डा. श्याम न्यौपाने का केही मुक्तकहरूः

Spread the love
Dr., Shyam, Neupane, डा. श्याम न्यौपाने, पल्लव

डा. श्याम न्यौपाने

हनुमानहरूको चर्तिकला बुझिसाध्य छैन
बोसहरूबाट हुने घोटाला बुझिसाध्य छैन
मिंयो विनाको दाइँ जस्तै छ यहाँ अचेल
कहिले टुङ्गिन्छ यो सिलसिला बुझिसाध्य छैन ।

जसले जे भन्यो त्यसैको पछि दौडने हामीहरू नै
सत्य लत्याएर भ्रमको दहमा पौडने हामीहरू नै
दोष के नै पो दिनु छ र ! अरुलाई अब
आफ्नै हातले आफ्नो कपाल खौरने हामीहरू नै ।

 

बेथितिका अनौठा षडयन्त्र बुनिन्छन् यहाँ
कंस पनि जनप्रतिनिधिमा चुनिन्छन् यहाँ
कानुनी राजको कस्तो ग्यारेन्टी हो यो
हत्यारा मुक्त हुन्छन् निर्दोष थुनिन्छन् यहाँ ।

गोरा चेहरा यी काला मन हेर्नोस् त
हो कि झैं लाग्ने काउछाको वन हेर्नोस् त
त्यसै त अँध्यारो थियो दिउँसै यहाँ
आँखामा छारो झन छर्दै छन् हेर्नोस् त ।

सिंह बनेर दिग्भ्रमित तुल्याए स्यालहरूले
क्षुद्र चरित्रले एक युग सिध्याए स्यालहरूले
गुमराहमा पारेर गाईजस्ता जनताहरूलाई
आफ्नो दुनोमात्र सोझ्याए स्यालहरूले ।

बोली होइन, व्यहोरा असल हुनुपर्छ
हृदय झन् फक्रिएको कमल हुनुपर्छ
बेसारे चरित्र प्रदर्शन नगर्नोस् मित्र
असल व्यक्ति चरित्रमा सबल हुनुपर्छ ।

जसले लछा-यो उस‌ैलाई मान्ने हाम्रो चरित्र
ङ्याकेको बिर्सेर हाँस्न जान्ने हाम्रो चरित्र
कस्तो स्वभावका भएछौं हामी लौ भन्नोस् त
छुरा धस्नेलाई नै सहृदयी ठान्ने हाम्रो चरित्र ।

झोलेहरू नै असल भनिने समय हो यो
अष्टावक्रमाथि शठ खनिने समय हो यो
विवेकी बनी प्रज्ञाको धज्जी उडाउनै पर्दैन
चाकरीबाटै मूर्धन्य बनिने समय हो यो ।

प्रमिथसलाई दण्ड क्रोनोसलाई पुरस्कार यस्तै छ यहाँ
क्रोनोसले नै खोज्छ अझ बढी अधिकार यस्तै छ यहाँ
उज्यालोको आशमा वनबास हुँदै छन् निरीहहरू
हत्या,लुट नै मानिन्छ सभ्यताको आधार यस्तै छ यहाँ ।

अङ्गुलीमालहरू पुरस्कृत हुँदै छन् अचेल
शान्तिकामीहरू भयभीत हुँदै छन् अचेल
हर्कतमा रमाउनेहरू नै मञ्चासीन देखेर
सदाचारीहरू निकै चकित छन् अचेल ।

दुनियाँलाई साँढेझैं जुधाउन माहिर छन् कति
आडम्बरी आँसु चुहाउन माहिर छन् कति
स्वार्थका अँध्यारा बखेडा झिकेर देशभित्र
जनताको खुनले नुहाउन माहिर छन् कति ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *