विश्व पर्यावरण दिवसको मङ्गलमय शुभकामना…

Spread the love
Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

हावा सिर्सिर सिर्र सिर्सिर गरी हल्लाउँदै कानन,
बग्दा उत्तरबाट हर्षित हुने मेरो भयो आनन ।
बारीमा हरिया मकै फलिरहून् हेरौं म आनन्दले,
धर्ती शीतल शान्त सौम्य बनियोस् बाचूँ म सानन्दले ।।

सल्ला हून् सँधियार आँप सजिना डुम्री तथा पिप्पल,
नस्पाती दुधिलो गुराँस गिरिका शोभा बनून् काफल ।
अम्बा ज्यामिर सुन्तला तरुलता उत्तीस अग्लाहरू,
मेरा इष्ट र मित्र हून् भुवनका मेरा छिमेकीहरू ।।

 

मेरो यो घर छेउको विपिनमा मैना चरी कोकिल,
डाँफे नृत्य गरून् मुनालसँगमा संसार होस् मञ्जुल ।
हात्ती बाघ बँदेल बाँदरहरू अर्ना र चौंरी पनि,
बाँचून् निर्भयसाथ विश्वभरि नै आनन्दको जीवनी ।।

यी मेरा बिरुवा बगानभरि हून् लिच्ची तथा पाड़री,
छायाँ जीव मनुष्यमा दिइरहून् सौहार्द मायाँ गरी ।
आफ्नो त्यो ऋतु कालरूप नभमा काला घना बादल,
गाऊन् नाचिरहून् झरून् जलपरी घन्काउँदै मादल ।।

मेरा ती हिमकोषिका नदनदी खोला र जङ्घारमा,
पानीका भल बेग तुङ्ग बनिऊन् उत्तुङ्गका भावमा ।
छाँगा छङ्छङ वाद्य वादनहरू गाऊन् बजाईकन,
मेरी जीवनदायिनी वसुमती हाँसून् रमाईकन ।।

दैलामा लहरा झुलून् कुसुमका शोभा बढाईकन,
बारी खेत समस्त अन्नमय हून् सम्पूर्णको जीवन ।
धर्ती तापविहीन हून् सकलकी आधार संस्थापिका,
विद्युद्दाम चमत्कृता बनिरहून् संसारमा बर्सँदा ।।

धर्ती स्वर्ग समान यो कनकले सिर्जन्छ शव्दावली,
लाऊन् प्रेम सधैं बगानतिर यी साहित्यका दौंतरी ।
पृथ्वी प्राणविहीन बन्छ वनका मासेर शोभावली,
रोपौं वृक्ष र फूल विश्वभरि नै पाइन्छ छायाँवली ।।

छन्दः शार्दूलविक्रीडित
-विनीत: कनकधारा स्वामी स्वदेशानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *