शर्मिला श्रेष्ठ का केही मुक्तकहरूः

Spread the love
Sharmila, Shrestha, Lalitpur शर्मिला श्रेष्ठ , pallawa, पल्लव,,

शर्मिला श्रेष्ठ

दुई मुटु एक धड्कन बन्न त्याग तपस्या चाहिन्छ हेर
एक आपसको समझदारी,सहारा बिना आतिन्छ हेर
जीवनको पथ तय गर्न आत्मियताको उत्तिकै महत्व
दुबै सबल नभए जिन्दगी हर प्रहर गाजिन्छ हेर ।

सोचेको सबै पुग्दैन र नी आशको माला उनिहालु लाग्छ
गन्तब्यमा पुग्न कठिन छ र नी पाईला चालीहालु लाग्छ
शिखरमा सफल्ताको झण्डा गाड्ने रहरमा बाधा नआए
ज्यानकै बाजी राखेर नी देशको नाम राखी हालु लाग्छ ।

 

हाड र छाला मात्र बाॅकि रहे के भो र अंगमा
एकापस माया बिना बाॅच्दैनौ भन्दै रहे दंगमा
माया आस्थामा जीवन धान्न सजिलो हुँदोरहेछ
लाग्छ रोमियो जुलियटको नै आशिष छ सँगमा ।

मन् नपरेकी जीवन संगिनी पाउदा नी जिउनै पर्ने बाध्यता भो
मनकी माया को याद भुल्न गाह्रो हुदा यो पिउनै पर्ने बाध्यता भो
विवाह बन्धनको ,समाजको लान्छना बचाउन कुरी बसेकी छिन्
धुजा धुजा भई फाटेको छ मुटु र पनि सिउनै पर्ने बाध्यता भो ।

आमा हुन यो धर्तीमा, त्यति सजिलो छैन
आमालाई नै बोझ छ ‘ साथ गतिलो छैन
समय, परिस्थिति, युग बदलिसक्या छ
समाजको आफ्नै सोच, किन कसिलो छैन ?

कुर्दा कुर्दै बित्ने हुन् कि कठै!यस्तै सारा जीवनमा मेरो
कसरी भुल्यौ? कस्ले देला आड सहारा जीवनमा मेरो
न त तिम्रो खबर् न त कुनै निकायको साथ पाएकी छु
पीडित मनको सुन्ने कोही छौ कि ! नारा जीवनमा मेरो ।

सम्झनाको तरेलीमा बारबार आउन सफल हुन्छन् कोही
इतिहासको पानामा नी ऑधीवेरी झैं हलचल हुन्छन् कोही
पछुतोका पाटाहरूले हृदय नै क्षत विक्षत पारी सकेको छ
जति रोक्न कोशिस गर्दा पनि ऑसु बग्ने असल हुन्छन् कोही ।

बोलाउदा नी तिमी आएनौं मेरो के पो दोष थियो र ?
दिलको कुना बाट झुल्कन पनि कति कोस थियो र ?
ईसारा नै काफि थियो दुई ज्यानको प्यासी ती नयन
भुल्नै पर्ने बाध्यता हृदयलाई कस्तो रोष थियो र ?

पाप कुण्ठाले कदम द्रुत गतिमा चाल्न थाले
कलंक जति टाउको माथि नै आई फाल्न थाले
अधेरी रात खोज्दै गरिदै छ पाप कर्महरू यहाँ
भयंकर् कंकालले पनि लौ लाल्टिन बाल्न थाले ।

सह्य हुने छैन, अब तिम्रा निगरानी
वर्षौ गर्यौ अब सहिदैन मनोमानी
सप्रने मौका दिन्छौं एक पटक फेरि
कहिल्यै नदोहोर्याऊ पुनः त्यो कहानी ।।

शर्मिला श्रेष्ठ,
ललितपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *