नीतिविचार

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

जूवा र मदिराबाट मान्छे पर्छ बिहालमा
दिव्यदेव गए काशी, मरे भूपी बिहालमा ।

उत्रनैपर्छ कार्यार्थी समस्याबाट हत्पत
आम्रपालीकहाँबाट फर्की आए तथागत ।

चौघेरमा रमाएर मान्छेको हुन्न उन्नति
अन्तरिक्ष नियाल्दैछन् नासामा भित्रिने जति ।

 

अस्तित्वका लागि नित्य सचेत हुनुपर्दछ
कान ठाडा गराएर खरायो खेत चर्दछ

रहेर घरमै खालि पाइएला र मङ्गल ?
माहुरी महका लागि घुम्छ फाँट र जङ्गल ।

दुःखमा मन्परी गर्दा अझ सङ्कट आउँछ
ज्वरोमा मासु खानेले परिवारै रुवाउँछ ।

खालि मानिसका लागि सृष्टि सौन्दर्य होइन
मालाका लागि ल्याएको फूलमा पुतली किन ?।

मूर्खतामा रमाएर मान्छे बेकार मस्त छ
शक्तिले मात्तिने गोरु भीरमा तल खस्तछ ।

सुकर्म नगरेसम्म हुन्न सम्पत्ति वा भलो
खेतबारी नजोतेमा कहाँ अन्न कहाँ खलो ।

योग्यको योग्यता बुझ्नु निश्चयै शोभनीय छ
गाईको दूध चाँदीको कुँडेमा राख्नु ठीक छ ।

कडा अदबमा बस्दा उच्च हुन्न मनोबल
राम्ररी घाँस उम्रन्न सल्लाको छाहरीतल

बेकार बात मारेर फाल्नुहुन्न पला पनि
तपस्या गर्दछन् जैनी पट्टीले मुख नै थनी

कल्पनामा रमाएर सुखको चाहना हुनु
अवश्य हो तुषारामा हीराको ज्योति झल्कनु

हितैषी बन अर्काले चालेमा योजना सही
दिइन्छ शुभयात्रामा मित्रलाई मिठो दही

खोल्नू सहृदयी भाव वेदनाले छुँदा पनि
सुगाले मधुरै बोल्छ पिंजरामा हुँदा पनि

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *