कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) “भरिया”……
ऊ हो यहाँ को भरिया मजा को !
पोशाक थोत्रो छ दुई गजा को !!
बाँच्दैन ऊ भोलि भनेर आज !
ऊ हाँस्छ दु:खी परिवेश माझ !!

पत्नी छ रोगी घर भित्र एक !
भुराभुरी छन् घर मा अनेक !!
खाना र नाना तन माथि छैन !
तथापि ऊ लिन्छ मजा र चैन !!

 

छोरी छ सोह्रौं वय मा खुलेकी !
मुस्काउँदो यौवन मा फुलेकी !!
उद्दीप्त आभा उसमा छ कस्तो ?
लोभ्याउने उत्तम स्वर्ण जस्तो !!

साहू यता दृष्टि लगाउँदै छ !
दुष्कर्म को राहु जगाउँदै छ !!
ऊ बुझ्छ, छोरीतिर दिन्छ ध्यान !
बचाउनै मुस्किल पर्छ ज्यान !!

इच्छाहरू पर्वत झैँ उठे नि !
मकै बनाई मन यो भुटे नि !!
बिहान खाएपछि साँझ छैन !
परन्तु फिक्री मन माझ छैन !!

ऊ हेर्छ चारैतिर का सवारी !
यहाँ वहाँ खोज्दछ ऊ चहारी !!
हाँसेर हिंड्दिन्छ भिरेर भारी !
गर्दैछ बाँच्ने पल को तयारी !!

जसैतसै ज्यान जिईरहेछ !
रक्सी सँगै प्राण पिईरहेछ !!
सेवा दिई कष्ट लिईरहेछ !
त्यो कष्ट को चोट सिईरहेछ !!
छन्द: इन्द्रवज्रा, उपजाति

२) “यो देश का खातिर”
आगो लाउनुपर्छ ती विकृति मा, जो देश मा छन् खडा ।
झाडू लाउनुपर्छ फोहर सबै, छन् देश मा जो कडा ।।
मासी भ्याउनुपर्छ बुद्धि बल ले, अज्ञान कालो निशा ।
बाढी ल्याउनुपर्छ है प्रगति को, यो देश मा चौदिशा ।।

पार्टी या दल भित्र का जटिलता, दादागिरी फाड्नुछ ।
नेता का मन भित्र का कुटिलता, सारा चिरी छाड्नुछ ।।
माटो को यदि राजनीति छ भने, श्रद्धा पुरस्कार होस् !
पैसा पाउन राजनीति छ भने, लोप्पा तिरस्कार होस् !!

भाषा संस्कृति बेच्छ जो अघि सरी, ऊ देश को शत्रु हो ।
देशै लुट्छ र गर्छ जो मनपरी, ऊ देश को शत्रु हो ।।
तेस्ताको धन – माल चौपट गरी, यो देश लाई दिऔँ !
फाटेको मुटु देश को छ अति नै, बुट्टा बनाई सिऔँ !!

बाँच्यो देश कडा भईकन भने, पार्टीहरू बाँच्तछन् ।
नाच्यो देश खडा भईकन भने, पार्टीहरू नाच्तछन् ।।
एस्तो मन्त्र बुझेर लाग्नुछ सधैं, यो देश का खातिर ।
ऊर्जायुक्त बनेर जाग्नुछ सबै, यो देश का खातिर ।।

गुल्ट्याईकन छाड्नु पर्दछ यहाँ, ती देशघाती सबै ।
मुन्ट्याईकन गाड्नु पर्दछ यहाँ, ती ती खलाँती सबै ।।
पुग्ला देश उँचाइ चुम्न तब नै, बस्ला स्वयं शान ले ।
हेर्लान् देश अनेक ले अनि पृथक् श्रद्धा र सम्मान ले ।।

३) “मेरो माटो”
यो माटो मुटु हो नहेप न तिमी , सञ्चेतनाहीन भै ।
आमा माथि हिलो नछेप न तिमी ,संवेदनाहीन भै ।।
मेरो स्वत्व र धर्म को चहकिलो , तारा यही हो बुझ ।
मेरो उत्तम कर्म को गहकिलो , धारा यही हो बुझ ।।१

यो माटो छ र सास चल्छ तन मा,ऊर्जा नयाँ भर्न मा ।
यो माटो छ र आश फल्छ मन मा,केही नयाँ गर्न मा ।।
मेरो काव्य समृद्धि को मल यही , माटो भएको छ है ।
मेरो साधन सिद्धिको बल यही , माटो रहेको छ है ।।२

सानो सोच लिई नसेप न हरे ! फल्नेछ यो मृत्तिका ।
सीमा साँध कसै नचेप न भरे ! बल्नेछ यो मृत्तिका ।।
झर्ना ताल हिमाल उत्तम नदी,छन् देश का काख मा ।
काँडे भ्याकुर छन् सुदुर्लभ यहीँ ,हज्जार मा लाख मा ।।३

रातो चन्द्र र सूर्य अङ्कित हुने, झण्डा छ मेरो सुन !
गोर्खा को पहिचान दिन्छ यसले, मान्दैन सानो हुन ।।
एस्तो लाग्छ मँ लेक मा फुलिदिने, लालीगुराँसै बनूँ !
द्यौराली तिर को हिमाल मुनिको, चीसो बतासै बनूँ !!४

मेरो देश समृद्धि को शिखर मा, लम्कोस् यही हेर्नुछ ।
छर्दै ज्योति कछार गाउँ घर मा, चम्कोस् यही हेर्नुछ ।।
आस्था यो मुटु मा छ देश भर का,जातीय संस्कार को ।
निष्ठा एक छ देश को प्रकृतिको, आत्मीयता प्यार को ।।५
छन्द: शार्दूलविक्रीडित

४) प्रस्तरेणुः अणु को आठौं भाग
तिम्रो प्रणय वीणा को,अस्पर्शी तार हूँ मँ त ।
असह्य वेदना पोख्दो , तीव्र झङ्कार हूँ मँ त ।।

तिमी हौ सार का सार , पूर्ण निस्सार हूँ मँ त ।
वरदान मिले तिम्रो , फूल को हार हूँ म त ।।

तिमी हौ नील आकाश , मँ उड्दो प्रस्तरेणु हूँ ।
अणु को हुन्छ ब्रह्माण्ड , सूक्ष्म संसार हूँ मँ त ।।

चाहन्थेँ फूल यौटा मँ , सिङ्गो उद्यान सुम्पियौ ।
शोभा सौन्दर्य ले पूर्ण , तिम्रै शृङ्गार हूँ मँ त ।।

तिम्रो कृपा विना मेरो , कसरी हुन्छ सद्गति ?
मधु भर्छौ तिमी मीठो , मौरी को घार हूँ मँ त ।।

बजाऊ बाँसुरी कृष्ण ! देऊ सञ्जीवनी सुधा ।
पाए अधर को स्पर्श , प्राण सञ्चार हूँ म त ।।
छन्द : अनुष्टुप्

कृष्ण शरण उपाध्याय
देवघाट, चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.