श्रद्धाञ्जली

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

झुल्के घाम भनी भनेर जनले भन्छन् कराईकन ।
बाँड्छन् शीतल चाँदनी शशि खुली फिक्का छ आफ्नै मन ।।
आमा हुन् ममतामयी जगतकी वात्सल्यकी स्वामिनी ।
आत्मा रुन्छ खुदै विलाप दहमा डुब्दो छ आँखा पनि ।।०१।।

छाती ढक्क फुली छ दर्द दिलमा आमा कता छिन् कता ?
लौलौ यो घृतदीप दे अब भनी भन्छन् म जाऊँ कता ??
धर्ती शून्य बन्यो सबै सुख लुक्यो भारी भयो चेतना ।
भाग्यो होस हवास दृष्टि पथमा बड्दै गयो वेदना ।।०२।।

 

आमा शब्द उदार स्नेह दिलको उल्लासको स्रोत त्यो ।
सुक्दा दुख्छ अनन्त कष्ट मनले भोग्दो छ सङ्कष्ट यो ।।
भन्छन् दैव विधान यो जगतको पल्टन्न कस्तै गर ।
हेर्दै विश्व बुझी स्वचिन्तन खुलोस् उस्तै छ नौलो दर ।।०३।।

जाऊँ काल कता छ वास त्यसको बाली डढाऊँ कि म ?
काटी टुक्टुक मांस अस्थि त्यसका जम्मै बबगाऊँ कि म ??
खोस्यो एक अनन्त दिव्य दिल त्यो आमा बिना को छ र ?
आमा स्नेह समान यो जगतमा पाइन्न कस्तै गर ।।०४।।

खोलूँ नेत्र तथापि दृष्टि जग यो सर्वत्र भो शून्यता ।
धारूँ धैर्य बहन्छ दर्द दिलमा खोक्रो बन्यो गेह ता ।।
आमामाथि गइन् कि छिन् अझ यतै पत्ता म पाऊँ कहाँ ?
चिन्ता दर्द तनावपूर्ण दिलले भेटेन बाटो यहाँ ।।०५।।

पाल्यौ मानव पूर्ण बन्न म सकूँ राखेर यो चाहना ।
आफू दुख्नु थियो नगन्य तर मै दुख्दा दुख्यो भावना ।।
आफू पूर्ण त्यजी रमेर मनमा सन्तान हेर्थ्यौ तर ।
तिम्रो मार्ग कता गयो अब हरे ! पाऊँ कसोरी वर ।।०६।।

माया पूर्ण उदार प्रेम तनमा आगो लगाओ भनी ।
भन्दा दुख्दछ चेत यो हरघडी खप्नै नसक्ने बनी ।।
स्वप्ना होस् मन भन्छ यो सब कुरा राम्रो उदाओस् दिन ।
आमासाथ रहून् म हाँस्छु जगमा कल्पन्छ हर्दम् मन ।।०७।।

बोकून् स्वार्थ अनेक हुन् तर उनी सन्तान रम्दा रमिन् ।
नाच्छन् यत्न हजार आज उनकै सत्कर्म दाता बनिन् ।।
छोडी आज गइन् छ शून्य जग यो तड्पन्छ हर्दम् हियो ।
सारा सृष्टि रहन्छ प्रेम पथमा बल्दो छ मातृ दियो ।।०८।।

गल्दो देह पुकार गर्छ मनले फर्कून् न आमा यता ।
रम्दै डुल्न सकूँ निरन्तर खुली सद्भाव पस्की निका ।।
सारा शून्य छ यो विशाल धरणी रित्तै छ माता ढली ।
काँम्दो देह र भावना बलसँगै अर्पन्छु श्रद्धाञ्जली ।।०९।।

छन्द:- शादूर्लविक्रीडित
गण:- म स ज स त त गु
सङ्केत:- sss iis isi iis ssi ssi s

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.