.य.य., ६, मा विश्राम

२) “गुहार”
आलस्य निद्रा भय भोग छोडी,
आऊ युवा जोश उमंग जोडी ।
डुब्यो लथालिंग भयो स्वदेश,
लौ फर्क छोडी अब त्यो विदेश ।।०१।।

उत्साहका ताज सँभाल लम्क,
बेजोड आवाज लिएर चम्क ।
इच्छा छ दारिद्र्य र दु:ख हर्ने,
नेपाल उत्कृष्ट अखण्ड गर्ने ।।०२।।

बन्दै नबन्नू उपभोगवादी,
उद्योग गर्नू र विकासवादी ।
खाँचो छ तिम्रो अब देशलाई,
समृद्ध पारेर उचाल्नलाई ।।०३।।

आमा र बाबा सब इष्टमित्र,
अन्यायले ग्रस्त समाज भित्र ।
मेधा र विद्या प्रतिभा जुटाऊ,
पाखण्ड जालो सब फाल्न आऊ ।।०४।।

छन् खोसिएका अधिकार हाम्रा,
काटी महाजाल सुधार राम्रा ।
ती पाखुरा छन् मजबूत धेरै,
छाती र कन्धा पनि वज्र जस्तै ।।०५।।

चाहे तिमीले सब हुन्छ हेर,
इच्छा तथा जोश निकाल धेर ।
औँला चलाऊ पसिना बगाऊ,
मोती फलाऊ गरिबी हटाऊ ।।०६।।

उद्योग-धन्दा सब तर्फ खोली,
बाटो र पानी बिजुली समेली ।
खेती किसानी रमणीय पार,
घुम्ने घुमन्तेहरुलाई सार ।।०७।।

खाँचो नहोस् क्यै सबमा सुधार,
दुर्भाग्य दारिद्र्य सबै निखार ।
झुक्ने र लुट्ने छ दलाल धूर्त,
ती भ्रष्टलाई चिर पार मुक्त ।।०८।।

यो विश्वमा देश अगाडि ल्याऊ,
लौ हुन्न है पुच्छर बन्न आऊ ।
काला सबै रीत सखाप पार,
पाखण्डका काण्ड समाप्त पार ।।०९।।

आऊ युवा देश विदेश छाड,
माटो सबै उर्वर पार्न लाग ।
आशा भरोशा सब उर्लदैछन्,
आऊ सबैले अब साथ् दिन्छन् ।।१०।।

खै को गुहारू ? कसरी पुकारू?,
यो देश छिट्टै कसरी सुधारू ?
भन्दै गुनासा सब यो सुनाएँ,
तिम्रै भरोशा मन यो बिसाएँ ।।११।।
छन्दः इन्द्रवज्रा
त.त.ज.गु.गु., पाँचमा विश्राम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *