पार्वती भट्टका केही मुक्तकहरूः

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिमीले लेख्ने गजलको, हरेक बहर प्यारो लाग्छ
यादहरुको बिसौनी, हर- एक प्रहर प्यारो लाग्छ
चाहाना पलाउँछ जब मुटुमै,राख्ने आँखामै साँच्ने
हो, त्यो पूरा नहुने आफ्नै अधुरो, रहर प्यारो लाग्छ ।

यहाँ निभ्दा निभ्दैका कयौं जीवन दीप जगाएर गयौ
हामीलाई बिर्सिनै नसकिने अतुलनीय गुन लगाएर गयौ
जानु त पर्थ्यो नै थियो, जो सुकै आए ती गए यो शाश्वत हो
तर तिमी समय अगावै संवेदनाका अश्रुधार बगाएर गयौ ।

 

अचेल मलाई नदी जस्तै एकतमास बग्न अनि पोख्खिन मन लाग्छ
बादल जस्तै निर्वाध पहाडका थुप्राहरूमा, छुन र ठोक्किन मन लाग्छ
सडक झैँ अनवरतरूपमा बोक्दै हिँडेका तमामौं, सीमाहीन गन्तव्यहरू
सम्झी सम्झी आफैंभित्र मुस्कुराउँदै,टक्क अडिएर रोक्किन मन लाग्छ ।

मलाई, खोला, पाखा, पखेरा अनि भिर मन पर्छन्
यीनकै निश्चल पवित्र मायाका जन्जिर मन पर्छन्
यहाँ धर्मका नाउँमा पनि कुकर्महरू देख्छु नि जब
नि:सन्देह भन्छु, मुर्ति विनाका मन्दिर मन पर्छन् ।

सृजनाका मूल फुट्ने यहाँ स्वच्छ पानी देखें
श्रमसँग पसिना साँट्नेअनि पिउने बानी देखें
प्रकृतिका लठ्याउने सौन्दर्यका राज भित्र
कति धेरै विकरालता कति मनोमानी देखें ।

जूनसित घामसित, रुन छाडीदिएँ
झस्काउने संवेदना, छुन छाडीदिएँ
हराभरा दिव्य छटा, पाएपछि अचेल
गुम्सिएर उकुसमुकुस, हुन छाडीदिएँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.