‘विद्या’

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

विद्या तथा सीप अमूल्य वैभव
यी हुन् विधाता र घनिष्ट बान्धव
प्रार्थी यिनैका जन, देवता गण
दाता यिनै जीवनका सबै क्षण ।१।

खाने र डुल्ने सब जीव गर्दछन्
आफ्नै बुताले मुख-पेट भर्दछन्
रमेर बाँच्ने सबमा छ कोसिस
सुज्ञानले नै शिरमा छ मानिस ।२।

 

आदित्य खुल्दा रजनी हराउँछ
उषा पुकारेर चरा कराउँछ
मिल्छन् मिठा गन्ध सपुष्प वागमा
विद्या प्रभा छर्छ घुमी दिमागमा ।३।

हुँदैन विद्या गतिशून्य भौतिक
यो हुन्छ नारायण झैं अलौकिक
मष्तिष्कको भित्र रमेर फुल्दछ
सेवार्थको मार्ग लिएर डुल्दछ ।४।

झल्किन्छ विद्या गुणको समीपमा
यो चित्र झैं विम्बित बन्छ सीपमा
विदेह जस्तै अनुभूति मात्र यो
भित्री निराकार अपूर्व पात्र यो ।५।

ताली मिले ज्ञान अगाडि बढ्दछ
उत्साहले मानिस शैल चढ्दछ
“ताते” गरे पो शिशु पाउ चाल्दछ
को गर्भबाटै गफ गर्न थाल्दछ ।६।

आराध्य हुन्छन् गुरु देवता-सरि
स्वधर्मका ती अति पूज्य पादरी
आत्मीयताले गुरु टिक्न सक्तछन्
स्वशिष्यबाटै पनि सिक्न सक्तछन् ।७।

खस्किन्छ विद्या स्वबयान, दम्भले
के दिन्छ शोभा र खुला नितम्बले ?
ज्ञानी सदा व्योम-समान फुक्दछ
लच्किन्छ दोस्रो-तिर नित्य झुक्दछ ।८।

के वेद मष्तिष्क भुटेर जन्मियो ?
विज्ञान के कुम्भ फुटेर जन्मियो
रहस्य विद्या अनि चेतना बल
“सच्चा विधाता” दृढ साधना बल ।९।

के व्यासका ग्रन्थ फुकेर लेखिए ?
सिद्धार्थ केले पछि बुद्ध मानिए ?
सदा पुजिन्छन् किन देवता गण ?
विद्या तथा ज्ञान छ एक कारण ।१०।

मान्छे सबै दौलत बिर्सिऊन् बरु
चैतन्यका झल्मल हून् दियाहरू
सर्वस्व छाडून् बरु देह नै पनि
“गोविन्द” जस्तै नहिँडून् मुढो बनी ।११।।

छन्द: उपजाति
३०/०४/२०७३ आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *