कनकधारा स्वामी स्वदेशानन्द का जोर कविता

Spread the love
Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

१) बाँच्दैछ बाँच्दैछ रे…..
झु्ल्के सूर्य बिहानको समयमा लाली छरी पूर्वमा,
टल्किन्छन् हिम टाकुरा तरु लता सौन्दर्यका साथमा।
पाखा भीर र कन्दरा गगनको शोभा बढेको थियो,
आफ्ना फूलहरू चढाउन भनी चाँपो फुलेको थियो।

टाढ़ाबाट हिमाल शैल चुचुरा हेरौं भनी बादल,
हावाका सँग मन्दराचल हुँदै लाग्दैथिए उत्तर।
केही हात थिएन अर्पण गरौं भन्नेगरेका थिए।
झार्दै मेघहरू जलार्चन गरी सेवा गरेका थिए।

 

डाँडामा डिलमा गरा चउरमा झर्दा घना बादल
देखिन्छन् हरिया मुना विपिनमा संसारकै मङ्गल।
ठूला वृक्ष महा तपोवनहरू छाया दिएका थिए।
निक्लन्थे हिमकोशिका तरलिँदै बग्नेगरेका थिए।

अग्ला सुन्दर शैलका हिमशिखा आँखा रसाईकन,
धर्तीका जनता पिईकन जिऊन् भन्ने बनाई मन,
हाम्री यी जननी हिमाल तनया पानी निकालीकन
झार्छिन् पर्वतबाट निःसृत गरी मैदानमा खेतमा।

जे चाहिन्छ सधैं सधैं मनुजमा गर्दैथिईन् अर्पण,
स्वार्थी मानिसले समस्त धरणी गर्दोभयो दोहन।
फाँड़ी त्यो वनशैलबाट निजको निर्माण गर्दोभयो,
झुप्राबाट पुग्यो बस्यो महलमा कङ्काल मात्रै रह्यो।

आफैं मानिसले विनाश पथको यात्रा गरेको छ रे।
भन्छन् मानिस ती विकास पथमा हिँड्नेगरेका अरे।
खाने अन्न सबै विकास पथले मास्दैछ मास्दैछ रे,
मान्छे चाहिँ विकासकै भर परी बाँच्दैछ बाँच्दैछ रे।

यस्तै दक्षिणको विकास पथले मासेर बारीहरू,
रातारात बड़ा बड़ा भवनको निर्माण गर्नेहरू,
छन् ठूला घरमा स्वदेशतिरका झुप्राहरूमैं बसी
पढ्दैछन् कविता विकास पथका आफू दुलामा पसी।

लागौं उत्तरको विकास पथमा पाइन्छ धेरै भनी
नेपाली मनका नयाँ उपजले खोज्दैछ रे जीवनी।
यी जम्मै पथ दक्षिणोत्तर दुवै हुन् दुःखका कारण,
नेपाली पथमा तटस्थ रहँदै हिँड्ने बनाऔं मन।
छन्दः शार्दूलविक्रीडित

२) ‎केका निम्ति तिमी पुरस्कृत भयौ….
रक्सी मासु जुवा र तासतिर छन् धेरै जसो बालक,
वेश्यावृत्ति अँगाल्न बाध्य दुहिता लाचार छन् मानिस।
छन् उद्देश्य विहीन बाल बबुरा भो राष्ट्र यो दिग्भ्रम,
हे साहित्य समाज भाँडिन गयो के के ग-यौ चिन्तन!

रक्सी पस्किन जानु पर्छ युवती बेचेर देहाब्रुक,
नारीको गरिमा विखण्डित भयो यो देश भो लज्जित।
भ्रष्टाचारहरू प्रतिष्ठित हुने मानौ भए उद्यम,
हे साहित्य समाज उज्ज्वल हुने के के ग-यौ चिन्तन!

तिम्रा निम्ति हजार लाख रुपियाँ खर्चन्छु बर्सैभरि,
ठूला सभ्य विशिष्ट हौ मुलुकका भन्दैछु जैलेघरि।
छन् दुर्गन्ध मुखारवृन्द कसरी राखौं लगी मञ्चमा,
हे साहित्य तिमी स्वयं पतित छौ गर्छौ र के चिन्तन!

रक्सी मासु घिचेर टुन्न बनिदा गर्छौ तिमी सिर्जना!
आफ्नो राष्ट्र बनाउने विषयमा चिन्ता ग-यौ के भन!
के आकण्ठ डुबी पिएर मदिरा पायौ कुनै वेदना!
हे साहित्य समाजको विषयमा ल्यायौ र के चेतना!

छन् आचार विहीन वाक्य बहुधा निर्लज्ज शव्दावली,
छन् दायित्व विहीन भाव भरिला भाषा र पद्यावली।
रक्सी मासु बिगार्छ मानव जगत् भन्ने नबुझ्ने तिमी,
हे साहित्य समाजको हित हुने तिम्रो छ के लेखनी!

हात्ती झैं मदमत्त छौ सहरमा अग्लो छ तिम्रो घर,
झुप्राभित्र छ माड़हीन मनुवा छल्दैछ अग्लो घर।
छन् सम्मान विभिन्न मञ्चभरि नै साहित्यका खातिर,
माती टुन्न पछारियो घरघरै साहित्य यो आखिर।

केका निम्ति तिमी पुरस्कृत भयौ भन्ने कुरा सोध्छु म,
नाङ्गेझार बनाउने मन भयो विद्रोहमा बोल्छु म।
सत्तापोषक लाजहीन गणिका साहित्यका वाङ्मय,
मासी अर्थ किनेर पढ्नु पबिता छन् व्यर्थका आशय।

छन्दः शार्दूलविक्रीडित
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
स्थानः आमबारी, फाटाशील, गुवाहाटी, असम (भारत)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *