नेपाल नेपाल होस्

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

आयो एक भएर लालनगरी हल्ला भयो लोकमा
कोही ढुक्क भए यहाँ नगरमा कोही परे शोकमा
छिर्के दाउ कतै थियो मुलुकमा ब्वाँसा थिए घातमा
गाँठो कस्सिन गो भयो गज़ब यो आहा भयो रातमा

धेरै घाउ बने कठै विगतमा रोयो चरी बेसरी
धेरै साहु बने अहो मुलुकमा राजा बने के गरी ?
राजा एक गए बने अझ बढी श्रीपेचधारी यहाँ
सत्ता खेल कठै बिचित्र हुन गो सारै गनायो यहाँ .

 

जे जे भो पहिले भयो अब गयो मौरी बनौं देशमा
गोठालो सब हौँ यहाँ अब सखे लौरी बनौं देशमा
ढीक्का एक भए रहे सुपथमा होला उज्यालो सधैं
यो जापान बने यतै मुलुकमा बस्लान् बचेरा सधैं

सारा भ्रष्ट यहाँ पतीत जन ती देखें सधैं मोजमा
चम्चा धेर लिई सधैं शहरमा मस्ती गरे भोजमा
यस्तो झूर कथा थियो भुवनमा कालो थियो नाम नै
सारा मेट्न सखे मिली सब मिली आयो नयाँ वाम नै

आशा एक यही भयो रहर भो यो जाम जाला उता
नेपाली जनता खुशी सब खुशी यो माम खाला यता
नेपाली मनमा पवित्रपनमा नेपाल नेपाल होस्
सारा शुद्ध बनी धनी हृदयले नेपाल मात्रै जपोस् ।।

बोनसमाः यौटा गजल
थियो आश धेरै बगाएर आयौ
थियो बास आगो लगाएर आयौ

गुफामा सुतेको थियो त्यो बिरालो
बनी मूर्ख साथी जगाएर आयौ

उही रीत कालो अघोरी नफाली
कठै बुद्धि तिम्रो तगाएर आयौ

महात्मा र ज्ञानी विवेकी पियारा
लखेटी लखेटी भगाएर आयौ

थियो धुन्धुकारी थियो आततायी
बनी मित्र स्थायी सघाएर आयौ

झुवानी चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.