सङ्लो नेपाल

Spread the love
Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

दानी स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि
धीरोदात्त, दिमागदार जगमा झन् भाग्यमानी पनि ।
फालोस् द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी
गर्ने होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

मायावाद बढोस् घटोस् कलुशता मानो भकारी झरोस्
होस् आकर्षित ऐतिहासिक थलो धर्मात्म बत्ती बलोस् ।
वृक्षारोपण होस् पहाड सबमा आदर्श माटो खनी
सच्चा भाव बगोस् नसारगतमा नेपाल सङ्लो बनी ।।

 

मेरो देश अखण्ड होस् युगयुगौँ आक्रान्त कैले नहोस्
ऊहापोह अशान्ति अक्षर असत् आजै उदाङ्गो हओस् ।
देशात्मा हिमशैलझैँ अमर होस् पीडा नलागोस् शनि
गीताबाट हितोपदेश बटुलोस् नेपाल सङ्लो बनी ।।

यो माटो शिरमाथि चन्दन बनी शोभा बढाओस् कतै
छात्रावास बनोस् सधैँ छवि छरोस् तीर्थालु डाकोस् यतै ।
फेवा, टौदह, बेगनास, तिलिचो, रारा दिऊन् रोशनी
हामीमा मन एकता भइरहोस् नेपाल सङ्लो बनी ।।

नेपाली घर यो कलालय बनोस् हामी कलाविद् बनौँ
हाम्रो आँगनमा कदापि असिना वर्षिन्न हामी भनौँ ।
पूर्वाधार विकासका अब खनौँ आमा हँसाऊँ भनी
नेपाली मनमा यही उदय होस् नेपाल सङ्लो बनी ।।

प्रेमालाप गरी फटाफट हिँडोस् लोकोपकारी बनोस्
छोडोस् राग सबै प्रदीपक बनोस् सत्बुद्धि छर्नुस् भनोस् ।
लज्जाबोधविना विनोद लिपिका छौँ बुद्धिमानी भनी
हर्षोल्लास भई सदाशय भरोस् नेपाल सङ्लो बनी ।।

यै श्रीखण्ड,जटामसी र त्रिफला छन् पाँचऔँले कति
यो आजीवन औषधालय बनोस् जम्मै हुने ओखती ।
कोषागार सदैव देख्छ दुनियाँ देख्दै छु त्यस्तै म नि
बाँझा खेत फुलून् दिऊन् फल यसै नेपाल सङ्लो बनी ।।

आँखीझ्याल अगाध टावर झनै ताँती मिलेका शिर
खेल्नैपर्छ नि भूमिका तन छँदा यो राष्ट्रको खातिर ।
जीर्णाद्वार उठून् कटाक्ष किचलो भागून् डराई पर
छायावाद डरोस् हटोस् विषमता नेपाल सङ्लो घर ।।

छन्दः शार्दूलविक्रीडित
धर्मानन्द भट्ट
ठेगाना: ढाकारा, लेकम गाउँपालिका- ०२, दार्चुला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *