देवकी निरौलाका मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

हिजोसम्म आँखा पनि ओभानो थियो
खुसि नै थिएँ आकाश को छानो थियो ।
आज प्रिय मित्रले प्रेमिल उपहार पठयो
हेरेँ खुकुरी थियो अनि अचानो थियो ।।

उपचार बिना नै बिरामी घरमा पठायो ।
बिरामी लाई आफन्त निगरानि पठायो ।।
खै के भन्यो डाक्टरले सुटुक्क उसलाई
रहर बटुलेर सपना को मलामि पठायो ।।

 

त्यो दिलको राज मौनताले बताउँछ चुपचाप
फेरि किन त्यहि मौनताले सताउँछ चुपचाप ।
बर्षौँ भए जस्तो लाग्छ एकैदिनको दुरिपनि
देखिन्न तर आगो छ कि जलाउँछ चुपचाप ।।

खडेरी माझ पनि, मुस्कुउने फूल बनुँ
राष्ट्रिय ध्वजा बनूँ, बिजय को तुल बनुँ ।
नझरुँ नयन बाट, कसैको आँसु बनी
हृदयमा बस्नसकुँ, शान्ति को बिगुल बनुँ ।।

म गाउँ दिन अचेल गुनगुनाउँ दिन अचेल
कसैको यादमा पनि मन दुखाउँदिन अचेल ।
तिम्रा सम्झना हरूमा पनि भेटिन्न कहिले
सायद तिम्रो तस्बिर सँग सुहाउँदिन अचेल ।।

आयौ तिमी घामले बिदाई गरेपछि आयौ
अँधेरीले ताराको बिस्कुन छरेपछि आयौ ।
मनको भारी बिसाउने ठाउँ नभेटिएपछि
मनले बसाइँ सर्ने साइत गरेपछि आयौ ।।

जाडोछल्न भनी न्यानो घाम पठाइदिएँ
स्विकार्नु है टाढैबाट सलाम पठाइदिएँ ।
यादहरू समेटेर स्नेह को पच्छ्यौरिमा
मन मुटु राखि बन्दी खाम पठाइदिएँ ।।

आउ हेरौँ खप्परलाई तक्दिरमा बदलेर
रोइरहेको भित्तालाई तस्बिरमा बदलेर ।
कसैले बनाओस् कसैका लागि ताजमहल
हाम्रो सानो झुपडीलाई मन्दिरमा बदलेर ।।

देवकी निरौला,
कोहलपुर, बाँके ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.