गणेश अत्रियका “छन्दात्मक मुक्तकहरू”

Spread the love
Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

झरेका छन् पग्ली कहर मनका ती नयनमा ;
अनिन्द्रा चिन्ताले सकसमय छन् ती शयनमा |
हरे ! राधे ! सम्झी समय सकियुन् भन्दछ मन ;
कहाँ हुन्थ्यो सोंचे सरह सजिला ती चयनमा ||
छन्दः शिखरिणी

मीठा सुन्दर सिर्जना सरसिला, रच्छन् सधै मित्रले,
हेर्दै पढ्दछु गम्छु लेख रचना, बोल्छन् अझै चित्रले ।
लेखौंला म भनेर कोशिस गरें, आएन लेख्ने कुरा,
बन्दै पाठक मात्र जीवन बिता, भन्दैछ है चित्तले ।।
छन्दः शार्दूलविक्रीडित

 

लेखूँ भन्छु बसेर हेर कविता, फुर्दै नफुर्ने किन ?
मीठा शब्द चुनेर भर्दछु भन्यो, जुर्दै नजुर्ने किन ?
थापूँ को गुरु लौ सिखाउँछ कले, सोधूँ सिखूँ को सँग ?
आशा जीवन हो बितुन् दिनहरू, कुर्दै नकुर्ने किन ?
छन्दः शार्दूलविक्रीडित

कविता म बनाउँला कति?
लयमा शब्द मिसाउँला जति |
रस राग सुवास छर्किदै ;
सृजनामा म रमाउँला अति ||
छन्दः वियोगिनी |

मनमा सपना सजाउँदै ;
सुखको आश गरी रमाउँदै |
दिनरात कठोर यत्नमा ;
कति बस्ने दिल यो जलाउँदै? ||
छन्दः वियोगिनी

गणेश अत्रिय
बुटवल, २०७५/०३/१८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *