जयदेव गोविन्दका तीन कविता

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) जीवन र दृष्टान्त
जस्तै तेल लुँडो तयार नगरी बल्दैन आफैँ टुकी
जस्तै पुष्प मुठो बनेर नमिले बन्दैन राम्रो बुकी
जस्तै हात पछाडितर्फ लगिए बन्दैन आलिङ्गन
त्यस्तै ब्रह्म र आत्मशक्ति नरहे टिक्तैन यो जीवन ••

धागो चट्ट छिने नियन्त्रण गुमी ठोकिन्छ चङ्गा तल
आफैं मूल सुके क्रमैसँग घटी अल्पिन्छ गङ्गाजल
जस्तै तार छुटे झलल्ल बिजुली बल्दैन चम्कीकन
त्यस्तै ज्ञानविना निरर्थक बनी ढल्किन्छ यो जीवन ••

 

हाम्रो भौतिक देह तीर्थरथ हो हो बुद्धि हिँड्ने भर
हाँसी भित्र विराजमान रहने आत्मा छ सर्वेश्वर
पुर्जा इन्द्रिय हुन् प्रयास रथका पाङ्ग्रा धकेल्ने गति
खाना इन्धन हो विवेक बल हो मस्तिष्क हो सारथि ••

फर्सीको लहरो हलक्क कसरी बढ्ला जरा फालिए ?
उठ्ला जीवन के अकार्थ मनमा कुण्ठाहरू पालिए ?
भित्री गूढ कुरा बुझिन्न जसरी सम्प्रेष्य भाषाविना
त्यस्तै जीवन लक्ष्यको नजिकमा पुग्दैन आशाविना ••

ढुङ्गाको भर मृत्तिका भुवनमा हो मृत्तिकाको शिला
हाँगाका भर काण्ड फेद र जरा हो फूलको कोपिला
दायाँ अङ्ग अपूर्ण बन्छ जसरी एक्लिन्छ बायाँविना
त्यस्तै जीवन बन्छ खण्डहर झैं आत्मीय मायाविना ••

आगो माग्न छिमेकमा द्रुत गयो आगो लियो फर्कियो
तिर्खा मेट्न कुनै कुवातिर गयो पानी पियो फर्कियो
जस्तै स्वप्न मिठो मिलोस् बिउँझिदा पाइन्छ रित्तो मन
झुट्टो स्वप्न समान अल्प पलको आभास हो जीवन ••

जस्तै सागरमा पुगेपछि पुन: फर्कन्न पानी उँभो
हुर्केको तरु होचिएर जसरी बन्दैन सानो गुभो
बर्षाको जल फर्कँदैन जसरी आकाशमा उक्लन
त्यस्तै भोग पुगेर जान्छ कहिल्यै फर्कन्न यो जीवन ••
छन्दः शार्दूलविक्रीडित

२) चिन्तन र दृष्टान्त
बनोस् जस्तै अग्लो फल जति बढ्यो उत्तिकै झुक्छ हाँगो
पखेरामा वर्षा जतिजति बढ्यो उत्ति उर्लन्छ छाँगो
अहम्.ले मातेका कलुषितहरू धक्कुकै शङ्ख फुक्छन्
प्रथामा हुर्केका असल विनयी मान्यका सामु झुक्छन्

उमालेको पानी हिमबरफका छेउ चाँडै चिसिन्छ
रसौटामा नौनी जतिजति थपौं पग्लिएरै सकिन्छ
सुकेको खोलाको वरिपरि घुमे बालुवा छर्छ वायु
वृथाको बेढङ्गे लगतिर हिँडे व्यर्थमै बित्छ आयु

नदी कुर्ने माझी तुइन रगडी यात्रु तारोस् हजार
तरी जान्छन् यात्री जनमभर ऊ बस्छ हेरी किनार
टिपी खान्छन् जान्छन् पथिक फलका मिष्ट आस्वाद छानी
किनाराका माझी तरु र गुरुका मिल्दछन् जिन्दगानी

मझेरीमा जस्तै मकल र चुला या सजाऔं अगेना
निकम्मा खाल्डा झैं नियति तिनको हुन्छ आगो निभेमा
करेसाबारीको असल गरिमा हुन्न बाँझो गराए
उँधो झर्छन् मान्छे पशुसरि बनी ओजशोभा हराए

चुरौटेले नाडी सुमसुम गरी जत्ति नै सुम्सुम्याऊन्
फुटे औंलामा नै पटपट चुरा लाउने के रमाउन् ?
बनून् उम्दा खाना लवण नमिले स्वादिला भोज हुन्नन्
विनासेवा सस्ता कथित गुलिया शब्दका ओज हुन्नन्

नजन्मेको छोरो ‘नृपति पदमा बस्तथ्यो’ भन्नुजस्तै
डढेको छाप्रामा ‘तपतप सुधा खस्तथ्यो’ भन्नुजस्तै
नपुग्ने टाढाका विफल सपना पाल्नुको अर्थ हुन्न
वृथा हावादारी गफ कचहरी थाल्नुको अर्थ हुन्न

सबै खाले विद्या सृजनपथमा साधना गर्नु पर्छ
कुनै बाधा आए असल गुरुका पाउमा पर्नु पर्छ
स्वदेशी आस्थाको स्मरण नहुने सिर्जना शीघ्र झर्छन्
रचे गली निन्दा जपन जिउँदै सिर्जनाकार मर्छन्
छन्द: मेघविस्फूर्जिता
विश्राम :- छ र बाह्रमा

३) जिन्दगी
मर्दा लाख करोड दौलत लिई जाँदैन नाङ्गो शव
‘पैसामै अमरत्व मिल्छ’ जसरी’ के जुध्दछौ मानव ?
जानै पर्छ अवश्य दूर-पथमा ! खोला बगे झैं बगी
अस्थायी उपभोग-निम्ति लिइने डेरा न हो जिन्दगी ।

ऐना, काँच-समान देह पलमै टुक्रिन्छ माटो बनी
बाँचे-ताप, तनाव अग्नि मनमा सल्कन्छ दैनन्दिनी
मानौं दैनिक मक्खिएर चुँडिने धागो न हो जिन्दगी
‘सानो एक मुठो परालतिरको आगो” न हो जिन्दगी ।

जाया, नाति, पनाति, पुत्र-दुहिता ती मोहका जाल हुन्
इच्छा, भोगविलासका धन सबै दोस्रा महाकाल हुन्
थोत्रा मोटर दौडिने सडकको रोडा न हो जिन्दगी
आफैंमा परतन्त्र झैं समयको घोडा न हो जिन्दगी ।

बाधा एक निखार्न उद्यत बन्यो जन्मन्छ अर्को पुन:
सन्तोषी पनबाट जीवन जिए थालिन्छ भोको हुन
आफैंमा व्यवहारबाट थिचिने यात्रा न हो जिन्दगी
आफैं मञ्चक, पात्र, दर्शक हुने जात्रा न हो जिन्दगी ।

खाली हात बसे सदा उदरमा उफ्रेर कुद्छन् मुसा
यात्राको गति थालिए कदममै बल्झिन्छ टोकी दशा
स्रष्टा निर्मित दिल्लगी नियतिको खेला न हो जिन्दगी
टुङ्गो-सारविहीन चार दिनको भेला न हो जिन्दगी ।

धेरै बित्छ उमेर नीद-वहमा, बेकारका सोचमा
बाँकीमा पनि बित्छ धेर ! जिउने अस्तित्वको खोजमा
फुल्ने चाह छँदाछँदै मृत हुने थुङ्गो न हो जिन्दगी
मानौं वार न पार मध्य दहको ढुङ्गो न हो जिन्दगी ।

उठ्छन् रङ्गविरङ्ग लाख सपना पूरा हुने आसमा
मर्छन् चाह तथापि ताडन सही सन्त्रास सन्त्रासमा
बल्झी चस्स दुखाउने जखमको खाटो न हो जिन्दगी
जस्तै रङ्ग दलौं ‘भविष्यतिरको माटो’ न हो जिन्दगी ।।

छन्दः शार्दूलविक्रीडित

जयदेव गोविन्द
त्रिशुली, नुवाकोट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *