शान्ति अधिकारी पोख्रेलका केही मुक्तकहरूः

 

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

उता तिमी हाँस्दा यता सिमानामा देश रुन्छ ।
स्वाभिमानी शिर झुक्छ राष्ट्रियता नाङ्गो हुन्छ ।।
चल्छ गोलि बग्छ रगत मर्ने नेपाली हुन् ।।
भन्दे सरकार जनताको कुरा कस्ले सुन्छ ।।

सेती मादी जस्तै हामी मिस्सिएर हेरौं ।
आगो मात्रै कति बन्ने चिस्सिएर हेरौं ।।
अवरोध र बिरोधमै बित्यो जिन्दगानी ।
सम्बन्धको जातो घुमाई पिस्सिएर हेरौं ।।

 

समेट्दिने कोहि छैन झरे खुशी दोबाटोमा ।
हरपल त्यसरी नै मरे खुशी दोबाटोमा ।।
यो साँघुरो मन भित्र राख्ने ठाउँ नभएर ।
जे भएनी होला भनी छरे खुशी दोबाटोमा ।।

उनको मेरो चाहनाको पाटो एउटै थियो ।
आज फरक हिजो हिड्ने बाटो एउटै थियो ।।
कस्तो प्रहार थियो कुन्नी प्रेमिल हृदयमा ।
लाग्ने घाउको दुखाई र खाटो एउटै थियो ।।

हृदयमा देश बोकी बिदेसिन्छन् युवाहरू ।
झर्न खोज्ने आँसु रोकी बिदेसिन्छन् युवाहरू ।।
खान पुग्ने खेत बारी बन्दगीमा परे पछि ।
निकाल्न त्यो भाका तोकी बिदेसिन्छन् युवाहरू ।।

जून रोयौ अधेरीमा मायालुको सम्झनाले ।
हेर्दै बाटो खडेरीमा मायालुको सम्झनाले ।।
दुई मुटु जोडिएर बाध्यतामा छुट्नु पर्दा।
आँसु झर्यो मझेरीमा मायालुको सम्झनाले !

शहर पसे पछि यहाँ को हुन्छ गाउँ खोज्ने ।
फेरे कानुन सन्तान जन्मे पछि बाउ खोज्ने ।।
पीडितलाई सजिलै भो विकृति मच्चाउदै ।
हिड्नेलाई कस्ले होला बसाल्ने त्यो ठाउँ खोज्ने ।।

आँसु बनी शीतको थोपा खस्यो बिहानीमा ।
घामको न्यानो अङ्गालोले कस्यो बिहानीमा ।।
सुनामीको रुप धरेर आयौ प्रेमको आँधी ।
सुस्त मनको ढोका खोली पस्यो बिहानीमा ।।

खोले ती नजरले नबोलेका कुरा ।
मेरै सम्झनाले बिथोलेका कुरा ।।
लुकाएर कहाँ कतिन्जेल लुक्छ ।
एकान्तमा मनले गिजोलेका कुरा ।।

Shanti Adhikari Pokhrel
बाँके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.