जयदेव गोविन्द का जोर कविताः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) दृष्टान्त
पाए बेकारको दर्जा उल्टै नाश गराउँछ
हीराको खाटमा राखी माछो के चैन पाउँछ ?

सुरक्षा नै दशाजस्तै बन्छ ढर्रा बढी गरे
खुसीले कसरी बाँचोस् जाबीको चिडिया हरे ?

नाशिन्छन् कुलका शोभा दुष्ट सन्तान जन्मिए
खुम्चन्छन् तरुका हाँगा काँडाका झाङ जेलिए

 

ज्यादा उद्दण्डता बोके झुक्छ पक्कै स्वयम् शिर
अग्लेका बाँसका टुप्पा घोप्टिन्छन् धरतीतिर !!

अर्तीले घूसका प्यासी बन्दैनन् राष्ट्रसेवक
गुनासाले लुगा काट्ने धन्दा छाड्दैन मूषक !!

पूजा, ऐश्वर्यका भोगी बन्दैनन् बढिया जन
गान्धी या बुद्धका हेर नम्र सामान्य जीवन !!

सानाले भुल्दछन् बाटो ठूलाले नगरे चियो
घुम्लान् के दाइँमा गोरु विना दाम्ला विना मियो ?

घमण्डी व्यक्तिको विद्या घमण्डैमा हराउँछ
काँडाले ढाकिए पुष्प टिप्ने मान्छे डराउँछ !!

मिल्दैनन् पूर्णता केही चिल्ला आदर्श धाकले
जस्तै होस् बलियो मोटो गाडा तान्दैन बाघले !

जिन्दगी उठ्नका लागि चाहिन्छन् योग्यता, छवि
टुक्का, जोक फुँदा जोडी हुन्न कोही महाकवि !!
छन्द: अनुष्टुप

२) मेरो राष्ट्र
झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिमाली धुरी
झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी
मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम
मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।।

बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी कसी
थुम्का शैल-मधेशका कनकमा दिन्छन् अनौठा “कसी”
फुल्दै लाख बगानका कुसुमले छर्छन् प्रभा माधुरी
मेरो राष्ट्र कुबेरको महल हो “सम्पन्नताको पुरी’ !!

गर्छन् निर्झर नाद पर्वत कुँदी सेता हिराहार झैँ
झुल्छन् चामरतुल्य पत्र लतिका शृङ्गार झङ्कार झैँ
नौला सुन्दर पालुवासित मिली खुल्छन् पखेरा, वन
मेरो राष्ट्र-अगाडि धूलसरि छन् ती स्वर्गका आसन।।

“लक्ष्मी”, भानु र लेखनाथ, सम वा “मोती” यहीँ देखिए
उम्दा दर्शन, काव्य, नाटक सयौँ गाथा यतै लेखिए
चोखा, ग्रन्थ-पुराणका हरफले मष्तिष्क चोख्याउँछन्
मेरो राष्ट्र नियाल्न देवगण नै पालो गरी आउँछन् ।।

भोलेनाथ हिमालका शिखरमा बस्छन् चुमी पार्वती
गङ्गा घण्टसमान छङ्छङ बगी गर्छिन् सधैँ आरती
खुल्छिन् हेमसमान इन्दु नभमा सौहाग शोभा बनी
मेरो राष्ट्र छ शिल्पमा, प्रकृतिमा वैकुण्ठभन्दा धनी।।

सीता दक्षिण नाच्दछिन् र भृकुटी चम्काउँछिन् उत्तर
“पृथ्वी” भूमि बढाउँछन् दस दिशा माला उनी सुन्दर
गोर्खाली इतिहा वीर रसको गाढा मिठो छत्र छ
मेरो राष्ट्र विशाल यो भुवनमा सर्वत्र सर्वत्र छ ।।

टिप्छन् स्वर्ण किसान कर्मबलले खोस्रेर आफ्नो धरा
रोपी वीज रमाउँछन् अधरले मोती टिपी अप्सरा
यो सम्पन्न विशुद्ध भूमि बलियो स्याहार आधार हो
मेरो राष्ट्र मधेश-शैल-हिमको सम्पूर्ण संसार हो ।।

थाल्छन् राष्ट्रियगान लाख चिडिया ठोक्छन् अरू मादल
ठोक्छन् पत्थर डम्फु, ढोलक उता घन्काउँछन् बादल
फुक्छन् मन्द बयार तिर्र मुरली भर्छन् गुफा गायन
मेरो राष्ट्र घुमेर देवगण नै भुल्छन् स्वयम् नन्दन ।।

छन्दः शार्दूलविक्रक्रीडित
– जयदेव गोविन्द,
नुवाकोट ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.